कानुन पढिरहेका यी आठ युवा : राजनीतिबारे के सोच्छन्, के चाहन्छन् ?

काठमाडौं – मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । बितेको संसद्-सरकारले पनि कानुनी शासनमा कुनै उल्लेख्य काम नगरेको बरू देश बर्बादीको नजिक आइपुगेको व्याख्या हुँदै छ । देश बर्बादै भइसक्यो र नेताहरू खत्तम भए भन्ने आवाज जताततै सुनिन्छ ।
यस्तोमा युवाहरू हालको राजनीतिबारे के सोच्छन्, के चाहन्छन् भन्ने खोतल्नु आवश्यक छ । पढेलेखेका अझ कानुन नै पढिरहेका केही युवाहरुलाई हामीले राजनीति-निर्वाचनबारे प्रश्न सोधेका छौं ।
कानुन बुझेका पुस्ताले आगामी चुनावलाई कसरी हेरेका छन् ? युवा पुस्तालाई ‘चेतनाका संवाहक’ भनिन्छ । उनै युवाले कस्ता प्रतिनिधि रोज्लान् ? निर्वाचन नजिकिएकाे छ । दुई महिनाभन्दा धेरै समय छ । भोट दिन गृह जिल्ला जानुपर्यो । कानुन पढेका, बुझेकाले घरमा के भन्लान् ? समाजमा के सिकाउलान् ?
प्रस्तुत छ उनीहरूको धारणा उनीहरूकै शब्दमा :
उम्मेदवारको सामाजिक प्रोफाइल हेरौँ
मनिषा थापा मगर, कञ्चनपुर
बीए एलएलबी नवौं सेमेस्टर, पृथ्वी नारायण क्याम्पस
कुनै पनि राज्य सञ्चालनमा कानुन बुझेको मान्छे हुनुपर्छ । प्रत्येक घरमा कानुन बुझेको मान्छे हुनुपर्छ । त्यसैले कानुन पढेकी हुँ ।
राजनीतिबाट कोही अछुतो रहन सक्दैन । राजनीतिलाई खेल भन्दा पनि प्रक्रियाका रूपमा हेर्नुपर्छ । ‘चेक एन्ड ब्यालेन्स’ अपरिहार्य हुन्छ । उम्मेदवारसँग उनीहरूले सम्पन्न गरेका कामका विवरणहरूको खोजी गर्नुपर्छ हामीले । प्रश्न उठाउन पर्छ ।
मैले आफ्नो उम्मेदवार छान्दा राम्रो सोच भएका मानिसहरू जो सामाजिक काममा पनि अब्बल छन् त्यस्तालाई छान्छु । उम्मेदवारको सामाजिक ‘प्रोफाइल’ हेरेर भनौं न ।
भोट गरेर मान्छे जिताएर मात्रै हुँदैन । के काम गर्नुभयो भनेर बेलाबेला झक्झकाउनु पनि पर्ने हुन्छ । त्यसका लागि प्रतिनिधि पनि उस्तै हुनुपर्यो ।
०००
गाउँका सबै गुनासा समेटेर नेतालाई पत्र लेख्छु
खलिद अन्सारी, सुनसरी
बीए एलएलबी, दोस्रो सेमेस्टर, नेपाल ल क्याम्पस
मेरो गाउँ भएको ठाउँमा न हेल्थ पोस्ट छ, न बाटो छ । २०४६ सालदेखि आजसम्म केही पनि प्रगति छैन । त्यहाँबाटै निर्वाचित भएर कति नेता प्रधानमन्त्री सांसद भएका छन् । गिरिजाप्रसाद, उपेन्द्र यादवदेखि लिएर ज्ञानेन्द्रबहादुर कार्की सबै यहीँबाट सांसद भएका हुन् तर परिवर्तन न्यून छ । हाम्रो ठाउँको हालत उस्तै छ । विकासको नाममा केही छैन ।
यसपालि म गाउँका सबै गुनासा समेटेर पत्र लेख्छु । अति भइसकेको छ । पत्र लेखेर माननीय मन्त्रीलाई बुझाउँछु । खाली आश्वासन दिएर मात्रै जान्छन् । जितेर फेरि फर्केर आउँदैनन् ।
हाम्रो ठाउँमा न त शिक्षाको सुविधा छ न केही । धेरै गरिब परिवारहरू छन् । दलितहरू छन् । मुसहर जातिको बसोबास छ । बालबालिका १०÷१२ वर्षमै काममा जानुपर्ने बाध्यता छ । पढ्न पाउँदैनन् । कहाँ सुधार गर्नुपर्ने हो ? कसरी पढ्न प्रोत्साहन गर्नुपर्ने हो ? कुनै योजना छैन । कुनै कार्यक्रम छैन ।
स्वास्थ्य क्षेत्र पनि उस्तै । नजिकै एउटा स्वास्थ्य चौकी छैन । महिलाहरूको सुत्केरी हुने समयमा एम्बुलेन्स चाहियो । बाटोको राम्रो सुविधा नहुँदा एम्बुलेन्स आइपुग्न मात्रै दुई घन्टा लाग्छ । कहिले सुध्रने ? मेरै परिवारले समस्या भोगेको छ । मेरै छिमेकीले यस्ता कैयौं समस्या भोगेका छन् । बाटोसमेत ग्राभेल गरेका छैनन् अझै । अफ्ठयारो भएर एम्बुलेन्स बोलाए पनि दुई घन्टा लाग्छ ।
जनप्रतिनिधिले यस्तो दृश्य कतिञ्जेल टुलुटुल हेरेर बस्ने ?
०००
गुन्डागर्दी र ठेक्कापट्टामा सक्रियहरु सिफारिस भएका छन्
रिजन नरसिंह केसी, सल्यान
बीए एलएलबी चौथो सेमेस्टर, नेसनल ल कलेज
नेता स्वतःस्फूर्त हुनुपर्छ । रोस्टममा दरिलो भएर गाउँ, समाजका मुद्दाहरूलाई उठाउन सक्ने व्यक्ति रोज्नुपर्छ । मेरो विचारमा समाज चिने–बुझेको मान्छे उम्मेदवार हुनुपर्छ ।
राजनीतिक दलका प्रमुखहरूले पनि नैतिक धरातल राम्रो भएकालाई उम्मेदवार सिफारिस गर्नुपर्यो । अहिले बुझ्दा गुन्डागर्दी, ठेक्कापट्टामा सक्रिय मान्छेहरू मात्र सिफारिस भएको देखिन्छन् ।
नीति निर्माणमा सरोकार राख्ने व्यक्ति हुनुपर्यो । हामी आशावादी छौं पक्कै योग्य उम्मेदवार आउनुहुनेछ । बृहत् तहमा अन्तक्र्रिया हुनुपर्यो । एक भोटको पनि कति महत्व छ । मेरो एक भोटले मेरो तहमा मैले चुनेका उम्मेदवार आउँछन् ।
०००
अबको उम्मेदवार ‘पर्यटक उम्मेदवार’ नहोस्
राजेन्द्र पराजुली, ओखलढुंगा
बीए एलएलबी, सातौं सेमेस्टर, पृथ्वी नारायण क्याम्पस
२०६४ सालको चुनावमा बाटोको नाममा एजेन्डा बोकेर २०७० सालमा फेरि उही बाटोको नाम पारेर धुलो उडाउँदै भोट माग्न आएका ‘सोकल्ड’ युवा नेता, २०७४ सालको चुनावमा पनि उही पुरानो अनुहार । बाटो उस्तै ‘धुलो’ । बत्तिको राजनीति । बिजुलीका पोल गाडिए । यस्तै रहेछ, विकासको नाम भनौं न ।
पुल बन्न सकेको छैन । २०७९ मा फेरि पुललाई एजेन्डा बनाएका छन् । ‘चुनावी सेन्टिमेन्ट’ भनौं न । ६० भन्दा कम उमेर त पक्कै छैन । सायद त्यही उमेर समूहकालाई ‘युवा नेता’ भन्छन् क्यार ।
ओखलढुंगाले के पायो त आखिर ? सधैं झोले भएर चल्छ ? यो पटक विचार गर्नुपर्छ ।
अबको उम्मेदवार ‘पर्यटक उम्मेदवार’ नहोस् । ठाउँ बुझेको होस् । भूगोल बुझेको होस् । माटो बुझेको होस् । पार्टीको ‘हनुमान’ नहोस् । भावनात्मक रूपमा मेरो प्यारो ओखलढुंगासँग जोडिएको होस् । अनि पो काम गर्छन् । अनि पो जिम्मेवार हुन्छन् । नत्र उस्तै छ । नेताहरू सच्चिन जरुरी छ । आफ्नो शैली परिवर्तन गर्नु आवश्यक छ ।
००
मेरो हजुरबुवाले भोगेका नेता मैले पनि भोग्नु ?
सुशान्त पराजुली, पोखरा
बीए एलएलबी, चौथो सेमेस्टर, नेपाल ल क्याम्पस
मेरो सोचाइसँग मेल खाने उम्मेदवारलाई म भोट दिन्छु । मैले भोलि जुन समाज कल्पना गरेको छु त्यस्तै समाज बनाउन सक्ने हुनुपर्यो । गणतन्त्र बुझेको मान्छे हुनुपर्यो । अभिव्यक्त गर्ने स्वतन्त्रता नि मैले गुमाउनुपर्यो भने त्यस्ता व्यक्तिलाई म भोट किन दिने ?
आफ्नो धरातल पनि बिर्सने मान्छे उम्मेदवार भएर के फाइदा ? जुन समाजबाट आएका हुन् सोही समाजका कुरा पचाउन सक्दैनन् भने उनीहरूले हाम्रो समस्यालाई कसरी सम्बोधन गर्लान् ?
‘संसदीय अभ्यास’ नबुझेका मान्छेलाई भोट किन दिने त ? यदि ‘राजनीतिमा सेटल’ हुनलाई मात्र उम्मेदवार हुने हो भने हाम्रो क्षेत्रलाई के फाइदा ? समग्र राज्यलाई के उपलब्धि ?
‘मेरो हजुरबुवाले, बुवाले भोगेका नेता मैले पनि भोग्नु ?’ पछिल्लो समय निर्वाचित जनप्रतिनिधिले के उपलब्धि गर्नुभयो म त अनभिज्ञ छु यो बारे । केही प्रगति छैन । परिवर्तन चाहाने हो भने प्रतिनिधि पठाउने ‘प्यार्टन’ पनि परिवर्तन गर्नुपर्छ ।
डिजिटल प्रविधिको युगमा निर्वाचन पनि डिजिटल हुनुपर्छ । नत्र ढुङ्गे युगमा फर्के बराबर हुन्छ ।
०००
राजनीति त भर्ती केन्द्र जस्तो पो भयो यहाँ
रेवन्त ढकाल, कैलाली
बीए एलएलबी, दोस्रो सेमेस्टर, नेपाल ल क्याम्पस
पार्टीभन्दा माथि देशलाई राख्ने उम्मेदवार हुनुपर्छ । जनताका विचारलाई सम्मान गर्ने हुनुपर्छ ।
भिजन र मिसन भएका व्यक्ति आउनुपर्छ । विकासको खाका हुनुपर्यो । घोषणापत्रमा मात्रै सीमित नभएर काम पनि गर्नुपर्यो । म यस्ता–यस्ता कामहरू गर्नसक्छु भनेर आफ्नो ‘पर्सनल’ घोषणापत्र बनाउनुपर्छ अबका उम्मेदवारहरूले ।
जसले पनि कुरा मात्रै ठूलो गर्ने के । स–साना कुरा जस्तै आधारभूत आवश्यकताहरू पूरा गर्न सक्ने उम्मेदवार छान्नुपर्छ । निर्वाचित भएर आएको क्षेत्रमा यी कुरामा विशेष ध्यान दिनुपर्छ ।
स्थानीय तहको चुनावमा मेयरको टिकट नपाएकाहरूले अहिले पाएका छन् । ‘भर्ती केन्द्र’ जस्तो भयो के यहाँ त । उही पुराना अनुहार । युवाले चान्स पाउनलाई स्वतन्त्र उठ्नुपर्यो । नत्र १०० मा एक पनि मुस्किलले पाउँछन् ।
पार्टी भित्रै पनि स्वतन्त्र हुनुपर्छ । गलत कुराको खबरदारी गर्न सक्ने हुनुपर्छ ।
०००
बीपी र मदन भण्डारीको नाम बेचेर कतिन्जेल खाने ?
हृदयन्द्रजंग शाही, सुर्खेत
बीए एलएलबी, दोस्रो सेमेस्टर, नेसनल ल कलेज
ओहो ! उही पुराना उम्मेदवार ।
चार/पाँच पटक उठिसकेका प्रतिनिधिहरू । सर्वप्रथम त नयाँ उम्मेदवार आइदियोस् भन्ने हो । परिवर्तन आउला भन्ने आशा नै छैन । युवाहरूले आफ्नै पार्टी भित्रबाट भए पनि उठ्ने आँट गर्नु जरूरी छ । जित्लान्, नजित्लान् त्यो छुट्टै कुरा हो ।
भन्न त युवा उमेरले होइन, सोचले हुनुपर्छ भन्छन् । उहाँहरूको बद्लिँदै नबद्लिने सोच छ । अहिलेका युवामा ‘रिसर्च’का कुरा, ‘भिजन’का कुरा छन् । जस्तै केही समय अगाडि बालेन शाहले आफ्ना एजेन्डाहरू सार्वजनिक गरेका थिए । फोहोर व्यवस्थापनदेखि लिएर कैयौं कुरा । ‘प्रोब्लम’ देखाउँदा ‘सोलुसन’सहित पेस हुनुपर्छ ।
जनप्रतिनिधिले आफ्ना एजेन्डा सार्वजनिक गर्नुपर्यो । स्पष्टरूपमा जनतालाई आफ्नो ‘भिजन’ देखाउन र बुझाउन सक्नुपर्छ ।
हामी ‘फ्रस्टेटेड’ छौं । वितृष्णा छ हामीमा । जे हेर्दा पनि गलत नै देख्ने भैसकेका छौं । एमसीसी, एसपीपी, नागरिक विधेयक यस्तो, उस्तो भन्ने वितृष्णा छ । प्रणालीगत तरिकाले चल्न सकेन । न्यायपालिका हेर्यो त्यस्तै । शक्ति र पैसा हुनेले सबै नियन्त्रणमा लिएका छन् ।
जो गरीब छन्, उनीहरू झन् गरीब भएका छन् । बरू राजा हुँदै ठिक थियो भन्ने लहर पनि चलेको छ । भन्न थालिसके । विश्वव्यापीकरण हुँदा पनि अझै सिस्टमेटिक हुन सकेको छैन ।
आउँदो चुनावमा पनि जनताका वितृष्णा देखिन्छन् नै । विनासंसद् प्रधानमन्त्री हुन्न । काँग्रेसले बीपीको नाम बेचेर, एमालेले मदन भण्डारीको नाम बेचेर कतिन्जेल खाने ? नत्र स्वतन्त्रलाई थ्रेटका रूपमा लिनुपर्ने स्थिति हुन्छ ।
समग्रमा नयाँ, ऊर्जाशील व्यक्ति आउनुपर्छ । ‘सक्षम’, ‘सबल’ अनि ‘सुदृढ’ ।
०००
नेताले झोले कार्यकर्ता भेटेर मात्रै हुँदैन क्या !
मुहम्मद औरगंजेब अन्सारी, पर्सा
एलएलबी, नेपाल ल क्याम्पस
कोही पुराना छन् । कोही नयाँ । शिक्षित, इमानदार, आफ्नो कामप्रति लगाव भएका उम्मेदवार हुनुपर्छ ।
निर्वाचन क्षेत्र घर अनि उम्मेदवार आमा जस्तै हुनुपर्छ । जस्तै आमाले कहिल्यै पनि आफ्नो सन्तानको नराम्रो हेर्न चाहाँदैनन् । घरको माया आमाले भन्दा बढी कसैले गर्न सक्दैनन् । आमाको नजर प्रगतिमा नै केन्द्रित हुन्छ के । उम्मेदवारको भावना त्यस्तै हुनुपर्यो ।
संसदीय कोषको पैसा कहाँ खर्च भयो ? के कामका लागि खर्च भयो ? कुनै पारदर्शिता छैन । नेताले झोले कार्यकर्ता भेटेर मात्रै हुँदैन क्या ! ‘ड्याट इज नट इनफ’ ।
सबैको पीडा सुनिदिनुपर्छ । भोट दिएकालाई मात्रै भेट्ने ? गुनासो, दुःख, पिर सबैको सुने पो जनप्रतिनिधि नत्र कसरी जनप्रतिनिधि मान्ने ? कुन आधारमा ? नेतृत्व वर्ग समावेशी हुनुपर्छ ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया