शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

कर्णालीमा चुनावी रौनक : गाउँ केन्द्रीत कार्यक्रममा जोड

सुर्खेत। आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि कर्णालीका दलहरु र नेता तथा कार्यकर्ता उम्मेदवारसहित चुनावी अभियानमा जुटेका छन् । चुनाव आफ्नो पक्षमा पार्नका लागि दलका उम्मेदवार तथा कार्यकर्ताहरु विभिन्न चुनावी कार्यक्रममा जुटेका छन् । 

प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्र र समाजबादीबीच गठबन्धन भएको छ भने नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी एक्लै मैदानमा उत्रिएका छन् । 

यतिबेला दलहरु गाउँदेखि प्रदेशस्तरीय कार्यक्रमको लागि गाउँ केन्द्रीत हुन थालेका छन् । जसमा प्रशिक्षणदेखि भेलासम्मका कार्यक्रमहरु गर्ने तय गरेका छन् । अहिले गाउँ केन्द्रीत कार्यक्रमलाई जोड दिइएको नेपाली काँग्रेस गुर्भाकोटका सहसचिव रुपक पौडेलले जानकारी दिए । ‘गठबन्धनका उम्मेदवारहरुलाई जिताउन गाउँ तथा टोलकेन्द्रीत कार्यक्रमको आयोजना गरिएको छ’ पौडेलले भने, ‘अहिले हामीले टोल टोलमा भेला र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएका छौ ।’

यसैबीच सत्तारूढ गठबन्धनले कात्तिक ६ गते सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त भेला गर्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने  गरेको निर्णय अनुसार सुर्खेतमा कात्तिक ६ गते कार्यक्रम गर्ने भएको हो । 

त्यसैगरी नेकपा (एमालेले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रीत गरेर प्रचार भेला आजदेखि शुरु गर्दैछ । नेकपा (एमाले) कर्णाली प्रदेशको प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीद्वारा आयोजना हुने भेलामा विभागका सदस्य तथा चौतारीका जिल्ला अध्यक्ष, प्रदेश कमिटी सदस्य र कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने बताइएको छ । 

मंसिर ४ गते हुने निर्वाचन केन्द्रीत प्रचारका कामलाई व्यवस्थित र आक्रमक रुपमा सञ्चालन गर्नका लागि  प्रचार तथा प्रकाशन विभागसँगको समन्वयमा भेलाको आयोजना गरिएको प्रेस चौतारी कर्णाली प्रदेशले जनाएको छ । एमाले कर्णाली प्रदेश पार्टी कार्यालयमा शनिबार बिहान ११ बजे शुरु हुने भेलामा नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख सुर्यमणी गौतमले जानकारी दिए ।