पटक-पटक चुनाव लडेका पुरुषविरुद्ध यी महिला उम्मेदवारकाे टक्कर

विराटनगर । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको १६५ र प्रदेश १ को प्रदेशसभाका ९३ सिट मध्ये प्रतिनिधिसभातर्फ ४१ जना र प्रदेशसभामा ५५ जना महिलाले उम्मेदवारी दिए । मुख्य प्रतिष्पर्धी भने सत्ता गठबन्धनभित्रका तीन दलबाट उठाइएका र नेकपा एमालेबाट उम्मेदवारी दिएकाहरु छन् ।
प्रदेश १ का केही मुख्य प्रतिष्पर्धी पुरुष उम्मेदवार छैटौं पटकसम्म चुनावी मैदानमा उत्रिएका छन् । महिला उम्मेदवारहरुले पनि त्यसरी पटक–पटक चुनाव लड्दै आएका पुरुषविरुद्ध सशक्त उम्मेदवारी दिएका छन् ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फको निर्वाचनमा प्रदेश १ बाट प्रमुख दलहरुले महिलालाई न्यून संख्यामा उम्मेदवार बनाएका छन् । मनोनयन दर्ता गरेका उम्मेदवारहरुको संख्या ठूलो भएपनि प्रायः महिला उम्मेदवारहरु साना दल र स्वतन्त्रतर्फका रहेका छन् । मुख्य प्रतिष्पर्धी ठूला दलले प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा पाँच गरी १० जनालाई टिकट दिएर उम्मेदवार बनाएका हुन् ।
प्रदेश १ मा नेपाली कांग्रेसबाट २, एमालेबाट २ र राप्रपाबाट एकजना महिला उम्मेदवार प्रतिनिधिसभातर्फ उम्मेदवार रहेका छन् । उनीहरु सवैका मुख्य प्रतिष्पर्धीहरु भने पटकैपिच्छे चुनाव लड्दै आएका पुरुषहरु छन् ।
नेपाली कांग्रेसबाट मोरङ–२ मा सुजाता कोइराला, तेह्रथुुममा सीता गुरुङ, एमालेबाट सुनसरी–३ मा भगवती चौधरी, उदयपुर–१ मा मञ्जुकुमारी चौधरी र राप्रपाबाट मोरङ–३ मा रेखा थापा प्रतिनिधिसभातर्फका सशक्त उम्मेदवार हुन् ।
मोरङ–२ बाट सुजाताले टिकट पाएकी छन् । ६ वटा क्षेत्रहरु मध्ये अघिल्लोपटक बाम गठबन्धनले पाँचवटा क्षेत्र जित्दा कहिल्यै प्रत्यक्ष चुनाव नलडेका डा.मिनेन्द्र रिजालले मोरङ–२ मात्रै जोगाएका थिए । रिजाल अहिले उम्मेदवार छैनन् ।
सुजाता पनि अहिलेसम्म प्रत्यक्ष उम्मेदवार बनेकी छैनन् । उनी यसअघि समानुपातिक सांसद भइसकेका कारण पुनः समानुपातिकतर्फ उम्मेदवार हुन नपाउने मापदण्डले मोरङ–२ मा मिनेन्द्रलाई पन्छाउन सफल भइन् । उनी नेकपा एमालेबाट सोही क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित नेकपा एमाले मोरङका वर्तमान अध्यक्ष ऋषिकेश पोखरेलसँग भिड्दैछिन् । पोखरेल २०७४ मा कांग्रेसका डा.रिजालसँग पराजित भएका थिए ।
तेह्रथुमको एक मात्र प्रतिनिधिसभा क्षेत्रमा कांग्रेसकी उम्मेदवार सीता गुरूङ र एमालेका डा.विजय सुब्बाबीच प्रतिस्पर्धा निश्चित भइसकेको छ । गुरूङले २०७४ को चुनावमा तत्कालीन बाम गठबन्धनका उम्मेदवार भवानीप्रसाद खापुङसँग पराजित भएकी थिइन् । यसपटक भने सत्ता गठबन्धनको आड पाएकी दोस्रो संविधानसभाकी सदस्य एवं पूर्व राज्यमन्त्री गुरुङले एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष एवं प्रतिनिधिसभाका निवर्तमान् समानुपातिक सांसद डा.सुब्बासँग भिडेकी हुन् ।
२०४८ यता १८ पटक मन्त्री भइसकेका विजयकुमार गच्छदार संसदीय राजनीतिका निकै चतुर खेलाडी मानिन्छन् । गच्छदार सुनसरी–३ बाट फेरी उम्मेदबार बन्दै गर्दा उनीविरुद्ध तेस्रो पटक उम्मेदवारी दिएकी एमालेकी भगवती चौधरी यसपटक जसरी पनि जित्ने दाऊमा छिन् । ललिता निवास जग्गा प्रकरणमा जेलसमेत परेका गच्छदारको ओरालो राजनीतिक यात्राको फाइदा लिन चौधरीले यसपटक भरमग्दुर प्रयास गर्ने बताइसकेकी छन् । उनी २०७४ को निर्वाचनमा गच्छदारसँग ३ सय २१ मतले मात्रै पराजित भएकी थिइन् ।
नेकपा एमालेबाटै उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी मञ्जुकुमारी चौधरीले सोही क्षेत्रबाट दुई पटक निर्वाचित भएका कांग्रेस नेता डा.नारायण खड्कासँग प्रतिष्पर्धा गर्दैछिन् । २०७४ पनि डा. खड्काकै विरुद्धमा लडेकी चौधरी ५ सय ४८ मतले पराजित भएकी थिइन् । चौधरीले दोस्रो संविधानसभा निर्वाचनमा उदयपुर–२ बाट चुनाव लडेकी कांग्रेसकी प्रमिला राईलाई २३ मतले पराजित गरेर रोचक नतिजा निकालेकी थिइन् ।
ठूला दलका दुई पुरुष उम्मेदवारका विरुद्ध मोरङ–३ मा उत्रिएकी राप्रपाकी रेखा थापा पनि बलियो प्रतिष्पर्धीका रुपमा उदाएकी छन् । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा निवर्तमान् सांसद भानुभक्त ढकाल र कांग्रेसबाट उम्मेदवार बनेका नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्माबीच कडा प्रतिष्पर्धा निम्तिंदै गर्दा ‘एक्सन हेरोइन’ का रुपमा स्थापित भएकी थापाको इन्ट्रीले मोरङ–३ को नतिजा अहिल्यै अनुमान गरिहाल्ने अवस्थाको छैन । थापा पनि दिनरात भइरहेका चुनावी भेला, बैठक, चोक चौताराका कोणसभामा भोट माग्दै आइरहेकी छन् । थापाको उम्मेदवारीले ढकाल र शर्मासँगको त्रिपक्षीय भिडन्तको तय गरिदिएको स्थानीयहरु बताउँछन् ।
प्रदेश १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट एकजना महिलाले पनि टिकट पाएनन् । तर प्रत्यक्षतर्फको ४६ सिटमा नेपाली कांग्रेस महिला उम्मेदवारविहिन भएर चुनावी मैदानमा उत्रिएको छ । प्रदेश १ मा नेकपा एमालेले २, माओवादी केन्द्रबाट २ र नेकपा (एस) बाट २ जना महिला उम्मेदवार प्रत्यक्षतर्फको प्रमुख प्रतिष्पर्धी बनेका छन् ।
एमालेबाट मोरङको क्षेत्र नं. ६ (१) मा रीता न्यौपाने र इलामको क्षेत्र नं. १ (१) मा शोभा पराजुलीले उम्मेदवारी दिएका छन् । न्यौपाने एकपटक चुनावी प्रतिष्पर्धाको अनुभव बटुलिसकेकी उम्मेदवार हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा मोरङको बुढीगंगा गाउँपालिकाको उपाध्यक्षमा ४१३ मतले तत्कालिन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) की अमृता गच्छदारसँग पराजित भएकी थिइन् । यसपटक भने प्रदेशसभाको टिकट सहजै पाएकी उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का कान्छा ज्वाँई जीवन आचार्यसँग भिड्दैछिन् । गत निर्वाचनमा पनि मोरङ ६ (क) मै उठेर कांग्रेससँग पराजित भएका आचार्यसँग यसपटक कांग्रेसकै साथमा चुनाव लड्दैछन् ।
प्रदेशसभातर्फ इलाम–१ (क) भने यसपटक महिला–महिलाबीच चुनावी भिडन्त हुँदैछ । एमालेबाट इलाम–१ (क) मा टिकट पाएकी पराजुली अर्की महिला उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बुसँग भिड्दैछिन् । अघिल्लोपटक बाम गठबन्धनबाट उठेकी खिनुले कांग्रेसका उम्मेदवारलाई दोब्बर मतले पराजित गरेकी थिइन् । सन्दकपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष समेत रहेकी पराजुली संसदीय राजनीतिमा आफ्नो पहिलो सफलता दर्ता गराउने प्रयासमा लागेकी छन् ।
एकीकृत समाजवादीकै समानुपातिक सांसद सरीता थापा प्रत्यक्षतर्फ चुनाव लड्दैछिन् । उनी संखुवासभाको प्रदेशसभा (२) मा एमालेका प्रत्यासी विदुर कुमार लिंथेपसँग भिड्ने भएकी हुन् । एमालेकी तत्कालीन समानुपातिक सांसद थापा माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीतिर गएकी थिइन् ।
माओवादी केन्द्रबाट अघिल्लो समानुपातिक सांसद भएर पाँच बर्ष प्रदेश १ को उपसभामुख सम्हालेकी सरस्वती पोखरेल सुनसरी–३ (१) बाट प्रत्यक्षतर्फ उठेकी छन् । प्रदेश १ मा सत्ता गठबन्धनमा १९ सिट पाएको माओवादीबाट पोखरेलले प्रत्यक्ष लड्ने मौका पाएकी हुन् । पोखरेलसँग एमालेका रोहित बहादुर कार्की प्रतिष्पर्धामा उत्रिएका छन् ।
माओवादीकी कुसुमकुमारी श्रेष्ठ र एमालेका इन्द्रमणि पराजुली धनकुटाको प्रदेशसभा (ख) मा चुनाव लड्दैछन् । श्रेष्ठ प्रदेशसभाकै निवर्तमान् समानुपातिक सांसद हुन् भने पराजुली यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । धनकुटा जिल्लाको राजनीतिमै प्रभाव पार्ने पराजुलीसँग कांग्रेसको साथ लिएर श्रेष्ठ भिड्दैछिन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_EhQ8mAWDVO_cksmpa3l3b3akaxd8ciqli5qhcppiltjesoluxt9zpb6rs3ecaoz4eqmifue.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया