आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

नेपाली युवाले अमेरिकामा जन्माएको ‘जेबेक’, वर्ष दिन नबित्दै बन्‍यो बिलियन डलरको कम्पनी

स्थापनाको एक वर्ष नबित्दै अमेरिकी बजारमा ‘जेबेक कम्पनी’ एक बिलियन डलरको कम्पनी बन्यो । यो कम्पनी स्थापना गर्ने कुनै अमेरिकी नागरिक थिएनन् । चितवनबाट सन् २०१७ मा अमेरिका गएका एक नेपाली युवा थिए । नेपाली भएपछि उनको चर्चा नेपालमा त हुने नै भयो, त्योभन्दा बढी चर्चा उनले अन्तर्राष्ट्रिय स्टार्टअप बजार र मिडियामा पाए । यो कम्पनीले मुख्यतया काम गर्ने र गराउनेबीच पैसाको लेनदेन गराउँछ ।

चितवनका तिनै युवा सम्भव (साम) थपलिया सानैदेखि कम्प्युटर र कोडिङबारे उत्सुक थिए । नेपालमै बसेर काम गर्ने सोच उनले नबनाएका होइनन् । तर, यहाँको संरचना तथा सरकारी नीति आदिले गर्दा उनले नेपाल छाड्ने निर्णय गरे । प्लस टु  सकेर उनी उच्च शिक्षाका लागि अमेरिका उडे । 

कम्प्युटर प्रोग्रामिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा उनको छुट्टै लगाब थियो । त्यही लगावका कारण २४ वर्षमा उनी प्रविधि कम्पनीहरूको उद्गम स्थल मानिने सिलिकन भ्याली पुगे । जहाँ उनले अथाह सम्भावनाहरू देखे र त्यसलाई नै आफ्नो कर्मथलो बनाउने योजना बुने । ‘आफ्नो जिज्ञासाको लागि एउटा आउटलेट खोज्न र विश्वको वित्तीय प्रणालीलाई मद्दत गर्ने कुरा सिर्जना गर्न म अमेरिका आएँ,’ सम्भवले इकागजसँग भने, ‘अमेरिका अवसरको देश भनेर चिनिन्छ । जहाँ सपनाहरू बनाइन्छ र कार्यान्वयन पनि गरिन्छ । अहिले म जहाँ छु, त्यो नै मेरो आवश्यकता हो ।’

अमेरिका पुगेपछि उनले मेन्लो कलेजमा स्नातक गरे । त्यसपछि उनी आफ्नै कम्पनी खडा गर्नेतर्फ लागे । हुन त उनलाई अमेरिकाका राम्रा–राम्रा कम्पनीबाट जागिरको अवसर नआएको होइन । तर, उनको लक्ष्य छुट्टै थियो ।

एक दिन सम्भव ‘चेन्जिङ वर्ल्ड्सः ह्वाट वेब–३ म्यान्स टु द जब मार्केट’ भन्ने शीर्षकमा कलेजमा आफ्नो प्रस्तुति दिँदै थिए । त्यति नै बेला उनलाई लाग्यो अबको समय भनेको ‘वेब–३’ को हो ।

त्यसपछि उनले कलेजमै साथी डेभिड थोमससँग मिलेर ए.एस.एम.आई. (आर्गुमेन्टेड एण्ड सेग्मेन्टेड मिडिया इन्टरफेस को–अपरेसन) को स्थापना गरे । यो त्यस्तो प्लेटफर्म थियो जसले बिटुबी एसएएएस (बिजनेस टु बिजनेस), स्ट्रिमिङ मिडियामा हुने घर्षणहरू हटाएर व्यवहारिक बनाउने सफ्टवेयर विकास गथ्र्यो । त्यसपछि उनले अर्को एआई (आर्टिफिसिएल इन्टेलिजेन्स) कम्पनी स्थापना गरे । सो कम्पनीले छोटो भिडिओ कसरी मोनिटाइज गर्ने भन्ने देखाउँछ । 

उनका पहिला केही प्रयासहरू खेर गए । ग्रुप इन उनको पहिलो उद्यममध्ये एक थियो । तर, उनको पछिल्लो प्रयास जेबेक भने विश्व चर्चित हुन पुग्यो ।

के हो जेबेक ?

जेबेक प्रोटोकलमा आधारित एक निरन्तर सेटलमेन्ट प्रोटोकल हो । यस प्रोटोकलले कुनै पनि बिचौलिया, बैंक र न्यूनतम सम्भावित लेनदेन शुल्कको आवश्यकता बिना सहज रूपमा सेकेन्डमा (स्ट्रिमबाट) पैसा पठाउने सुविधा दिन्छ । ‘जेबेक’ अन्य कम्पनीहरूसँग साझेदारी गरेर ती कम्पनीका कर्मचारीलाई  ‘रियलटाइम’ तलब दिने नवप्रवर्तनात्मक कम्पनी हो ।

हाल अमेरिकामा रहेका कम्पनीहरूलाई कामदार पाउन निकै गाह्रो भइरहेको छ । यसरी आफूले गरेको कामको पैसा रियल टाइममा भुक्तानी गर्ने बित्तिकै उनीहरूको कार्यमा समेत सकारात्मक प्रभाव पर्ने उनी बताउँछन् ।

अमेरिकामा काम गर्दा घण्टाको हिसाबले तलब पाइन्छ । तर, कर्मचारीले त्यो तलब एकै पटक दुई हप्तामा पाउँछन् । उनीहरू पैसा नहुँदा महँगो ब्याजमा पैसा सापटी लेनदेन गर्न बाध्य । अमेरिकामा सरसापट र ऋण पाउन निकै गाह्रो भएको उनी बताउँछन् ।

 ‘अहिले काम गरेको पैसा अहिले, आज काम गरेको पैसा आजै आउँदा सरसापट लिनु पर्दैन,’ सम्भव भन्छन्, ‘त्यो पैसा कतै लगानी पनि गर्न सकियो । कुनै राम्रो ब्याज आउने ठाउँमा पनि राख्न सकियो । यसका अनगिन्ती फाइदाहरू छन् ।

 यसकै समाधानका लागि आफूले जेबेकको सुरु गरेको उनी बताउँछन् । यसले यस्ता समस्याहरू समाधान गर्दै कर्मचारी र कम्पनी व्यवस्थापनबीच पुलको काम गर्ने उनको विश्वास छ । ‘महिनाको ३० हजार रूपैयाँ कमाउँदा निको हजार रूपैयाँ कमाइ हुन्छ,’ उनी भन्छन्, ‘प्रत्येक दिन काम गरिसकेपछि त्यो पैसा कर्मचारीको हो । महिनाको अन्तिममा पैसा लिँदा अरुलाई सापटी दिएको जस्तो हुन्छ । प्रत्येक दिन पाउँदा त्यसलाई बैंकमा राखेर ब्याज पाउन सकिन्छ । कतै लगानी गरेर आम्दानी गर्न सकिन्छ ।’

नेपालमा पनि एक महिनामा बल्लतल्ल तलब आउँछ । आज कमाएको पैसा एक महिनापछि हाता लाग्दा पैसाको टाइम भ्यालु कम भइसकेको हुन्छ । यसकै समाधानको लागि उनले जेबेक कम्पनी खडा गरे।

सम्भव आफूले जन्माएको जेबेकलाई नेपाललगायत विभिन्न देशहरूमा फैलाउने तयारी गरिरहेका छन् ।

उनका अनुसार जेबेकले पहिलो राउण्डमा नै करिब ३० मिलियन अमेरिकी डलर फण्ड उठाएको थियो । अहिले कम्पनीको मूल्यांकन एक बिलियन डलरभन्दा बढी रहेको उनको दाबी छ । जेबेकले प्रत्येक कारोबारमा त्यसको केही हिस्सा प्राप्त गर्छ ।

हाल वेब–३ बाट ३ सयभन्दा बढी कम्पनीहरूले जेबेक प्रयोग गर्ने गरेको सम्भव बताउँछन् । जसमा स्टोनिड एप क्र्यू, ट्रिपन एप ट्राइव, स्रिंकोन, गेनोपेट्स, ड्रिपिज, र फ्रान्सियम जस्ता शीर्ष परियोजनाहरू समावेश छन् ।

अमेरिका गएको पाँच वर्षमै सम्भवको यो सफलता निकै लोभलाग्दो छ ।  अमेरिका आईटी क्षेत्रमा विकसित छ । जहाँ प्रत्येक दिन कम्तिमा सय सम्भावित परियोजनाहरू आईटी क्षेत्रद्वारा स्थापित विशाल बजारको कारण पप अप हुन्छन् । यसको विपरित नेपाललाई भने आईटी क्षेत्रमा फस्टाउन पूर्वाधारको अभाव र कानुनी अवरोधहरूले चुनौती दिएको छ ।

यसको एउटा कारण पुरानै कानुन हो । अर्को बैंकिङ क्षेत्र पनि हो । जसमा मध्यवर्ती च्यानल भएकाले निकै नाफा कमाएका छन् । नेपाल सरकारले जेबेक जस्ता ब्लकचेनमा आधारित ड्यापलाई वैधानिकता दिएको भए वित्तीय अवस्था र सूचना प्रविधि क्षेत्रको वृद्धिदर चौगुना हुने थियो । आइटी क्षेत्रभन्दा बाहिरका सर्वसाधारणहरू यसबाट निकै लाभान्वित हुने थिए ।

नेपालमै बसेर यो स्तरको कम्पनी बनाउन सकिँदैनथ्यो ? भन्ने प्रश्नमा सम्भव भन्छन्, ‘त्यो असम्भव जस्तै थियो । नेपालमा यस्तो कम्पनी खोल्ने कानुन र पूर्वाधार छैन । नेपाल सरकारको कार्यप्रणाली ढिलो छ । सरकारी नीतिलगयातका कारण पनि नेपाल बसेर त्यो कल्पना गर्न सम्भव छैन ।’

जेबेकमा उनले पहिलो प्राथमिकता नेपाली आइटी क्षेत्रका विद्यार्थीलाई दिने गरेका छन् । हाल जेबेकमा ५० भन्दा बढी कर्मचारीहरू छन् । जसमध्ये केही क्यालिफोर्निया मुख्यालयमा आधारित छन् भने बाँकी विश्वभरबाट काम गरिरहेका छन् । कम्पनीमा आधा कर्मचारी नेपाली छन् ।

सम्भवलाई आफ्नै देश, आफ्नै घरमा बसेर अमेरिकामा खोलेको जस्तो कम्पनी खडा गर्ने इच्छा छ । यसका लागि नेपालको विद्यमान नीति र कानुन प्रविधिमैत्री हुनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘यति कुरा परिवर्तन भयो नेपाल फर्किएर यस्तै कम्पनी खोल्न कुनै समस्या छैन । अमेरिकामा मेरो घर छैन । मेरा लागि नेपाल नै घर मेरो हो ।’ सरकारले युवा जनशक्ति रोक्ने र प्रविधिमैत्री नीति बनाएर नेपाललाई आइटी हब बनाउन केन्द्रित हुने हो भने नेपाललाई सूचना प्रविधि हब बनाउन सकिन्छ ।