मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

असुरक्षित भ्युटावर निर्माण गर्नेहरूविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– गुणस्तरहीन सामान प्रयोगसहित असुरक्षित किसिमको भ्युटावर निर्माणमा भ्रष्टाचार भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार बाँकेको कोहलपुर– ०४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहले भ्युटावर निर्माणका लागि प्राविधिक विज्ञको सहयोग नलिकन १५ लाख ८ हजार ६ सय ९ रुपैयाँ खर्च भ्युटावर (मचान) निर्माण भएको थियो । त्यसमा गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरी सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको देखिएको छ ।

सरकारी रकम दुरुपयोग गरी लागत अनुमान र नक्सा समेतबेगर मचान भनी असुरक्षित तथा गुणस्तरहीन भ्युटावर निर्माण भएको थियो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उक्त निर्माणमा वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनुकुमारी पाण्डे र सचिव दिल माया रानाको संलग्नता देखिन्छ । आयोगले लागत खर्च १५ लाख ८ हजार ६ सय ९ रुपैयाँलाई भ्रष्टाचार ठहर गरेको  छ । आयोगले अभियुक्तहरूसँग कैद सजाय र विगोबमोजिम जरिवानाको माग गरेको छ ।