कुम्भ मेलाबाट फर्केनेले दिल्लीमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

नयाँ दिल्ली : भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कुम्भ मेलामा सहभागी भएर आएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।
हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले त्यहाँबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारद्वारा जारी निर्देशनमा कुम्भ मेलाबाट आएकाहरुले आफैं पनि स्वास्थ्य सतर्कता अपनाउनु पर्ने र क्वारेन्टाइनमा बस्नु पर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारको निर्देशन नमान्नेहरुलाई कानुन अनुसार कडा सजाय हुने चेतावनी पनि दिइएको छ ।
प्रदेशका मुख्य सचिव विजय देवद्वारा जारी निर्देशनमा होम क्वारेन्टाइन बसे पनि हुने उल्लेख गरिएको छ ।
यही अप्रिल ४ देखि १७ सम्म कुम्भ मेलामा गएकाहरुले २४ घण्टा भित्र आफ्नो विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन पनि आह्वान गरिएको छ ।
'त्यसैगरी जो यही अप्रिल १८ देखि ३० सम्म कुम्भ मेलामा जाँदै हुनुहुन्छ, उहाँहरुले पनि दिल्ली प्रदेश छोड्नु अघि केही मुख्य विवरणहरु बुझाउनु पर्ने व्यवस्था गरिएको छ,' निर्देशनमा लेखिएको छ । कुम्भ मेलामा सहभागी भएका मध्ये १७ सयभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।
लाखौं मानिस सहभागी भएको हिन्दुहरुको महान मेलामा मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका आधारभूत मापदण्डहरु खुलेआम उल्लङ्घन भएको थियो ।
दिल्ली प्रदेशमा मात्रै पछिल्लो २४ घण्टामा २४ हजार ३७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
एकै दिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्या यो नै अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् ।
भारतको दिल्ली प्रदेशमा अहिले पनि झण्डै ७० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । (एएनआई)

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया