बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

ओलीलाई प्रचण्डको प्रश्न : संविधानको भावनाविपरीत गरेका काम प्रतिगमन नभएर के हो ?

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको भावनाविपरीत गर्ने काम प्रतिगमन नभएर के हो भन्दै प्रश्न गरेका छन् । शनिबार संसद्‍काे अन्तिम बैठकमा मन्तव्य दिँदै उनले एमाले अध्यक्ष ओलीलाई साे प्रश्न गरेका हुन् ।

‘संविधानमा हुँदै नभएको अधिकार सदन भित्रबाट अर्को सरकार भएसम्म सदन विघटन गर्न पाइँदैन भनेर हामी सबैले सचेत रूपमा व्यवस्था गरेका होइनौँ ?,’ उनले प्रश्न गरे, ‘अनि सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संविधानको भावना मर्मविपरीत सरकारको नेतृत्व गर्ने दलभित्र बैठक बस्दा बस्दै त्यसबारे चर्चा पनि नगरिकन हठात संविधानको भावनाविपरित गर्ने काम प्रतिगमन गर्ने नभएर के हो ?’

प्रतिपक्षी दलको नेताले सदनमा उपस्थित नेतालाई नबुझ्ने ठानेर गफ गरेको भन्दै उनी आक्रोशित समेत भए । ‘उहाँ(ओली)ले कता कता तुलना गरिदिनु भयो कि अहिलेको निर्वाचन त्यसो भए प्रतिगमन हो त ?,’ उनले थपे, ‘यो तुलना गर्नेको पनि एउटा हद हुन्छ नि । हामी यहाँ बस्ने सबै केही नबुझ्ने छन् भन्ठान्नु भएको हो कि प्रतिपक्षी दलको नेताले ?’

अध्यक्ष ओलीले प्रतिगमनको व्याख्या गर्दा आफूलाई अनौठो लागेको भन्दै प्रचण्डले व्यंग्य समेत गरे । ‘मलाई अलिअलि अनौठो पनि लाग्यो आश्चर्य पनि लाग्यो,’ उनले भने, ‘ प्रमुख प्रतिपक्षी दलको नेताले प्रतिगमनको व्याख्या गर्नुभयो । लोकतन्त्रको व्याख्या गर्नुभयो । यो के भइरहेको छ, जसले जे भने पनि हुने रहेछ कि क्या हो ? भन्या जस्तो पनि लाग्यो मलाई ।’