असोजमा घरजग्गाको कारोबार : दुई अर्ब ५६ करोड राजस्व सङ्कलन

काठमाडौँ- विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको थियो । घरजग्गाको कारोबार अपेक्षित रूपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो ।
गत असोजमा भने रु दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ बराबरको मात्रै राजस्व सङ्कलन भएको छ । एक वर्षको अवधिमा नै झण्डै ७० प्रतिशतको दरले राजस्व सङ्कलनमा गिरावट भएको छ । यसबाट घर जग्गाको कारोबारमा उल्लेख्य रूपमा गिरावट भएको देखिन्छ ।
देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७७ असोजमा रु पाँच अर्ब २७ करोड २० लाख ५३ हजार आठ सय तीन बराबरको राजस्व सङ्कलन भएको थियो ।
पछिल्ला तीन वर्षको विवरण हेर्दा यस वर्षको असोजमा राजस्व सङ्कलन मात्रै होइन कित्ताकाट र लिखत पारितसमेत उल्लेख्य रूपमा घटेको देखिन्छ । त्यसको पछाडि नेपाल राष्ट्र बैंकले घरजग्गामा जाने ऋणमाथि गरेको कडाई नै प्रमुख कारण रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।
घर जग्गामा हुने ऋण लगानीलाई केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रका रूपमा घोषणा गरेको छ । काठमाडौँ उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत बराबर मात्रै ऋण उपलब्ध गराउने भन्ने व्यवस्था चालू आवको मौद्रिक नीतिमा गरिएको छ ।
विभागका अनुसार चालू आवको पहिलो महिना अर्थात् गत साउनमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७३ करोड ७२ लाख ४१ हजार बराबर राजस्व सङ्कलन भएको थियो ।
त्यस्तै गत भदौमा रु तीन अर्ब ५६ करोड २९ लाख तीन हजार नौ सय बराबरको राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत असोजमा मात्रै २७ हजार आठ सय ५० वटा घर जग्गाको कारोबार भएको छ । त्यस्तै भदौमा एक लाख आठ हजार आठ सय ८१ वटा कारोबार भएको थियो । साउनमा भने कूल ९८ हजार ६४ वटा कारोबार भएका थिए ।
कारोबारको मात्रामा समेत गिरावट आएको विभागको विवरणमा देखिन्छ । भूउपयोग नीतिअनुसार स्थानीय तहले जग्गाको वर्गीकरण गर्न समय लागेकाले पनि नापी तथा मालपोत कार्यालयमा अपेक्षा गरे अनुसारको घरजग्गाको कारोबार हुन नसकेको बताइन्छ ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया