मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

विवादमा सुपर लिग

बेलयाती प्रधानमन्त्रीदेखि फिफासम्मको विरोध, तर म्याड्रिडका अध्यक्ष भन्छन् फुटबल बचाउन सुपर लिगको आवश्यकता

काठमाडौँ  : सुपर लिगका विषयमा मंगलबार पनि बहस जारी रह्यो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सुपर लिगमा सहभागी हुने क्लबहरूले घरेलु लिगमा सहभागी हुन नपाउने चेतावनी दिए । उता रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टनो पेरेजले आफूहरू फुटबल बचाउन लागि परिरहेको दाबी गरे । पेरेज सुपर लिगका ‘मास्टरमाइन्ड’ हुन् । 

सुपर लिग आयोजनामा १२ क्लब लागेका छन् । रियलसँगै, म्यानचेस्टर युनाइटेड, लिभरपुलसँग जस्ता क्लबहरूले सुपर लिगलाई च्याम्पियन्स लिगको विकल्पका रुपमा प्रस्तुत गरिरहेका छन् । बेलायती प्रधानमन्त्रीदेखि समर्थक तथा पूर्व फुटलबहरूले सुपर लिगको विरोध गरिरहेका छन् । फिफा अध्यक्ष इन्फान्टिनो पनि त्यही धारमा उभिएका हुन् । 

‘हामीलाई सुपर लिग मान्य छैन । यदि ती १२ क्लब सुपर लिग गरेर छाड्ने मनस्थितिमा छन् भने उनीहरूले त्यसको नतिजा पनि सामना गर्नुपर्नेछ,’ इन्फान्टिनोले भने । युरोपियन फुटबल महासंघ (युइफए) को सभालाई सम्बोधन गरेका इन्फान्टिनोको संकेत थियो, सुपर लिगमा सहभागी हुने क्लबहरूले घरेलु लिग पनि त्याग्‍नुपर्ने अवस्था आउनसक्छ ।    

‘क्लबहरू आफैँले फरक लिग आयोजना गर्नु भनेको हालको संरचनाबाट बाहिर निस्कन खोज्‍नु हो । घरेलु संघ र लिगबाट सम्बन्ध बिच्छेद गर्नु हो । फिफासँगको सम्बन्ध पनि नरहनु हो । ती क्लबहरू अहिलेको संरचना र व्यवस्थाबाट पुरै बाहिर रहनुपर्छ । यता पनि रहने, उता पनि रहने भन्‍ने हुँदैन,’ इन्फान्टिनोको भनाई थियो । 

युइएफए अध्यक्ष अलेकसान्द्रेर केफरिनले सुपर लिगले फुटबल समर्थकहरूको सम्मान नगर्ने दाबी गरे । ‘च्याम्पियन्स लिग खेल्ने घरेलु लिग मार्फत छनौट हुनुपर्छ । तर सुपर लिगमा भने सिधा प्रवेश व्यवस्था छ । यो कस्तो लिग हो ?,’ केफेरिनको प्रश्न थियो ।

‘क्लबहरू आफैँले फरक लिग आयोजना गर्नु भनेको हालको संरचनाबाट बाहिर निस्कन खोज्‍नु हो । घरेलु संघ र लिगबाट सम्बन्ध बिच्छेद गर्नु हो । फिफासँगको सम्बन्ध पनि नरहनु हो । ती क्लबहरू अहिलेको संरचना र व्यवस्थाबाट पूर्णरुपमा बाहिर रहनुपर्छ । यता पनि रहने, उता पनि रहने भन्ने हुँदैन,’ फिफा अध्यक्ष इन्फान्टिनोले भने ।

सोही सभामा बोल्दै अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले युरोपियन खेलकुद बढी नै व्यापारिकण भएको भन्दै चिन्ता ब्यक्त गरे । सुपर लिगले अपेक्षाकृत समर्थन पाउन सकिरहेको छैन । सुपर लिगका अध्यक्ष बनेका पेरेजले आफूहरू समय सापेक्ष प्रतियोगिता निर्माणमा लागेको बताइरहे पनि उनको विचारसँग सहमत हुनेको संख्या कम छ । 

‘कुनैपनि परिवर्तनको पक्ष र विपक्षमा बहस हुन्छ नै । तर हामी कोभिड-१९ ले असर गरेको फुटबललाई बचाउन लागि परेका हौँ,’ पेरेजले भने, ‘फुटबल दर्शक घटिरहेका छन् । टेलिभिजनबाट हुने कमाईमा कमी आइरहेको अवस्था छ । युवापुस्तालाई फुटबलले आर्कषित गर्न असफल भइरहेको छ । त्यसको कारण भनेको कम गुणस्तरिय खेल संखया धेरै भएर हो । यस्ता विषयलाई सम्बोधन गर्ने प्रयास हो ।,’

पेरेजकै क्लब रियलका प्रशिक्षक जिनेदिन जिदानले भने सुपर लिगका विषयमा आफ्नो धारणा राख्न इन्कार गरे । उता जर्मन फुटबल संघ (डीएफबी) ले भने १२ क्लबलाई कारवाही गर्न माग राखेको छ । ‘सुपर लिग आयोजनामा लागेका क्लबहरूलाई कारवाही गर्नुपर्छ । उनीहरूलाई कुनैपनि प्रतियोगिता खेल्न दिनु हुँदैन,’ डीएफबीले भनेको छ । 

सुपर लिगकै विषयमा छलफल गर्न इंग्लिस प्रिमियर लिगका १४ क्लबका प्रतिनिधि मंगलबार भेला भए । सुपर लिगमा संलग्न हुने छ क्लब बाहेकका क्लब सम्मिलित बैठकले बेलायती सरकार, इंग्लिस फुटबल संघ, समर्थक समूहहरू लगायतका सबै ‘स्टेकहोल्डर’ हरुसँग मिलेर अबको योजना तर्जुमा निर्णय गरेको छ । 

यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले स्पेन र इटालीका सरकार प्रमुखहरूसँग छलफल गर्ने बताएका छन् । ‘हामीलाई सुपर लिग मान्य छैन । इंग्लिस बाहेक स्पेन र इटालीका क्लबहरु पनि सुपर लिगमा सहभागी हुने भनिएको छ । त्यसकारण हामी त्यहाँका सरकारसँग यस विषयमा छलफल गर्न चाहिरेका छौँ,’ प्रधानमन्त्री जोनसनको सचिवालयले भनेको छ । (बेलायती सञ्चार माध्यमको सहयोगमा)