विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई चर्को दबाब
स्थानीय तह धमाधम विद्यालय बन्द गर्दै

काठमाडौँ : ‘सरकारले निर्णय गरोस/नगरोस, प्याब्सनले स्कुल बन्द गरोस/नगरोस- हामीचाहिँ आजदेखि छोरालाई स्कुल नपठाउने निर्णयमा पुग्यौं । मिले अनलाइनमा, नमिले घरमा आफैं पढ्ला । परीक्षा दिन नपाए अर्को वर्ष ५ कक्षा पास गर्ला’ सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पत्रकार लेलिन बन्जाडेले लेखेका छन्, ‘यस्तो स्वाँठ सरकारको भर पर्ने हो भने हातमा पछुतोबाहेक अरू विकल्प रहन्न ।’
पत्रकार बन्जाडेको यो पोस्ट फेसबुक र ट्वीटरमा भाइरल छ । खासगरी विद्यालय र कोभिड-१९ मा आफ्ना छोराछोरीप्रति चिन्तित बनेका धेरै अभिभावकले रिट्वीट गर्दै अब विद्यालय बन्द गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबारदेखि नै विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको थियो । सोमबार शिक्षा मन्त्रालयले सिंहदरबारमा सरोकारवालासँग छलफल गर्यो । त्यतिबेलाको निष्कर्ष थियो, ‘तत्काल विद्यालय बन्द नगर्ने । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने ।’
तर शुक्रबारसम्मको अवस्था हेर्दा शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गर्न चौतर्फी दबाब परेको छ । स्वास्थ्य मन्त्रालयले तीन हप्तादेखि नै विद्यालय बन्द गर्न ताकेता गरिरहेको छ । कोभिड १९ को नयाँ भेरियन्ट निकै जोखिमपूर्ण भएकाले विद्यालय बन्द गर्नुपर्ने निष्कर्ष स्वास्थ्य मन्त्रालयको छ ।
काठमाडौँ उपत्यका सबैभन्दा बढी जोखिममा रहेकाले विद्यालय बन्द गर्नुको विकल्प नरहेको सुरुदेखि नै स्वास्थ्य मन्त्रालयको निष्कर्ष थियो/छ । सरुवा रोग विज्ञ संक्रमण रोक्न विद्यालय बन्द गर्नुको विकल्प नरहेको बताइरहेका छन् । यस्तो बेला आफूसँग नभएको अधिकार प्रयोग गर्न शिक्षा मन्त्रालयलाई हम्मेहम्मे परिरहेको छ ।
त्यसमाथि जतिबेला पनि अवस्थाको राम्रोसँग मूल्यांकन नगरी विद्यालय बन्द गर्ने प्रवृत्तिले शिक्षामन्त्री र कर्मचारी आलोचित छन् । र, सबैभन्दा महत्वपूर्ण कुरा विद्यालय बन्द गर्ने अधिकार मन्त्रालयलाई छैन । स्थानीय तहका जनप्रतिनिधिसँग विद्यालय बन्द गर्न आह्वान मात्रै गर्न सक्छ ।
स्थानीय तह धमाधम विद्यालय बन्द गर्दै
यो समाचार तयार पार्दासम्म विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्दै गएका छन् । बाँकेमा स्कुले बालबालिकामा पनि संक्रमण फैलिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले एकसाता विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै वीरगञ्ज महानगरपालिकाले बैशाख २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । परीक्षा सम्पन्न गरेपश्चात विद्यालय बन्द गर्ने महानगरपालिकाको शिक्षा शाखाको निर्णय छ । काठमाडौँको वृहस्पति सदनले पनि एक हप्ताका लागि विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।
यस्तै निजी विद्यालय सञ्चालकहरुको संस्था विद्यालय बन्द नगर्न भनिरहेका बेला प्याब्सन रुपन्देहीले एक हप्ता विद्यालय बन्द गर्ने घोषणा गरेको छ । यसबाहेक अरु स्थानीय तहले पनि विद्यालय बन्द गर्ने क्रम तीव्र पारेका छन् ।
संक्रमण बढ्दै गएपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र कांग्रेस निकट विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विद्यालय बन्द गर्न आह्वान गरेका छन् । यस्तै राष्ट्रिय अभिभावक महासंघले पनि विद्यालय बन्द गर्न आह्वान गरेको छ ।
तर अहिलेसम्म शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने औपचारिक सूचना जारी गरिसकेको छैन । चौतर्फी दबाब बढेपछि शिक्षा विभागले सूचना जारी गरेर विद्यालय बन्दका लागि आह्वान गर्ने तयारी गरेको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया