बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

कपडा : थोरै किन्‍नु, राम्रो किन्‍नु

काठमाडौँ : मानिस र कपडाको सम्बन्ध नङ र मासु जस्तै भइसकेको छ । मानिसको शरीर छाेप्‍ने देखि सुत्‍ने, बस्‍ने हरेक चिजसँग कपडाको साइनो जोडिएको छ ।

विश्वमा वर्षेनी झन्डै १ खर्ब लत्ता कपडा उत्पादन हुन्छन् । लत्ताकपडाका उद्योगले मात्रै चार देखि १० प्रतिशत विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन गर्छ ।

हामीले लगाउने कपडाले वातावरणमा पारिरहेको असरबारे मानिसहरु सचेत हुन थालेका छन् । त्यसैले अचेल ‘सस्टेनेबल फेसन’ अर्थात् ‘दिगो फेसन’ भन्‍ने शव्द बढी प्रयोग हुन थालेको छ । 

दिगो फेसन भनेको ठ्याक्कै के हो त ? 

संक्षेपमा भन्नुपर्दा दिगो फेसनले वातावरणलाई जोगाउँदै लत्ताकपडाहरु बनाउने र उपभोग गर्ने कुरालाई जनाउँछ । कार्बनडाइअक्साइड उत्सर्जन, अत्याधिक उत्पादनलाई सम्बोधन गर्ने, प्रदुषण र फोहोरमैला घटाउने, जैविक विविधतालाई सहयोग गर्ने, त्यस्तै कपडा उत्पादन उद्योगमा काम गर्ने मजदुरलाई उचित ज्याला र सुरक्षित काम गर्ने वातावरण दिने सबै यो दिगो फेसन अन्तर्गतका महत्वपूर्ण पाटो हुन् ।  

विश्वका केही ठूला ब्रान्डहरूले कपडाले वातावरणमा पर्ने समस्याको पहिचान गर्दै आफ्ना उत्पादन दिगो बनाउनको लागि काम गरिरहेका छन् । तर कुनै पनि उत्पादित सामग्रीहरूमा ‘सस्टेनेबल (दिगो)’ शब्दको लेबल लगाउँदैमा केही हुँदैन । उपभोक्ताले लत्ता कपडा खरिद गर्ने र उपभोग गर्ने शैलीमाथि पुर्नविचार गर्नुपर्ने हुन्छ । 

त्यसैले, यदि तपाई आफ्नो दराजमा भएका लत्ताकपडालाई दिगो रूपमा प्रयोग गर्न चाहनुहुन्छ भने तपाईका लागि यहाँ केही टिप्स छन् : 

थोरै किन्नु, राम्रो किन्नु 

‘थोरै किन्‍नु, राम्रो किन्‍नु’ । सुन्दा यो अलि क्लीषे सुनिन सक्छ, तर यो मन्त्र निकै उपयोगी छ । विश्वका हरेक नागरिकले यो मन्त्र पछ्याउने हो भने धेरै हदसम्म वातावरणलाई राहत मिल्छ । किनकि विश्वमा वर्षेनी झन्डै १ खर्ब लत्ता कपडा उत्पादन हुन्छन् । र सँगै यी कपडाहरूमध्ये थुप्रै कपडा एकदुईपटक प्रयोग गरेर फालिन्छन् वा दराजमा थन्काइन्छन् ।

सस्टेनेबिलिटी कन्सलटेन्सी इको–एजका चिफ ब्रान्ड अफिस ह्यारियट वाकिङ कुनै पनि पहिरन, जुत्ता वा अन्य सामग्री किन्दा आफैलाई तीन प्रश्न सोध्न आग्रह गर्छन्– ‘के किन्दै हुनुहुन्छ र किन ?’, ‘के यो चिजको तपाईंलाई साँच्चिकै आवश्यकता छ ?’ र ‘के तपाईं यो सामानलाई ३० पटक भन्दा बढी प्रयोग गर्नुहुन्छ ?’ 

दिगो फेसन ब्रान्डहरू प्रयोग गर्नुहोस्  

तपाईंले दुईटा लुगा किन्ने पैसाले बरु एउटा किन्नुहोस्, तर राम्रो र दिगो हुने खालका पहिरन, जुत्ता, ब्यागहरू किन्नुहोस् । किनकि, एकदुई पटक लगाएर फाट्ने खालका वा बिग्रने खालका सामानमा हत्तपत्त खर्च नगर्नुहोस् । ब्रान्डेड लुगाहरू वा सामानहरू लामो समय टिक्ने हुन सक्छ, र हत्तपत्त फेर्नुपर्ने आवश्यकता नपर्न सक्छ ।  

सेकेन्ड ह्याण्ड सामानको प्रयोग 

घर परिवारमा जडौली लुगा लगाउने, सामान प्रयोग गर्ने चलन छ । तर जब बाहिर हिँड्दा वा कुनै समारोहमा सेकेन्ड ह्याण्ड लुगा वा सामान प्रयोग गर्न मानिसहरू हिच्किचाउँछन् । तर पैसा, समयको सदुपयोग गर्दै र वातावरणको संरक्षण गर्नको लागि सेकेन्ड ह्याण्ड सामानहरू लिएर प्रयोग गर्नु उपयुक्त हुन्छ । नेपालमा अहिले समारोहमा लगाउने लुगा जुत्ता वा फेन्सी आइटमहरू सेकेन्ड ह्याण्ड पनि पाइन्छ ।  

भाडामा लुगा लिनुहोस् 

भाडामा लुगा वा सामान लिएर प्रयोग गर्ने चलन नेपालमा नौलो छ । तर अचेल फेन्सी आइटमहरू भाडामा पनि पाइने थुप्रै पसलहरू पनि खुल्न थालिसकेका छन् । अनलाइनै पनि यस्ता सामानहरू लिन पाइन्छन् । यसले गर्दा थोरै पैसामा समारोहपिच्छे फेरि–फेरि नयाँ लुगाहरू लगाउन पाइन्छ भने दराजमा लुगा थुप्रिने सम्भावना हुँदैन ।

‘ग्रिनवासिङ’को पछि नलाग्नु 

विदेशतिर ग्रिनवासिङ शव्द चलनचल्तीमा आएको लामो समय भइसकेको छ । तर नेपालमा फाट्टफुट्ट यो शव्द सुनिन थालेको छ । ग्रिनवासिङ भनेको कम्पनीहरुको मार्केटिङ रणनीति हो ।

उपभोक्ताहरु वातावरणीय पक्षमा सचेत हुन थालेपछि थुप्रै ब्रान्ड वा कम्पनीले आफ्ना उत्पादनहरु ‘इको फ्रेन्ड्ली’ भएको भन्दै बेच्ने क्रम बढ्दो छ । तर त्यस्तो दाबी गरिएको थुप्रै प्रोडक्टहरु अस्पष्ट, भ्रामक वा गलत भएको तथ्य पनि बाहिरिएको छ । त्यसैले कुनै पनि प्रोडक्टहरु खरिद गर्दा ‘ग्रिनवासिङ’ वा ‘इको फ्रेन्डेली’ भनेर लेबल टाँसिएको भरमा विश्वास गरी किन्नहुँदैन । 

सामान चिन्नुहोस्

कुनै पनि सामान किन्दा त्यसको गुणस्तर थाहा पाउनु अत्यन्त आवश्यक हुन्छ । हुनतः विश्वमा बन्ने ५५ प्रतिशत कपडा पोलिस्टरले बन्ने गरेको छ । तर तपाईंले यदि कपडा किन्दै हुनुहुन्छ भने पोलिस्टरको कपडा नकिन्नुहोस् । किनकि पोलिस्टर वातावरणको लागि हानिकारक हुन्छ ।

यो हत्तपत्त कुहिँदैन । कुहिनको लागि बर्षाैँ लाग्छ । कुनै कपडा खरिद गर्दै हुनुहुन्छ भने उक्त कपडा उत्पादक वा उक्त सामानले आधिकारिक मान्यता पाएको छ वा छैन भने पनि हेर्नुपर्छ । वातावरणीय हानी नहुने खालका कपडा सकेसम्म प्रयोग गर्दा राम्रो हुन्छ ।

