वीरेन्द्रनगरलाई अवैध संरचना हटाउन सकस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले यही भदौ अन्तिम साताबाट मुख्य बजार क्षेत्रका अबैध संरचनाहरु हटाउन सुरुवात गरेको छ । मुख्य बजारमा सडक स्तरोन्नतिको काम भइरहेकाले मंगलगढीदेखि गणेशचोकसम्मको सडकका संरचनाहरु हटाउन सुरुवात गरिएको हो ।
यसका लागि नगरपालिकाले सात दिने अल्टिमेटम दिई संरचना हटाउन अटेरी गरे सरोकारवाला निकाय र सम्बन्धित घर जग्गाधनीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने समेत सूचना जारी गरेको थियो ।
यो अवधिमा न बजार क्षेत्रमा अव्यस्थित रूपमा निर्माण गरिएका संरचना हटाइएको छ न त फुटपाथ मिचेर गरिँदै आएका व्यवसायको व्यवस्थापन नै भएको छ । नगरपालिकाकाले सडक क्षेत्र खाली गर्न सूचना जारी गर्नुको मुख्य कारण थियो, एक वर्षदेखि अलपत्र मुख्य बजार क्षेत्रको सडक विस्तार योजनाको काम अघि बढाउनु। तर, उक्त सूचनाको समेत बेवास्ता गरिएको छ ।
नगरपालिकाकाले सडक क्षेत्र खाली गर्न यसअघि पटक–पटक सरोकारवालासँग छलफल र अनुरोध गरेपनि त्यस्ता संरचना नहटाएपछि सात दिने सूचना नै जारी गरेको थियो । अहिले नगरपालिकाले दिएको समयावधि सकिएपछि मुख्य बजार क्षेत्रमा रहेका विद्युतका पोल, नेपाल टेलिकम तथा इन्टरनेट प्रदायक संस्थाका तारहरु तथा सडक किनारामा पर्ने रुख तथा भौतिक संरचना हटाउन थालेको हो ।
१ हजार ७ सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार बुधबारदेखि काम थालिएको प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए ।
नगरपालिका अझै पनि ‘एक्सन’ मा भने जान जान नसक्दा लामो समयदेखि सडक स्तरोन्नति र फुटपाथ व्यवस्थापनको योजना अलपत्र परेको छ ।
नगरपालिकाले अवैध संरचना हटाउने कामको थालनी गरिसकेको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । अवैध संरचना हटाइसकेपछिसडक विस्तारको योजनाले गति लिने प्रमुख ढकालको भनाई छ ।’ निर्माण सम्झौताअनुसार बजार क्षेत्रको सडक विस्तारको काम १८ महिनामा गरिसक्नुपर्ने भनिएको छ । सम्झौता भएको एक वर्ष बितिसक्दा पनि काममा उल्लेखनीय प्रगति भएको छैन ।
गत वर्ष भदौ १७ गते सडक स्तरोन्नतिका लागि सम्झौता भएको थियो । निर्माण कम्पनीले २०८० जेठ मसान्तसम्म उक्त सडक निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । समय निकै घर्किसक्दा पनि नगरपालिकालाई सडक क्षेत्रका संरचना हटाउनमै हम्मेहम्मे परेको छ । विद्युत, खानेपानीजस्ता सेवा प्रदायक निकायले समेत आफ्ना संरचना सार्न ढिलाइ गर्दा पनि सडकको काम प्रभावित बनेको हो ।
यता ठेकेदार कम्पनीले ‘साइड क्लियर’ नभएकै कारण निर्माणको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताउँदै आएको छ । सो सडकसहित बजार क्षेत्रका अन्य केही भित्री सडकहरूको स्तरोन्नतिको जिम्मा खड्का निर्माण सेवा बाँकेले पाएको छ । पूर्वाधार विकास निर्देशनालयले निर्माण कम्पनीसँग सडक विस्तारका लागि ठेक्का सम्झौता गरेको हो ।
वीरेन्द्रनगरको मंगलगढीदेखि गणेशचोकसम्म हाल सात मिटर चौडा सडक रहेकोमा त्यसलाई स्तरोन्नति गरी १५ मिटर चौडाइको बनाइँदै छ । व्यापारीहरूले बजार क्षेत्रको फूटपाथ कब्जा गर्दा सडक स्तरोन्नतिसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । अव्यवस्थित रूपमा संरचना निर्माण गरेर बसेकालाई हटाउन समस्या भइरहेको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया