शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

प्रधानमन्त्री देउवाले गरे ‘परियोजना बैंक’ शुभारम्भ

काठमाडौँ– प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवा लगानी बोर्डले तयार गरेको ‘सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची’ (परियोजना बैंक) सार्वजनिक गरेका छन् ।

लगानी बोर्डद्वारा आयोजित ‘दीगो पूर्वाधार विकास मञ्च, २०२२’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको ‘एक रोकाई सेवा (वान स्टप सर्भिस) डिजिटल सिष्टम’ पनि आरम्भ गरे ।

उक्त डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आवद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् । 

उद्घाटन सत्रका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको ‘नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने’ अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरे । उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ । 

प्रधानमन्त्रीले लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउँदै ती उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गरे ।

लगानी बोर्डको कार्यालयले लगानी प्रवद्र्धनको मुख्य उद्देश्य सहित स्वदेश र विदेशमा यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरू, रोड शो, परियोजना  प्रदर्शन गर्दै लगानी सम्मेलन आयोजना गर्दै आएको छ । आजको सम्मेलनपछि समानान्तर सत्र तथा मुख्य सत्रका कार्यक्रम सञ्चालन भइरहेका छन् ।