कपडा बनाउन हानीकारक केमिकलहरुको पनि प्रयोग गरिएको हुन सक्छ । त्यसैले यसप्रति सचेत हुनुहोस् ।

सकारात्मक प्रभाव पारेका ब्रान्डलाइ साथ दिनुहोस् 

वातावरणलाई हानी नगरी उत्पादन गर्न तम्सिएका केही कम्पनीहरु नेपालमा पनि खुलेका छन् । जसले पुराना लुगाबाटै डिजाइनदार र फेसनेबल आइटमहरु बनाउन थालेका छन् । यस्ता वातावरणप्रति सचेत साना वा ठूला कम्पनीहरुलाई उनीहरुको प्रोडक्ट उपभोग गरी साथ दिनुहोस् । र साथै आफ्ना साथी वा चिनेजानेकालाई पनि वातावरणलाई कम से कम हानी गर्ने खालका सामान मात्रै प्रयोग गर्न सल्लाह दिनुहोस् । 

पानी कम लाग्ने कपडाको प्रयोग गरौँ 

टेक्सटाइल उत्पादनको लागि बार्षिक ९३ बिलियन घनमिटर पानीको प्रयोग हुन्छ । हामीले लगाउने कपडामा लाग्ने पानीबारे पनि जागरुक हुन जरुरी छ । जैविक कपासको तुलनामा परम्परागत कपासले धेरै पनि उपभोग गर्छ ।

एक अध्ययन अनुसार जैविकको तुलनामा परम्परागत कपासले ९१ प्रतिशत कम पानी प्रयोग हुन्छ । कपडा रंगाउनको लागि कम पानी चाहिने खालका रंगको प्रयोग गरियो भने पनि पानीको खपत कम हुन्छ ।

भिगन फेसनबारे सचेत हुनुहोस् 

थुप्रै मानिसहरु जनावरका शरीरबाट निकालिएका छाला वा ऊनबाट बनेका सामग्रीहरु प्रयोग गर्न सौखिन छन् । तर जनावरका छाला वा ऊनले वातावरणीय र नैतिक चासो जगाइदिएको छ भने आर्टिफिसियल खालको लेदरमा सिन्थेटिक पनि हुन्छ, जुन विश्वको लागि खतरनाक हुन्छ ।  
माइक्रोप्लास्टिक प्रदुषणबारे सचेत हुनुहोस्

नाइलन वा इलास्टेनबाट बनेका लुगाहरु वा अन्डरवेयरहरु धुँदा हजारौँ माइक्रोप्लास्टिक बहेर जान्छ र त्यो नदी हुँदै समुन्द्रसम्म पुग्न सक्छ । जसले तटीय जीवन धरासायी बनाउन सक्छ । 

सामानको जतन गर्नुहोस्

नेपाली समाजमा एउटा भनाइ छ –‘धनीको लुगा धेरै धोएर फाट्छ र गरीबको लुगा नधोएर फाट्छ ।’ यदि लुगाफाटा वा कुनै पनि सामानलाई लामो समय टिकाउने हो भने त्यसलाई सन्तुलनमा धुने गर्नुपर्छ ।

त्यसलाई जतनका साथ लगाउने वा धुने गर्नुपर्छ । लुगा धेरै धुँदा पनि पानी खेर जानुका साथै कार्बनडाइअक्साइडको उत्सर्जन पनि बढाउँछ । त्यसैले लुगा धेरै धोइराख्नु हुँदैन । सामानको जतन गरे मात्रै धेरै लामो समयसम्म टिक्ने हुन्छ । एक/दुई पटक लगाउँदैमा फाल्नुपर्ने गरी सामान प्रयोग गर्नुहुँदैन । 

त्यस्तै कुनै लुगा वा अन्य सामान एकपटक लगाउन नमिल्ने भएपछि सिधै फोहोरमा नफाल्नुहोस् । त्यसबाट अन्य लुगा बनाउन सकिन्छ कि भनर हेर्नुपर्छ । जस्तैः पुराना लुगालाई पेलेर कपासजस्तै बनाई सिरक डस्ना लगायत थुप्रै सजावटका लागि गुडियाहरु पनि बनाउन सकिन्छ ।