आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

एक लाखको फिरौती १० हजारमा सहमति, पैसा दिएलगत्तै साथीको हत्या

जनकपुरधाम- असोज २८ गते बिहान १० बजे । सिरहाका कृष्णा सदाको मोबाइलमा फोनको घण्टी बज्यो । आवाज आयो–‘अंशु हाम्रो कब्जामा छ, एक लाख रुपैयाँ फिरौती दिनु नत्र मारिदिन्छु ।’

कृष्णा झस्किए । अंशु कृष्णाका साला हुन् ।

सिरहाको गोलबजार- ३ का १७ वर्षीय अंशु सादा करिब पाँच दिनअघि आफ्ना केही साथीसँग विराटनगर घुम्न जान भनेर निस्किए । आफ्नै साथीहरूसँग गएकाले २/३ दिन घर नर्फकँदा पनि परिवारले खासै चासो राखेनन् ।

अंशु भाटभटेनी घुम्न भनेर घरबाट निस्किएका थिए । तर, जब भिनाजु कृष्णाको मोबाइलमा फोन आयो, त्यसपछि भने परिवारमा सन्नाटा छायो ।

सो फोन आएलगतै ईलाका प्रहरी कार्यालय गोलबजारमा अंशु अपहरणमा परेको भनी निवेदन दर्ता गरेको भिनाजु कृष्णाले बताए । निवेदन दर्तालगतै प्रहरी सक्रिय भयो फिरौतीका लागि आफ्नो मोबाइलमा आएको नम्बर ट्रेस गर्दा सो नम्बर विराटनगरमा रहेको खुल्यो । प्रहरीले गरेको प्लानिङ हिसाबले बार्गेनिङ गर्दै १० हजारमा कुरा टुंगियो । ‘हामीले अपहरणकारीले माछापुच्छ्रे बैंकमा भनेका व्यक्तिको नाममा रहेको खातामा १० हजार रुपैयाँ बिहीबार दिउँसोतिर रकम पठायौं’ उनले भने ।

‘प्रहरीकै योजना अपहरणकारी रकम झिक्न नपाओस् भनेर हामीले बिहीबार दिउँसोतिर रकम पठायौं,’ उनले भने । सो बीचमा ईप्रका गोलबजारले मोरङ्ग प्रहरीलाई घटनाबारे जानकारी गराई सक्रिय बनायो । अपहरणकारी शुक्रबार रकम झिक्न जाँदा मोरङ प्रहरीले विराटनगरस्थित बैंकबाट तिनीहरूलाई पक्राउ गर्‍योे ।

धनुषाको कमला नगरपालिका- ६ का प्रशान्त मण्डल, सोही ठाउँका रमेश ठाकुर र मोरङको रतुमाई नगरपालिका- ५ सेजुवाका मनोज कार्की पक्राउ परेका हुन् ।
रकम पठाएको दिन रातिसम्म ती अपहरणकारीहरूसँग कुरा हुँदा रकम भेट्ने बित्तिकै छाडिदिने सहमति भएको थियो । 

तर, उनीहरूले रकम बैंकमा पठाएकै दिन अंशुको हत्या गरिसकेका रहेछन् । हत्या गर्नेहरू अंशुकै साथी हुन् ।

विराटनगरस्थित भाटभटेनी घुम्न जाउँ भनी घरबाट सँगै घुम्‍न निस्केका अंशुको साथीहरूले फिरौती रकम समयमा नपाएपछि हत्या गरे । घटनामा संलग्न अन्य शंकास्पद शिवकुमार मण्डल र विकास मण्डलसहितका दुई जना फरार रहेको र तिनीहरूको खोजी कार्य तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । प्रवक्ता टीकाबहादुर कार्कीका अनुसार अंशुको शव विराटनगर बसपार्कमा शुक्रबार बिहान एक बाकसमा राखिएको अवस्थामा बरामद भएको छ ।  

उनीसँगै घुम्न आएका साथीहरूले नै बन्धक बनाई अंशुको घर परिवारसँग रकम फिरौती माग गरेको नदिँदा हत्या गरेको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता कार्कीले बताए ।

हत्याका आरोपितहरूले रकम पठाएको छ भन्ने आफूहरूलाई विश्वास नभएको प्रहरीसामू बताएका छन् । ‘आफूहरूविरुद्ध षडयन्त्र गरिरहेको शंका भएपछि हत्या गर्‍यौं ।’ उनीहरूको भनाई उदृत गर्दै प्रहरी अधिकारीले भने, ‘पछि बैंकमा रकम आएछ कि झुटाे भनिरहेका छन् भन्ने बुझ्न गएका थियौँ ।’