बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

सरकारले बनाएको स्वास्थ्य मापदण्ड प्रधानमन्त्री ओलीले २४ घण्टा नबित्‍दै लत्याए

काठमाडौँ : सरकारले सोमबारदेखि कोभिड-१९ को दोस्रो लहर रोक्न स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गर्‍यो । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले २५ जनाभन्दा बढीलाई भेला हुन प्रतिबन्ध गर्‍यो । पार्टी, उत्सव, भेला, सभा सम्मेलन गर्न पनि मापदण्ड बनायो ।

सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न विद्यालयमा पठनपाठन बन्द गरेको छ । तर बालुवाटारमा भने उत्सव हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफै स्वास्थ्य मापदण्डको पालना गर्नुको साटो उल्लंघन गर्न थालेका छन् । सो कार्यक्रममा २५ जनाभन्‍दा भेला हुन नपाइने भनिए पनि सो संख्याभन्‍दा बढी जम्‍मा भएका थिए ।

बालुवाटारमा मंगलाबर चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई विधिवत् रूपमा पूजा गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै योजना र आह्वानअनुसार पत्नी राधिका शाक्यसहित बालुवाटारमा मूर्तिहरूको पूजा गरिएको थियो ।

बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरी मूर्तिहरू चितवन पठाइएको हो । बालुवाटारमा रथयात्रालाई बिदाई गर्दा नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलगायत दर्जनौं व्यक्ति र रथयात्रा गर्ने हरुको उपस्थिति थियो ।

याे बाक्लाे उपस्थितिले सरकार आफैले जारी गरेको स्वास्थ्य मापदण्डलाई मात्रै गिज्याँउदैन, २५ जनाभन्दा भेला हुन नपाइने सरकारी नियमलाई पनि पैतालामा कुल्चिन्छ । 

प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह बीच प्रतिमासहितको रथयात्रालाई बिदाई गरेकाे बताइएको छ । 

मुर्तिहरु लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर मुर्तिहरु राख्‍ने कार्यक्रम रहेको छ ।

नागरिकलाई मापदण्ड लगाउने, नमान्‍नेलाई सजाय गर्ने तर प्रधानमन्त्री ओली आफै सभा, भेला र सम्मेलन गर्दै हिंड्नुले गणतन्त्र नेपालमा महामारीका बेला पनि सानालाई ऐन, ठूलालाई चैत उखान चरितार्थ हुन्छ ।