बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

मेलम्चीको १७ करोड लिटर थपिएपछि थप २ घण्टा धारामा पानी

फाइल तस्बिर

काठमाडौँ : मेलम्चीको पानी पूर्ण क्षमता (दैनिक १७ करोड लिटर) आउन थालेपछि उपत्यकाका करिब १ लाख ५१ हजार घरधुरीमा औसतमा दुई घण्टा बढी धारामा पानी आउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यका अनुसार हाल मेलम्चीको पानी पुग्ने सञ्जाल क्षेत्रमा अबदेखि थप दुई घण्टा पानी आउने छ ।

उनका अनुसार २ घण्टा धारा आउने ठाउँमा अब चार घण्टा आउनेछ । ‘दुई दिन बिराएर पानी आउने ठाउँमा त्योभन्दा कम अवधिमा कसरी पुर्‍याउन सकिन्छ भनेर हामी गृहकार्य गर्दैछौं,’ शाक्यले सोमबार इकागजसँग भने, ‘पानी आउने समय र अवधिको तालिका हामी छिट्टै सार्वजनिक गर्दैछौं ।’

गत चैत २० गते मेलम्चीको औपचारिक उद्घाटन भएयता र वितरण क्षमता बढ्दै गएपछि उपभोक्ताहरुबाट सकारात्मक प्रतिक्रिया आएको शाक्यले बताए । कतिपय ठाउँमा पानी पर्याप्त भई ग्राहकले धाराको टुटी बन्द गर्न थालेको, त्यसले गर्दा अन्य क्षेत्रमा पानी पुर्‍याउन मद्दत पनि पुगेको छ । 

पानी नपुगेका ठाउँबाट गुनासो पनि आउने गरेको शाक्य बताउँछन् । पुरानो पाइप, चुहावट भएर पानी जमिनमुनि घुसेको, पाइप ब्लक भएको लगायतका विविध कारणवश कतिपय घरधुरीमा पानी आपूर्ति हुन सकेको छैन । ‘पानी नपुगेका ठाउँमा हामीले छुट्टै प्राविधिक टोली बनाएर मर्मत कार्य अघि बढाएका छौं,’ शाक्यको भनाइ थियो ।

मेलम्चीको पानी सुरुमा दैनिक चार करोड लिटर ल्याइएको थियो । पछि साढे आठ करोड लिटर पु¥याइयो । साढे आठ करोड लिटर पानी केयूकेएलको प्रणालीमा थप हुँदा दुई दिन बिराएर दुई घण्टा धारा आउने गरेको थियो । दैनिक १७ करोड लिटर मेलम्चीको पानी थप हुँदा केयूकेएलले सातवटा पोखरी (बीडीएस) भर्दै आएको छ । ती पोखरीहरुमा महाँकाल चोक, बाँसबारी, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज र बालाजु छन् । अब तीन पोखरीमा पनि छिट्टै पानी आपूर्ति गर्ने कार्य भइरहेको शाक्यले बताए । कीर्तिपुर, टिगनी र भक्तपुरको कटुञ्जेको पोखरीमा छिट्टै पानी पठाउने तयारी भइरहेको हो । 

उपत्यकामा केयूकेएलका कूल ग्राहक दुई लाख ३० हजार छन् । कूल ग्राहकमध्ये मेलम्चीको पानीले एक लाख ५१ हजारलाई समेटेको छ । बाँकी ग्राहकलाई नयाँ तथा पुरानो पाइप प्रणालीबाट क्रमशः पानी वितरण गरिंदै जाने योजना रहेको पनि शाक्यले बताउँछन् । ‘परीक्षण गर्दै, पानी पुगे–नपुगेको हेर्दै क्रमशः सबै ठाउँमा वितरण गर्ने लक्ष्य छ,’ उनले भने, ‘यसका लागि आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) ले काम गरिरहेको छ ।’