सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

गण्डकीका मन्त्री थापाद्वारा सवारी फिर्ता

पोखरा। गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आफूले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ (ख) मा प्रदेश सभा सदस्यका लागि आईतबार मनोनयन दर्ता गरेपछि सोमबार मन्त्री थापाले सवारी सुविधा फिर्ता गरेका हुन् ।

मन्त्री थापाले गण्डकीको कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाएपछि प्रयोग गर्दै आएको ग १ झ ५६३ नम्बरको सवारीको चाबी मन्त्रालयका सचिव शम्भुप्रसाद रेग्मीलाई हस्तान्तरण गर्दै सुविधा फिर्ता गरेका छन् । निर्वाचनलाई मर्यादित बनाउन सवारी सुविधा फिर्ता गरेको मन्त्री थापाले बताएका छन् ।

‘गण्डकी प्रदेश सरकार अन्तर्गत कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सरकारी गाडी सुविधा प्राप्त गरेको थिएँ । आसन्न प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा समेत संलग्न हुनुपर्ने भएकाले सुविधा स्वरुप प्राप्त झण्डावाल गाडी आज मन्त्रालयका सचिवज्यूलाई फिर्ता गरेको छु ।’, उनले भने ।

जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा हिजो पनि आफू सचेत रहेको र आज पनि भएको अभिव्यक्ति उनको छ । आगामी समय पनि सो कार्यले निरन्तरता पाउने भनाई मन्त्री थापाको छ । मन्त्री थापाले २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण केही दिन अघि मात्र पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।