बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

डा. केसीकाे अवस्था बुझ्न मानव अधिकारकाे टाेली अस्पतालमा

कैलाली । सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिमको टोली धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेको छ। अस्पतालको सघन कक्षमा उपचाररत डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको टोली अस्पताल पुगेको हो।

शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न पाउने नागरिकको अधिकार भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक मोहनदेव जोशीले बताए। लामो समयसम्म अनसन बसेर माग राख्नुपर्दा स्वास्थ्यमा आउने जटिलताबारे सरकार जिम्मेवार हुनुपर्ने निर्देशक जोशीले बताए । केसीको जीवन रक्षा गर्ने दायित्व राज्यको भएकाले डाक्टर केसीले राखेका मागबारे सरकार गम्भीर हुनुपर्ने उनकाे भनाइ छ ।

२०औं सत्याग्रह गर्न धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह थालेका हुन्। शुक्रबार सत्याग्रहको पाँचौं दिन हुँदा डाक्टर केसीको स्वास्थ्य अवस्था थप बिग्रदै गएको चिकित्सकले बताएका छन् । सेती प्रादेशिक अस्पतालले एक बिज्ञप्ति जारी गर्दै उनीमा टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडीने र मुटुको धडकनमा गडबढी हुने समस्या देखा परेको जनाएको छ।

अस्पतालका अनुसार डाक्टर केसीको रक्तचाप घटेर ९०/६० हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको र शरीरको तौल घट्दै गएको छ। प्रयोगशाला रिपोर्टमा सुगरको मात्रा ४१ पुगेको तथा क्याल्सियम, फस्पोरस र म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको छ।