शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

मनाङे निर्विरोधको अन्तर्य

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७९ को पहिलो सांसद बन्ने मौका पाए मनाङ प्रदेश ‘ख’ बाट दीपक मनाङे ऊर्फ राजीव गुरुङले । जम्मा चार हजार एक सय ५५ मतदाता संख्या रहेको मनाङ (ख) मा जसरी पनि मनाङेलाई आफ्नोतिर पार्ने गठबन्धन र एमालेको दाउपेचका कारण दलहरूबाट उम्मेदवारी परेन । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अर्का दोर्जे लामा गुरुङलाई पनि फिर्ता गराउन मनाङे सफल भए । एकभन्दा बढी उम्मेदवारी नपरेपछि स्वतः ‘निर्विरोध’ भए ।

एक सिट जित्न मरिहत्ते गर्ने दलहरू मनाङमा भने विवादास्पद पृष्ठभूमिका र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्तिलाई ‘सर्वसम्मत’ गराउन सफल हुनुले मुलुकको राजनीति कति स्वार्थलिप्त भएछ भन्ने पुष्टि गर्छ । मनाङे राष्ट्रियस्तरमा सम्मानित व्यक्ति भएको भए एउटा कुरा हुन्थ्यो । गुण्डा पृष्ठभूमि भएका मनाङे मन्त्री हुँदा पटक–पटक विवादास्पद काम गरे । यहाँसम्म कि आफ्नै कर्मचारीलाई पनि उही गुण्डाशैलीमा पिटे । त्यसपछि गण्डकी प्रदेशका सरकार जोगाउने र गिराउने दुवै अस्वाभाविक र अनैतिक कार्यसमेत गरे । राजनीतिक इमानदारिता नभएका व्यक्तिलाई एमाले र कांग्रेस दुवैका गठबन्धनले ‘सर्वसम्मत’ गर्नु सांसदजस्तो मर्यादित र सम्मानित पदको ओज घट्न गएको छ ।

दलहरूलाई आफ्नो स्वार्थका लागि जस्तोसुकै अपराध कर्ममा सामिल भएका व्यक्तिलाई पनि ‘जनअनुमोदन’ गराउन पछि पर्दैनन् । भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेसका विजय गच्छदार छाती फुलाएर संघीय संसदको मैदानमा उत्रेका छन् । उनलाई पार्टी नेतृत्वले सहजै रुपमा टिकट दियो । मुलुकको नीति निर्माणमा प्रत्यक्ष सहयोग र योगदान गरेका व्यक्तिहरूले टिकट पाएनन् । एमालेले पनि आफ्ना ‘दिग्गज’ भनिएका व्यक्तित्वहरूलाई टिकट दिए, कारण नेतृत्वको आलोचना गरेकै कारण ।

मनाङ प्रदेश (ख) मा भने अपराधिक पृष्ठभूमि भएका र विवादास्पद व्यक्तिले निर्विरोध हुनु लोकतन्त्रलाई यी दलका नेताहरूले कसरी धज्जी उडाएका छन् भन्ने अर्काे ज्वलन्त दृष्टान्त हो । यिनका खल्तीबाट झिकेका मान्छेलाई नागरिकले ‘अनुमोदन’ गरिदिनुपर्ने यो कस्तो विडम्बना हो । 

आवधिक निर्वाचन लोकतन्त्रको गहना हो । करकाप, छलछाम र स्वार्थका कारण जनताको मन राय लिन नदिनु अलोकतान्त्रिक कार्य हो । एक सिट थप जित्ने लोभका कारण अरुको पार्टीबाट मान्छे चोरेर सांसदको टिकट दिलाउने दलहरूले मनाङमा भने ‘राष्ट्रिय सहमति’ कायम गरेका छन् । यो सहमतिले उनीहरूको चरम स्वार्थ उजागर गर्छ ।  प्रदेश सभाको निर्वाचन सम्पन्न भइसकेपछि सरकार बनाउने र गिराउने खेलमा मनाङलाई अस्त्रको रुपमा उपयोग गर्न कांग्रेस र एमालेबीच अघोषित ‘कार्यगत एकता’ भएको हो । सत्ता प्राप्ति र आर्थिक स्वार्थमा दलहरूबीच जस्तोसुकै विषयमा पनि सहमति हिजो पनि हुने गरेको थियो । 

राष्ट्रिय मुद्दामा भने यिनीहरूबीच कहिल्यै एक सोच हुँदैन । जुनसुकै दलको सरकार आए पनि परराष्ट्र नीति फेरिनु हुन्न भन्ने गरिन्छ । तर आफैले संसदमा अनुमोदनका लागि प्रस्ताव गरेको एमसीसीमा एमालेले मत हाल्ने बेला तटस्थ बसिदियो । अर्थात् उसले तत्कालको राजनीतिक लाभ मात्र हेर्‍यो, मुलुकको आर्थिक हित हेरेन ।

हिजो महाकाली सन्धिमा पनि केही एकाध दलबाहेक ‘बृहत्तर राष्ट्रिय सहमति’ बनी संसदको दई तिहाईभन्दा बढी मतले पारित गरियो । यी केही प्रतिनिधिमूलक उदाहरण हुन् । महाकाली सन्धिपछि धेरै नेताका राजनीतिक र आर्थिक हैसियत बढेको हो । आफ्ना व्यक्तिगत स्वार्थका लागि यस्ता राष्ट्रिय सहमति पटक–पटक हुने गर्छ । त्यही मेसोमा नागरिकबाट परीक्षण नै नगरी ‘सिण्डिकेट’ का भरमा मनाङ मनाङेलाई निर्विरोध गरिएको हो ।