शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

कानुन संकायमा भएको मूल्यवृद्धि फिर्ता लिन अखिलको माग

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पूर्वाञ्चल विश्वविद्यालयको भक्तपुर स्थित कानून संकायको काठमाडौं स्कुल अफ ल, लगायत विश्वविद्यालयका अन्य कलेजहरूमा अस्वाभाविक शुल्क वृद्धिको विषयमा संगठनको गम्भिर ध्यानाकर्षण भएको भन्दै शुक्ल वृद्धि तुरुन्त फिर्ता लिन माग गरेको छ। कानुन संकाय जस्तो विषयको शुल्क, प्राविधिक विषयको पढाइ शुल्क भन्दा धेरै हुनु आफैंमा एक अतिवादको विषय भएको  भन्दै बढाएको शुल्क अविलम्ब फिर्ता लिन माग गरेको हो ।

संगठनले काठमाडौं स्कुल अफ ल, भक्तपुरले विद्यार्थीहरुलाई गरेको विभिन्न किसिमका विभेद र शोषणको गरेको विषय लामो समयदेखि गुनासोको रुपमा आएको जनाएको छ । मनपरी पढाइ शुल्क असुल्ने, कलेजले लिने शुल्क सार्वजनिक नगर्ने, घुमाउन लैजाने एवं विभिन्न बहानामा अनावश्यक र अनाधिकृत शुल्क असुल्ने लगायतको कार्य गरेको भन्दै आपत्ती जनाएको छ।

राजनीतिक एवं सांगठनिक विचार राख्न पाइने अधिकार कुण्ठित गर्ने र त्यसो गरेको पाइएमा विद्यार्थीहरुलाई विभिन्न प्रकारका डर एवं मानसिक यातना दिने, मनोवैज्ञानिक रुपमा त्रास पुर्याउने कृयाकलाप गर्ने तथा परीक्षाको आन्तरिक मुल्यांकनमा फेल गराउने एवं अन्य संस्थागत अराजकता र अनैतिक कार्यहरु निरन्तर गरिरहेको गुनासो आएकोले अनेरास्ववियु पूर्वाञ्चल वि. वि. राष्ट्रिय कमिटी उक्त कलेज समक्ष त्यस्ता हर्कत नगर्न सचेत गर्दै यसको समस्याको समाधानका विभिन्न माग गरेको छ।