तनहुँ-१ : पौडेलको जितेर मात्रै मर्ने चाहाना, जोशीको पौडेल हराउने जोश

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट फेरि चुनाव लड्ने घोषणा गरेका छन् । तनहुँ-१ बाट उठ्ने तयारी गरिरहेका पौडेल अघिल्लो आम निर्वाचनमा यही क्षेत्रबाट हारेका थिए । उनी यसपालि ०७४ को हारको बदला लिने दाऊमा छन् ।
पौडेलले आफूले हारेको ठाउँबाट जितेर मात्रै मर्ने इच्छा रहेको भन्दै उम्मेदवारी घोषण गरेका छन् । ०७४ को निर्वाचनमा रामचन्द्र पौडेलले एमालेका कृष्णकुमार श्रेष्ठसँग ६ हजार ५ सय ३२ मतले हारेका थिए । एमालेका श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याउँदा पौडेलले २७ हार ६ सय ९० मत मात्रै पाएका थिए । २०४८ साल पछिका संसदीय निर्वाचनमा लगातार जितेका पौडेलको यो पहिलो हार थियो ।
०४८ सालको संसदीय निर्वाचनमा तनहुँ-१ बाट विजयी भएका थिए, पौडेल । उनले संयुक्त जनमोर्चा, नेपालका रामनाथ शर्मालाई ४ हजार बढी मतले हराएका थिए । त्यसबेला रामचन्द्रले १८ हजार ९ सय ६८ मत पाउँदा रामनाथले भने १३ हजार ८ सय ५९ मत मात्रै ल्याएका थिए । ०५१ को मध्यावधि निर्वाचनमा पौडेलले तनहुँ-१ छाडी तनहुँ-२ बाट लड्ने निर्णय गरे । उक्त निर्वाचनमा पनि उनी एमालेका विश्वबन्धु भण्डारीलाई हराउँदै विजयी भए । उक्त निर्वाचनमा पौडेलले २२ हजार ६ सय ३९ मत पाएका थिए भने भण्डारीले ६ हजार ४ सय ५३ मत मात्रै प्राप्त गरेका थिए । पौडेलले ०५१ सालको प्रतिनिधि सभामा सभामुख भएर काम गरे ।
त्यसपछि ०५६ सालको निर्वाचन तनहुँ-२ बाट उम्मेदवार बनेका पौडेल फेरि विजयी भए । उनले एमालेका शंकरनारायण श्रेष्ठलाई झण्डै दोब्बर मतले हराएका थिए । त्यसबेला पौडेलले २४ हजार ४ सय ४६ मत ल्याउँदा शंकरनारायणले भने १० हजार ३ सय ३५ मत मात्रै पाएका थिए । जितको शृंखला कायम राख्दै पौडेलले २०६३ को पहिलो संविधान सभा चुनावमा पनि तनहुँ-२ बाट विजयी भए । त्यसबेला उनले माओवादीका डम्बरबहादुर विश्वकर्मालाई हराएका थिए । विश्वकर्माले ११ हजार ५० मत ल्याउँदा पौडेलले १८ हजार ९ सय ७० मत ल्याएका थिए । त्यसबेला एमालेका उम्मेदवार प्रतापलाल श्रेष्ठ भने तेस्रो बनेका थिए । उनको जित यतिमै रोकिएन । उनी ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पनि विजयी भए । ०७० मा उनले एमालेका कृष्णकुमार श्रेष्ठलाई हराएका थिए । पौडेलले १८ हजार १ सय ४९ मत ल्याउँदा एमालेका कृष्ण कुमारले ११ हजार ७ सय ३९ मत मात्रै पाएका थिए ।
एमालेका तिनै कृष्ण कुमारले ०७४ मा भने पौडेलको ०४८ यताको अविराम संसदीय यात्रामा ब्रेक लगाइदिए । तनहुँ -१ बाट लडेका पौडेलले हार बेहोर्नु पर्यो । यसपटकको निर्वाचनमा भने त्यही हारको बदला लिने योजनासहित पौडेल चुनावमा होमिएका छन् । तर, एमाले विभाजन पछि पौडेल र कृष्ण कुमार एउटै सत्ता गठबन्धनमा छन् । गठबन्धनले पौडेललाई उम्मेदवार बनाए उनले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । एमालेका उम्मेदवारलाई हराएर पहिले पहिलेझैँ जित निकाल्न भने पौडेललाई सहज छैन । उनले तनहुँमै कांग्रेसलाई मिलाउन सकेका छैनन् जसले कार्यकर्ता भित्र असन्तुष्टि छ ।
योभन्दा पनि कांग्रेसको जोशी समूह दोस्रो पटक उनलाई हराउने अभियानमा रहनेछ । अघिल्लो निर्वाचनमा गोविन्दराज जोशीले पौडेलविरुद्ध उम्मेदवारी नै दिएका थिए । तर मैदानमा उत्रनुअघि नै उनको उम्मेदवारी रद्द भएको थियो । तर जोशीले आफू स्वयं पौडेललाई हराउन नपाए पनि एमालेका कृष्णकुमार श्रेष्ठलाई जिताएर त्यो चाहाना पूरा गरे । उम्मेदवारी रद्द भएपछि पौडेललाई हराउन सहयोग गरेको भनेर जोशीलाई कांग्रेस कार्यसमितिले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो । उनको कारबाही अझै फुकुवा भइसकेको छैन । तर, गोविन्दराज जोशीले यसपटक पनि तनहुँ-१ बाटै उम्मेदवारी दिने उनका छोरा दिपकराज जोशीले इकागजलाई जानकारी दिए ।
‘यसपटक बुवाको उम्मेदवारी तनहुँ-१ बाट उम्मेदवारी रहन्छ,’ उनले भने, ‘अब सधैँ एउटै मान्छेलाई छाड्ने पक्षमा छैनौँ हामी ।’ जोशी समूहको उम्मेदवारीले पौडेलको जितलाई फेरि रोक्न सक्ने नेताहरू बताउँछन् । स्थानीय निर्वाचनमा पनि जोशी समूहले एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो ।
उनीसँग गोविन्दराज जोशी मात्रै होइन, अन्य नेता पनि आक्रोशित छन् । नेपाली कांग्रेस तनहुँको सचिवबाट राजीनामा गरेका विश्व बास्तोलाले पनि उनीविरुद्ध तनहुँ-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफू परिवर्तनको पक्षमा रहेको भन्दै उम्मेदवारी घोषणा गरेको बताएका थिए । बास्तोला कुनै बेला पौडल समूहमै थिए । तर, स्थानीय निर्वाचनमा टिकट वितरण योगदान अनुसार नभएको उनको असन्तुष्टि थियो । उनले स्वतन्त्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । बास्तोलाको उम्मेदवारी पनि नेता पौडेलका लागि भारी बन्न सक्ने स्थानीयको आँकलन छ ।
तनहुँ-१ मा देवघाट गाउँपालिका, आँबु खैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु गाउँपालिका र व्यास नगरपालिकाको ५ र ६ वडा बाहेकका सबै वडा पर्छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ५ वटा स्थानीय तहमध्ये तीनमा कांग्रेस, र बाँकी दुईमा एमाले र माओवादीले एक-एक वटा पालिका जितेका थिए । वडागत मतको हिसाबमा पनि कांग्रेस अगाडि देखिन्छ । व्यास नगरपालिकामा पर्ने ४ र ७ बाहेक सबै वडा कांग्रेसले जितेको छ । बन्दिपुर गाउँपालिकाको ६ वटा वडामा मध्ये माओवादीले २ वटा, एमाले ३ तीन वटा र एमाले एउटा जितेका छन् ।
देवघाट गाउँपालिकाका ५ वटा वडा मध्ये कांग्रेसले तीन वटा वडा र एमालेले २ वटा वडामा जित हासिल गरेको थिए । आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडा मध्ये माओवादीले ३ वटा वडा, कांग्रेसले २ वटा वडा र एमालेले एउटा वडा जितेको थिए । यस्तै भानु नगरपालिकाका १३ वटा वडा मध्ये ९ वटा वडा कांग्रेस एक्लैले जितेको थियो भने एमाले र स्वतन्त्रले समान दुई-दुई वटा वडा जितेका थिए ।
वडागत मतका आधारमा हेर्दा कांग्रेस बलियो देखिन्छ । अझै सत्ता गठबन्धनका दलहरूको साथ पाएपछि पौडेलको जित निश्चित जस्तै देखिन्छ । तर, अघिल्लो पटक हार बेहोरेका पौडेलले ढुक्क हुने अवस्था नभएको नेताहरू बताउँछन् । पार्टी भित्रको असन्तुष्ट पक्षलाई समेत साथमा लिएर हिड्न सके मात्र पौडलको जितेरमात्रै मर्ने इच्छा पूरा हुने धेरैको विश्लेषण रहेको छ ।

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिक्रिया