नहर बग्दा खोटाङकै पहिलो लघुजलविद्युत् आयोजना अवरुद्ध

खोटाङ- बाढीले नहर बगाउँदा खोटाङकै पहिलो लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ । वर्षाका कारण नहर बगाउँदा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमास्थित १८ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत् आयोजना अवरुद्ध भएको हो ।
२०६२ साल वैशाख २५ गतेदेखि विद्युत् बाल्न सुरु गरिएको लघुजलविद्युत् आयोजनाको नहर स्थानीय बाछेर्कु खोलाले बगाउँदा विद्युत् अवरुद्ध भएको हो ।
कमेरे माटो भएको ठाउँबाट हरेक वर्षा याममा खोलामा बाढी झर्दा नहरमा क्षति पुग्ने गरेको सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राईले बताए । तापखोलाबाट उत्पादन गरिएको विद्युत् सप्तेश्वरका करिब ६०० घरधुरी उपभोक्ताले उपभोग गर्दै आएका थिए । तर, राष्ट्रिय प्रशारण लाइन विस्तारका कारण हाल सो लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कम मात्रामा उपयोग हुँदै आएको छ ।
अवरुद्ध विद्युत् सुचारु गराउनका लागि स्टिमेटका लागि प्राविधिक खटाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए । प्राविधिक स्टिमेटका आधारमा जलविद्युत् आयोजनाको नहर मर्मत गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
बाढीले नहर बगाउँदा सप्तेश्वरको मालदेल क्षेत्रको सिँचाइमा समेत समस्या भएको छ । विद्युत् र सिँचाइका लागि उपयोग हुँदै आएको नहर बाढीले बगाएपछि सिँचाइ क्षेत्र प्रभावित भएको हो । ‘तापखोला मुहान भएको नहरलाई विद्युत् उत्पादन गर्न र सिँचाइमा प्रयोग गर्दै आएका छौँ,’ वडाध्यक्ष राईले भने, ‘नहरभन्दा माथिबाट कमेरे माटो बगेर बाढीका रूपमा झर्ने गरेको छ । हरेक वर्ष अलिकति पानी पर्ने बित्तिकै बाढी झर्ने गरेको छ ।’

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया