अधिवेशन अन्त्यपछि संसदीय समितिको आश, सांसदहरू पहिल्यैदेखि निराश

काठमाडौँ : प्रतिनिधि सभा पुनःस्थापनापछि अदालतकै आदेशअनुरूप आह्वान भएको संसद् अधिवेशन ४३ दिन टिक्यो । दिन गणनाका हिसाबले त यो अवधि लामो हो । तर, यो हिउँदे अधिवेशन सामान्य कार्यसूचीमै सीमित रह्यो । यो अधिवेशनमा न कुनै विधेयक पेस भयो, न कुनै विधेयक पास नै ।
प्रतिनिधि सभा पुनःस्थापनापछि फागुन २१ गतेको पहिले बैठकबाटै सुरु भएको कार्यपालिका–व्यवस्थापिकाको टकरावले सिंगो अधिवेशनलाई अर्थविहीन बनायो । संसदको चालु अधिवेशन अन्त्य गर्नुअघि सरकारले सभामुखसँग परामर्शसमेत गरेन ।
सरकारकै मन्त्रीहरूले संसद्लाई अधिवेशनलाई ‘दिवंगत सांसदहरूको शोक प्रस्ताव पारित गर्ने’मै मात्र सीमित राख्ने उद्घोष गरेका थिए । उनीहरू त्यसमा सफल भएका छन् । अब जेठ १५ मा संसदबाट बजेट भाषण गर्नैपर्ने संवैधानिक प्रावधानका कारण एक महिनाभित्रै वर्षे अधिवेशन बोलाउनुपर्ने स्थिति छ । बजेट भाषणपूर्व नै प्रि–बजेट छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्नुपर्ने हुन्छ । सरकारले बजेटकै लागि संसद्को चालु अधिवेशन अन्त्य गरेको हो भन्नुमा कुनै शंका रहेन । तर, जसरी अधिवेशन अन्त्य भयो, त्यो सन्देहमूलक देखिन्छ ।
मुलुकमा कोभिड–१९ को नयाँ लहर सुरु भइसकेको छ । यससँगै नागरिकका समस्याहरूको अर्को लहर पनि आइसक्यो । तर, ती समस्याको विषयमा छलफल गर्ने ठाउँ सरकारको मुठ्ठीमा परिसकेको छ । संवैधानिक बाध्यताका कारण बैशाखभित्रै सरकारले संसद्को बजेट अधिवेशन आह्वानको सिफारिस गर्छ । त्यो अधिवेशनले राष्ट्रिय मुद्दालाई उठाउने कि प्रि–बजेट छलफल गर्ने ?
हिउँदे अधिवेशन अन्त्य भइसकेपछि सदनले उठाउनुपर्ने राष्ट्रिय मुद्दाहरू संसदीय समितिको काँधमा आइपुगेका छन् । तर, प्रतिनिधि पुनःस्थापनापछि संसदीय समितिको मनोदशा पनि गडबडीमा परेको छ । संसद्को चालु अधिवेशन अन्त्य हुनुअघि इकागजले संसदीय समितिका सभापति र समितिका सदस्यहरूसँग त्यहाँको मनोदशा कुराकानी गरेको थियो । कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधि सभा पुनःस्थापनापछि आफ्नो समिति बाध्यात्मक तरिकाले चलेको बताउँछन् ।
‘समितिका सबै सदस्यको मानसिकता कमजोर देखिन्छ । अब निरासा जस्तो । पार्लियामेन्टमा पहिलो दिन सभामुखले अध्यादेश टेबुल हुन दिनुभएन । त्यसप्रति संसद्लाई सरकारले पनि विश्वास गर्ने वातावरण भएन । त्यसैले सरकारबाट पनि बिजनेस आएन । त्यसैले यो पार्लियामेन्ट नि खोइ भन्या जस्तो, निराशा जस्तो देखिन्छ । सरकार र संसद्बीचमा जुन समधूर सम्बन्ध हुनुपथ्र्यो, त्यो सम्बन्ध निर्माणमा सभामुख चुक्नुभयो’, सभापति पोखरेलले भने, ‘त्यसैले संसदीय समितिमा हुनुपर्ने जुन उत्साह उर्जा त्यो देखिएको छैन । समितिका बैठकमा पहिले जुन उत्साह र उर्जा देखिन्थ्यो त्यो विस्तारै कमजोर भइरहेको देख्छु मैले । माननीय सदस्यको उपस्थिति पनि एकदमै न्यून छ । कोरम पनि बल्लबल्ल पुग्छ ।’
संसदीय समितिका सदस्य सांसद त्यहाँको मनोदशाबारे यसरी बताउँछन् :
छक्कबहादुर लामा, राज्य व्यवस्था तथा सुशासन समिति
सरकारले कामै नदिएपछि संसद् पनि कमजोर भएको जस्तो देखियो । संसदीय समितिको अवस्था पनि यस्तै छ । तीन वर्ष जस्तो जोश जाँगर थियो, पछिल्लो कालखण्डमा त्यो मरिसकेको जस्तो देखियो । दलहरू पनि दुई दुई भागमा विभाजन भएका छन् । यो अवस्थामा नेपाल जस्तो ‘अन्डरडेभलप कन्ट्री’मा सांसदहरूमा निराशा आउनु राम्रो कुरा होइन ।
अञ्जना विशंखे, शिक्षा तथा स्वास्थ्य समिति
मानसिक रुपमा ‘डोमिनेशन’ भएको जस्तो त भएकै छ । समितिमा कस्तो छ भने सदस्य अथवा सभापतिको बीचमा अझै पनि सुमधुर र जीवन्त छलफल, भेटघाटको प्रक्रिया पहिला जस्तो भइरहेको छैन । सरकार पक्षका सदस्यले समितिका सभापतिलाई प्रतिपक्षी जस्तो देख्छन् । समितिका निर्णय सरकारले सुन्दैन भने जस्तो गर्ने अवस्था छ । छलफल गर्दा यस्तो खालको मनोविज्ञान पनि देखिन्छ ।
जसरी बिजनेसहरू छिटोछिटो नआउने, मन्त्रालयले ल्याउनै पर्ने विधेयकहरू पनि ल्याउने छलफल गर्ने प्रक्रिया केही पनि भइरहेको छैन । सरकारले मूल संसद्मा पनि फेस गर्न चाहिरहेको देखिँदैन । समितिहरूमा पनि त्यति फेस गर्न चाहिरहेको देखिँदैन । नियमित कामहरूमा आफ्नो समर्थन गर्दिए हुन्थ्यो, बोलाए पनि यिनीहरूले विरोध गर्ने होलान् भन्ने प्रकृतिको मनोवृति मन्त्रीहरूमा देखिइरहेको छ ।
सुदन किराती, अन्तर्राष्ट्रिय सम्बन्ध समिति
समितिको बैठकमा त्यति रौनक देखिँदैन । एउटा औपचारिकता पूरा गर्न बसेको बैठक जस्तो हुन्छ । त्यसैले म आफ्नै जिल्लाको काममा लागेको छु । मुख्यतः संसद् विघटन गर्ने पक्षबाट समितिमा कोही पनि नआउने, सरम बहसूस गर्नुपर्ने स्थिति बन्यो । म समितिमा गएका बेला यस्तो अफ्ठ्यारो भइरहेको थियो ।
सरकारले संसद्लाई बिजनेस दिए पो समितिमा पनि माहौल हुन्छ त । फेरि समितिले गरेका निर्णयहरू समितिले दिएका निर्देशनहरू सरकारले मान्दैन । संविधान त नमान्ने सरकारले जाबो संसदीय समितिहरूले दिएको निर्देशन कसरी मान्ला र ?
०००
(प्रतिनिधि सभा पुनःस्थापनापछि सबैमा आशा जागेको थियो । निश्चय संसदीय व्यवस्थामा आशा र भरोसाको केन्द्र संसद्लाई मानिन्छ । त्यो आशाको सम्बोधन कति भयो, कति भएन ? प्रतिनिधि सभाले के कस्ता अफ्ठ्याराहरू बेहोर्नु पर्यो ? यसमा को-को पात्र सहभागी भए ? सांसदहरूको भूमिका के हुनुपर्थ्यो, के भयो ? यसले नागरिकलाई के असर पार्यो ? यस्ता प्रश्नको उत्तर यो श्रृंखलामा हामी प्रस्तुत गर्नेछौँ । त्यसका लागि प्रतिनिधि सभा पुनःस्थापनापछिका घटनाक्रम मसिनो गरी केलाइनेछ । यहाँ तिनको व्याख्या र विश्लेषण गरिनेछ ।)
०००
यो पनि पढ्नुहाेस् :

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया