फोहोर व्यवस्थापनबाट नगद आम्दानी गर्दै थाहा नगर

मकवानपुर- मकवानपुर जिल्लाको थाहा नगरपालिकाले शहरीकरणसँगै बढेको फोहोरलाई उचित व्यवस्थापन गर्दै नगद आम्दानी लिन सुरु गरेको छ ।
नगरपालिकाले दैनिक फोहोर व्यवस्थापनबाट हाल मासिक झण्डै दुई हजार आम्दानी गर्ने गरेको छ । गत आवमा जैविक फोहोरबाट मल र अजैविक फोहोर बिक्रीबाट डेढ लाख रुपैयाँ आम्दानी गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्थानीयलाई सक्दो कम फोहोर उत्पादनका लागि समेत प्रेरित गर्दै आएको छ । स्थानीय स्तरका समुदायलाई परिचालन गरेर फोहोरको उचित ढंगले व्यवस्थापन गर्दै आएकाले आम्दानी हुन थालेको फोहोर व्यवस्थापन शाखा प्रमुख अनिल लामिछानेले बताए ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि छुट्टै कार्यविधि नै बनाएर स्थानीयलाई अपनत्व हुने गरी व्यवस्थापन गरिरहेकाले थप लगानी गर्नु नपरेको उनको भनाइ छ ।
पालिकाले प्रत्येक वडामा बजार पहिचान गरी व्यवस्थापन समिति गठन गरेको छ । त्यस्ता समितिबाट मासिक न्यूनत्तम सय रुपैयाँ लिने गरिएको छ । नगरका १६ वटा समितिबाट फोहोर संकलन गरिने गरेको छ । थाहा नगरको वडा २ टाखेल र वडा ६ बज्रवाराहीस्थित सेरिगेसन हाउसमा जम्मा गरिन्छ । 'त्यही हाउसमा कुहिने र नकुहिने फोहाेर छुट्याइन्छ,’ नगर प्रमुख विष्णु विष्टले भने, ‘नकुहिनेलाई बिक्री र कुहिनेबाट मल बनाइन्छ ।’
नकुहिने फोहोरको उचित व्यवस्थापन गर्दै आएको उनको भनाइ छ । नगरबाट दिनहुँ २ हजार ५ सय किलो फोहोर संकलन हुने गर्छ । त्यसमध्ये ४ सय किलो कुहिने फोहोर हुने उनले जनाए । शहरीकरणसँगै फोहोरको मात्रा बढेको भन्दै नगरले त्यसलाई घटाउन तालिम आयोजनासँगै डस्टबिन वितरणलगायत कार्यक्रम गरिरहेको छ । दिगो रूपमा फोहाेर व्यवस्थापन गर्न जग्गा छनोट गरी पूर्वाधार बनाउन लागिएको बिष्टले बताए ।
यता मकवानपुरकै हेटौंडा उपमहानगरपालिकाले पनि फोहोर व्यवस्थापनका लागि कार्यदल बनाएर काम अघि बढाउने तयारी थालेको छ । बढ्दो फोहोरलाई व्यवस्थापन गर्न वैज्ञानिक विधिको खोजी गर्ने भन्दै उपमहानगरपालिकाले विभिन्न वडाका अध्यक्षहरू सम्मिलित कार्यदल बनाएको प्रवक्ता सबिन न्यौपानेले बताए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया