मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

एनआरएन डेभलपमेण्ट फण्डको स्थापना

काठमाडौँ : देशभित्र पूर्वाधार , उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एनआरएन नेपाल डेभलमेन्ट फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुनेछ । २०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो । 

आज साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानीदूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । 'सरकार कानूनी र नीतिगत रुपमा विदेश पूँजी भित्राउन प्रतिबद्ध छ । छरिएर रहेको पूँजीमात्र होइन, विदेशी पूँजी पनि ल्याउन चाहन्छ,' अर्थमन्त्री पौडेलले भने, 'लगानी वैध स्रोतको र बैंकिङ प्रणालीबाट मात्र राष्ट्रको प्राथमिकतामा लगानी हुन भने जरुरी छ ।' नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक निजी साझेदारीका रुपमा आएको कम्पनीले थप आशा जगाएको भन्दै नेपालमा धेरै क्षेत्रमा लगानीका लागि अवसर रहेको बताए । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले केही वर्षमा फण्डमा लगानीयोग्य रकम  ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्याउने उल्लेख गरे । गैरआवासीय नेपाल संघका संस्थापक अध्यक्ष तथा फण्डका अध्यक्ष डा. उपेन्द्र महतोले पूँजी, कर्पोरेट कल्चर, सुशासन, प्रविधि लगायत ल्याउने भन्दै सरकार सहित सबैको साथ सहयोगको अपेक्षा रहेको बताए ।

नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी सहित गैर आवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा ३ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ । नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने बताइएको छ । गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै एनआरएन डेभलपमेन्ट फण्डको प्राथमिक सेयर  निष्काशन (आइपीओ) गरिने योजना रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।