सभामुखलाई टिकटका लागि बस्नेतसँगै आफ्नै भतिज बाधक

काठमाडौँ- आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनका लागि सिन्धुपाल्चोक संघीय क्षेत्र न १ बाट सभामुख अग्निप्रसाद सापकोटा सिफारिस भए । माओवादी केन्द्र सिन्धुपाल्चोकले उनको नाम नम्बर १ मा राखेर सिफारिस गरे पनि टिकटको सवालमा भने त्यति सहज देखिँदैन ।
उता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत अवरोध बनेका छन् भने माओवादीबाट सभामुखकै भतिज माधव सापकोटा ‘सुवोध’ बीचमा उभिएका छन् । सुवाेध माओवादीका केन्द्रीय सदस्य हुन् । माओवादीबाट सुवोध पनि यस क्षेत्रमा सिफारिस हुनुका साथै उनको दाबी रहेका कारण सभामुख सापकोटाले टिकट पाउने सवालमा टिकाटिप्पणी हुन थालेको छ ।
२०६४, २०७० र २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट उम्मेदवार बनेर जितको ह्याट्रिक गरेर सापकोटा सभामुखसमेत भए । र, पनि सापकोटाले यसपटक उम्मेदवार भएर फेरि जित्ने दाऊमा छन् । उनको मनस्थितिमा अवरोध बनेर उभिएका छन् सुवोध । पटक-पटक मन्त्री र सभामुख भएर पनि सिन्को नभाँचेको आरोप खेप्दै आएका सभामुख सापकोटाले टिकट पाइहाले पनि जित निकाल्न भने त्यति सहज नहुने सिन्धु राजनीतिक वृत्तमा चर्चा सुरू भइसकेको छ । बरु सुवोधलाई भने जित्न सहज हुनसक्ने आँकलन सिन्धुपाल्चोकमा छ ।
त्यसो त पटक-पटक काका सभामुख सापकोटाकै कारण आफ्नो राजनीतिक भविष्य अन्यौल रहेको निष्कर्ष निकाल्दै भतिज सुवाेधले यसपटक पनि काकाको नाउँमा फेरि सती जान नसक्ने बताउँदै आएका छन् । उनले हरतरहले टिकट आफूले पाउनका लागि वातावरण बनाउँदै गएको र अन्तिममा यस विषयलाई लिएर काका सभामुख सापकोटासँग वार्ता गर्ने मुडमा रहेको उनीनिकट कार्यकर्ताहरू बताउँछन् । 'अब युवालाई मौका दिएर अग्नि सर समानुपातिकमा बस्नु भयो भने राम्रो हुन्छ,' एक कार्यकर्ताले भने । ती कार्यकर्ताकै जस्तै माओवादी सिन्धुपाल्चोकभित्र पनि अधिकांश कार्यकर्ताको चाहना सभामुख सापकोटा समानुपातिकमा बसेर संरक्षकको भूमिकामा रहोस् भन्ने छ तर सभामुख सापकोटा यसपटक पनि उम्मेदवार बन्ने मुडमा छन् ।
अग्नि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकै नजिकका मानिन्छन् । त्यसैले पनि अग्निलाई टिकट आफ्नो नाममा ल्याउन सहज छ । अग्निको क्षेत्र सिन्धुपाल्चोक–१ पछिल्लो समयदेखि माओवादीले जित्दै आएको छ । गठबन्धनको आन्तरिक सहमति पनि यसअघि जितेको ठाउँमा सोही पार्टीलाई दिने भन्ने छ ।
फेरि, यो क्षेत्रमा अग्निले टिकट ल्याएमा जितका लागि उही भतिज सुवोधको सहयोग अपरिहार्य हुन्छ । यसअघिका सबै निर्वाचनमा सुवोधको भूमिका अब्बल रहँदै आएको पनि हो । सुवाेध भुईं तहलाई कार्यकर्ता तथा नागरिकले समेत चिन्दछन् । उनी गाउँमै रहेर राजनीति गर्ने नेता हुन् । ग्रास लेबलका जनतासँग पनि राम्रो सम्वन्ध भएका कारण पनि सुवाेधको सहयोगबिना सभामुख सापकोटाको विजय भने सम्भव छैन ।
सभामुख सापकोटाको उम्मेदवारको बाटोमा भतिज सुवाेध मात्र हैनन् नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत पनि तगारो छन् । पाँच दलीय गठबन्धन भए पनि नभए पनि सो क्षेत्रमा आफूले कुनै पनि हालतमा नछाड्ने अडान बस्नेतले राख्दै आएकाले पनि अग्निलाई सकस छ ।
पूर्व मन्त्रीसमेत भइसकेका बस्नेतको सभापति शेरबहादुर देउवासँग राम्रो सम्वबन्ध छ । त्यही सम्बन्धका कारण पनि बस्नेत टिकट पाउनका लागि हात धोएर पछि लागेका छन् भने सभामुख सापकोटालाई जिताउन आफू बलिको बोका नबन्ने उनले बताउँदै आएका छन् । नेपाली काँग्रेसबाट गठवन्धनको नाउँमा यसपटक टिकट पाएन भने आफू स्वतन्त्र रूपमा उम्मेदवार हुने सार्वजनिक अभिव्यक्ति पनि उनले दिँदै आएका छन् । सिन्धुपाल्चोक–१ कांग्रेसको पकड भएको क्षेत्र हो । यहाँ माओवादीको भन्दा कांग्रेसको मत दोब्बर छ । यो स्थानीय तहको परिणामले देखाएको हो ।
यता बस्नेतलाई समानुपातिकमा राखेर सभामुख सापकोटालाई गठबन्धनको साझा उम्मेदवार बनाउने कसरत भएको भन्दै बस्नेत समर्थित कार्यकर्ताहरूले बस्नेतलाई नै टिकट दिनुपर्छ भनेर सभापति एवम् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गर्नै जस्ता क्रियाकलापलाई तीव्रता दिएको छ ।
सभामुख सापकोटा र बस्नेत मध्य कसले टिकट हात पार्ला त्यो त गठबन्धनले निर्णय गर्ने नै छ । तर, सशस्त्र युद्धको प्रारम्भबाट नै काका अग्निप्रसाद सापकोटासँगै युद्धमा होमिएका र काका सापकोटालाई जिताउन हरेकपटक आफ्नो राजनीतिक भविष्य नै दाऊमा राख्दै आएका सुवोधमध्ये कसले टिकटमा बाजी मार्ला त्यो भने सिन्धुवासीका लागि चासोको विषय बनेको छ । काकाकै कारण सुवाेध यसअघि ब्याक हुँदै आएका थिए ।
उनका समकक्षीहरू सांसद भए । मन्त्री भए । तर, उनले माओवादीमा खास अवसर पाएका छैनन् । त्यसै कारण उनी यसपटक अगाडि बढ्ने मनसायमा छन् ।

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

प्रतिक्रिया