शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सांसद राईद्वारा प्रशासकीय अधिकृत पौडेलको ज्यान लिने धम्की

काठमाडौँ– धनकुटा पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र राईले जिल्ला छाड्न धम्की दिएका छन् । उनी धनकुटाका निर्वाचित सांसद पनि थिए ।

बिहीबार पौने ५ बजेतिर अधिकृत पौडेल र राईको संवाद भएको थियो । राईले फोन संवादमा तनहुँबाट आएर मेरो ठाउँमा शासन गर्ने भन्दै उनले धम्की दिएका छन् ।

‘तपाई तुरुन्त जानुहोस् छोराछोरी रोलान्,’ प्रशासकीय अधिकृतलाई धम्काउँदै उनले भनेका छन्, ‘तपाईलाई ठीक लगाइदिन्छु । तपाई ख्याल गर्नुहोला तपाईले धेरै हेप्नु भएको छ ।’

राईले अधिकृत पौडेललाई तुरुन्त छोडेर जान चेतावनी दिएका छन् । ‘तपाईको अस्तित्व म समाप्त पार्दिन्छु । कम अत्याचार गर्नु भएको छ यहाँ । म हेर्दैछु । तत्काल जानुहोस्,’ उनले थप संवादमा भनेका छन्, ‘तपाइलाई कसैले जोगाउन सक्दैन । शेरबहादुर र तपाईको रामचन्द्र पौडेल आए पनि कसैले बचाउन सक्दैनन् । तपाइ खुरुक्क जानुहोस् । मेरो ठाउँमा आएर दादागिरी चलाउने । तपाई जस्तो कति मानिसलाई झुन्ड्याएर राखेको छु ।’

प्रमुख प्रशासकीय अधिकृत पौडेल ६ महिनाअघि नगरपालिकामा प्रशासकीय अधिकृतको रुपमा पुगेका थिए । ‘केही नगरे पनि माननीय राईले धम्क्याउने र थर्काउने काम गर्नुभएको छ’ पौडेलले इकागजसँग भने ।

‘एकोहोरो गाली गर्नुभयो । धम्क्याउनु भयो । भन्ने नभन्ने कुराहरू भन्नुभयो । मलाई बोल्नु दिनु भएन । किन गरेको केही थाहा भएन’, उनले भने, ‘जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जिउ–ज्यानको सुरक्षा गरी पाउँ भनी निवेदन दिइसकेको छु । सबै ठाउँलाई बोधार्थ बनाएर निवेदन पेश गरेको छु ।’

जिल्ला प्रशासन र मन्त्रालयमा थप के गर्ने भनेर अगाडि बढ्ने पौडेलको भनाइ छ । धम्की खाएर काम गर्न नसक्ने उनले प्रस्ट पारे । ‘मेरो सुरक्षा सरकारले गर्नुपर्छ,’ उनले सुनाए,’ मलाई बेग्लै जिल्लामा सरुवा गर्नुपर्यो ।’

कर्मचारीलाई धम्की किन दिनुभएको भन्ने प्रश्नमा राईले नगरपालिकाभित्रका जनप्रतिनिधिलाई मिलेर काम गर्न नदिएको आरोप लगाएका छन् । अधिकृत पौडेलले नगरपालिकाभित्रका विभिन्न विकासका नाम परेको बजेटहरू पूरा नदिएकाले धम्क्याउनु परेको उनको भनाइ छ । नगरपालिकामा भ्रष्टचार प्रोत्साहन गरिरहेको दाबी समेत राईको छ । ‘कर्मचारीले गाउँस्तरका जनताको दुःख बुझ्दैनन् ।’
सांसद जस्तो व्यक्तिले कर्मचारीलाई धम्क्याउन मिल्छ त भन्ने प्रश्नमा राईले इकागजसँग भने, ‘मैले २० पटक सम्झाए । मेयर साहेब अगाडि पनि जनताले भोट हालेको मानिसलाई असहयोग नगर्नुहोस् भनेर सम्झाएकोछु ।’

राम्रो काम नगरेर बारम्बार शासक बनेकाले अहिलेको अवस्था आएको भनाइ उनको छ । गठबन्धनको सरकार भएकाले उनलाई सरुवा गर्न नसकेको उनको भनाइ छ । स्वाभिमान भएकाले कसैलाई पनि भ्रष्टचार गर्न नदिने उनले बताए ।