शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

दिगो जलविद्युतको साथ अझ राम्रो र हरियाली निर्माण गर्ने अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ-  जलविद्युतलाई वातावरण र मौसम परिवर्तनसँग जोड्दै यसको दीगो विकास, विद्युतको क्षेत्रीय व्यापार, लगानी र भविष्यबारे सघन छलफल गरी निष्कर्ष निकाल्ने उद्देश्यले आजदेखि काठमाडौँको होटल हायातमा ‘दीगो जलविद्युतको साथ अझ राम्रो र हरियाली निर्माण गर्ने अन्तर्राष्ट्रिय सम्मेलन’ सुरू भएको छ । 

विश्वमा बढ्दै गइरहेको जिवाष्मा इन्धन खपत खटाई हरियो ऊर्जा (ग्रीन इनर्जी) लाई कुनै एक देशमा मात्र सीमित नगरी क्षेत्रीय रुपमै यसको उत्पादन, व्यापार र उपभोगसम्बन्धी साझा बाटो तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल हाइड्रोपावर एसोसिएसन र इन्टरनेशनल हाइड्रोपावर एसोसियसनको संयुक्त पहलमा आयोजित उक्त सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ । सम्मेलनको उद्घाटन गर्दै ऊर्जा मन्त्री पम्फा भुसालले नेपालले भारतसित विद्युत् व्यापार गरिसकेको र नेपालमा दीगो जलविद्युत् निर्माणका लागि सरकार लागिपरेको बताइन् ।
उनले गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले भारतलाई तीन अर्ब ८४ करोड रुपैयाँको बिजुली बिक्री गरेको जानकारी दिँदै चालू आर्थिक वर्षमा भारतलाई १६ अर्ब रुपैयाँको बिजुली निर्यात गर्ने उल्लेख गरिन् ।

उद्घाटन सत्रमा राष्ट्रसंघीय वातावरण कार्यक्रमका पूर्व कार्यकारी निर्देशक एवं इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनका बोर्ड सदस्य एरिक सोल्हेमले जलविद्युतकाे दीगो विकासका लागि सबै खाले नीतिहरू वर्तमान वातावरणीय समस्यासँग आबद्ध गर्नुपर्ने बताए । उनले रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपमा ऊर्जाको अभाव भएको उल्लेख गर्दै अब युरोपले जलविद्युत्, सौर्य ऊर्जा उत्पादनमा लाग्नुपर्ने अवस्था आएको बताए । ‘सौर्य ऊर्जा विश्वमै सस्तो हुँदै गएको र हरित अर्थतन्त्रका लागि यसको अपरिहार्य भएको छ,’ उनले भने ।

इन्टरनेशनल हाइड्रोपावर एसोसियसनका प्रमुख कार्यकारी अधिकृत एडी रिचले सन् २०२१ मा विश्वमा उत्पादन भएको ऊर्जामा जलविद्युतकाे योगदान १६ प्रतिशत रहेको जानकारी दिँदै वातावरण र दीगो विकासका लागि जलविद्युतकाे विकल्प नभएको बताए ।

उद्घाटनपछि सुरू भएको ‘दीगो जलविद्युत् विकास नीति : वृद्धिलाई टेवा’ सत्रमा भुटानको ड्रुक ग्रीन पावर कर्पाेरेशन लिमिटेड का प्रबन्ध निर्देशक छेवाङ रिन्जिनले नेपालले भुटानमा विकास भइरहेको जलविद्युतका बारेमा कुरा गर्ने गरेको र अहिले आएर भुटानले नेपालमा विकास भइरहेको जलविद्युतका बारेमा कुरा गर्न थालेको बताए ।

भुटानको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा जलविद्युतको योगदान १४ प्रतिशत रहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक रिन्जिनले नेपालमा तीव्र रूपमा भइरहेको जलविद्युत् विकासका लागि नेपाली जनतालाई बधाई दिए । उनले आफ्नो देशमा प्राकृतिक स्रोतलाई रणनीतिक विषयका रुपमा लिइएको र जलविद्युतमा निजी क्षेत्रलाई रोक लगाइएको सन्दर्भ पनि उल्लेख गरे ।

उक्त सत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् १९९० अघि जलविद्युत् भन्ने कुरा सरकारले मात्र बनाउनुपर्छ, विश्व बैंक, एसियाली विकास बैक लगायत द्विपक्षीय ऋण तथा अनुदानमा मात्र बनाउनुपर्छ भन्ने सोच रहेको उल्लेख गरे ।

त्यतिबेला एकल आयोजना अध्ययन हुने, एकल आयोजना निर्माणमा जाने र केही गरी त्यो बन्न नसके पूरै प्रणाली नै धराशायी (सिष्टम कोल्याप्स) हुने परिपाटी रहेको उल्लेख गर्दै घिसिङले भने, ‘हामीले निजी क्षेत्र (चिलिमे) सुरू गरेपछि ४९ प्रतिशत नेपाली जनताको शेयर रहने गरी निजी क्षेत्रले फड्को मार्न सफल भयो ।’

कुनै बेला बढीमा १० मेगावाटका जलविद्युत् आयोजना पनि निजी क्षेत्रले आँट गर्न नसकेको तर अहिले आएर निजी क्षेत्रको विश्वास र उत्साह दुवै बढेर २, ३ सय मेगावाटका आयोजनामा सरिक भएको घिसिङले बताए । ‘निजी क्षेत्रलाई विद्युत् बजारको सुनिश्चितता दिलाउन हामी (प्राधिकरण) ले जोखिम मोलरै ६ हजार मेगावाटभन्दा बढीको लिऊ वा तिर ढाँचामा विद्युत् खरिद सम्झौता गरेका छौं,’ घिसिङको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, लगानी बोर्ड, काठमाडौँ विश्वविद्यालय, बुटबल पावर कम्पनी, जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) विश्व बैंक, युरोपियन युनियन, अमेरिकी सहयोग नियोग, भारतको केन्द्रीय विद्युत् प्राधिकरण, विश्व बैंकको आईएफसी, नेदरल्याण्ड विकास बैंक (एफएमओ), इसिमोड, एसियाली विकास बैंक, डोल्मा इम्प्याक्ट फण्ड, पावर चाइना इन्टरनेशनल, एन्ड्रिज हाइड्रोलगायतको सहभागिता छ ।

यो सम्मेलन भोलि पनि सञ्चालन हुनेछ । भोलिको सत्रमा जलविद्युत् मापदण्ड, जलविद्युतमा लगानी, जलविद्युतको भविष्यबारे छलफल हुनेछ ।