बंगलादेश २०० मेगावाट मात्रै भए पनि आयात गर्न तयार छ : ऊर्जा सचिव
काठमाडौँ : उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले नेपालमा उत्पादित विद्युत आयात गर्न बंगलादेश तयार रहेको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै सचिव घिमिरेले बंगादेशले अहिलेलाई २०० मेगावाट मात्रै भएपनि आयात गर्न छलफल अघि बढाएको जानकारी दिए ।
नेपालमा नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिका आयोजनाको उत्पादन बढ्दा वर्षायाममा अधिक विद्युत उत्पादन हुन्छ । ऊर्जा सचिव घिमिरेका अनुसार अहिले नेपालको कुल उत्पादन जडित क्षमता १,४६२ मेगावाट र प्रतिव्यक्ति विद्युत खपत २६० युनिट रहेको छ । उनले निकट भविष्यमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना पनि निकट भविष्यमा सम्पन्न हुन लागेकाले उत्पादित विद्युत बिक्री गर्ने बाटो खोल्न मन्त्रालयले पहल गरिरहेको जानकारी दिए । ‘वैशाखभित्र माथिल्लो तामाकोशीबाट प्रारम्भमा ७६ मेगावाट विद्युत उत्पादन हुनेछ,’ उनले भने, ‘ऊर्जा उत्पादनमा तीव्रता आए पनि नदीप्रवाहमा आधारित विद्युत आयोजना धेरै भएका कारण सुख्खायाममा भारतकै भर पर्नुपर्ने अवस्था छ ।’
उनले ढल्केबरको ४०० केभी सबस्टेशन पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताए । विद्युत निर्यात मात्र नभएर आन्तरिक खपत बढाउन विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । ऊर्जा मन्त्रालयले आगामी दिनमा ठूला र जलाशययुक्त आयोजनालाई अघि बढाउन प्रयास गरिरहेको सचिव घिमिरेले समितिलाई जानकारी गराएका छन् । बूढीगण्डकी, पश्चिम सेती, दूधकोसी, त्रिशुली–४ जस्ता मेगा प्रोजेक्ट अघि बढाउने उनको भनाइ थियो । आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रममा ४३ जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उल्लेख छ भने आगामी वर्ष सात सय ७० मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिनेछ ।
आगामी बजेटमा ऊर्जा मन्त्रालयका नीति कार्यक्रमका सम्बन्धमा समितिका सदस्यहरूले गरेको प्रश्नमा सचिव घिमिरेले मन्त्रालयलाई दिइएको सिलिङमा कुनै समस्या नभएको बताए । यद्यपि, आगामी वर्ष ९४अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालनका लागि १४–१५ अर्ब रुपैयाँजति समकारक कोष (काउन्टर पार्ट फण्ड) चाहिएको भन्दै उनले अहिले ८ अर्ब मात्र उपलब्ध भएको बताए ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया