तेम्बाथानमा मोटर कहिले आउला...

काठमाडौँ- उमेरको गणितले ७० पार गरेकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित तेम्बाथानकी पासाङ शेर्पा हिँड्न सक्दिनन् । सरकारले हरेक महिना चार हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन्छ । प्रत्येक तीन महिनामा एकमुस्ट भत्ता लिन हिँड्दा उनी जति खुसी हुन्छिन् ओरालो झर्दाझर्दै त्यो खुसी बीच बाटोमै गायब हुन्छ ।
सामाजिक सुरक्षा भत्ता लिन उनलाई निकै सकस हुन्छ । भत्ता लिन उनले कम्तीमा चार दिन खर्चिनुपर्छ । बिजुली, सडक नपुगेको उनको गाउँ तेम्बाथानबाट भत्ता लिन दुई दिनको पैदलबाट जुगल–५स्थित बराम्ची बजार आइपुग्नुपर्छ । ‘हिँड्न सक्दिन, अहिले भत्ता लिन ढाँडे बजार पुग्न साह्रै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘भत्ता लिन बैंक जानुपर्ने हुन थालेपछि पैसा पनि निकै खर्च हुन्छ ।’
संघीय राजधानी काठमाडौँबाट एक सय किलोमिटर मात्रै टाढा छ उनको गाउँ । तर, आजसम्म सडक र विजुली नपुगेकाले यहाँका अधिकांश स्थानीयवासीलाई मोटर कस्तो हुन्छ भन्नेबारे अनविज्ञ छन् । सडक नपुगेकै कारण बैंक पुगेर घर आइपुग्दा चार दिन लाग्ने हुँदा यात्रा खर्चिलो भएको हो ।
तेम्बाथानकै फुर्वा शेर्पा भन्छन्, ‘महिनाको चार हजारको दरले सरकारले तीन महिनामा १२ हजार दिन्छ,’ उनले भने, ‘तर, आठ हजार जति आउजाउमै खर्च हुन्छ ।’ यहाँका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि दुई दिन पैदल हिँडेर जुगलको डाँडे बजार पुग्नुपर्ने बाध्यता छ । हिउँदमा तेम्बाथानबाट यातायातको पहुँच भएको स्थान गुम्बाथानमा एक दिनको पैदलबाट आइपुगिन्छ । ‘बर्खामा भने पुरै दुई दिन लाग्छ, उनी भन्छन्, ‘आठ हजारभन्दा बढी पैसा खाना , खाजा र बास बसेकै ठाउँमा खर्च हुन्छ ।’ उनले आउजाउ र होटलमा बास बस्नुपर्दा यो पैसा खर्च हुने गरेको सुनाए ।
तेम्बाथान मात्रै नभई नजिकका बस्तीहरू तेगा, दिपु, साङ्लुङका स्थानीयले समेत यो सकस भोगिरहेका छन् । भत्ता लिन जाँदा र फर्कँदा चार दिनको पैदल यात्रा गर्नुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उनको गुनासो छ । हिँडेर जान नसक्ने भएपछि यहाँका केही ज्येष्ठ नागरिकले अरु युवालाई मञ्जुरीनामा दिएर पनि पठाउने गरेका छन् । तर, त्यसरी दिएर पठाउँदा झनै पैसा नै हात नपर्ने गरेको ज्येष्ठ नागरिकहरूको गुनासो छ ।
यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँथे । गाउँ नजिक बैंक नभएकै कारण उनीहरूले पैसा र समय खर्चिनुपरेको हो । १ सय १० भन्दा बढी घरधुरी रहेको यहाँको बस्तीका जेष्ठ नागरिक, अशक्त यसरी पैदलबाट बैंक आइपुग्ने गरेका छन् । भत्ता लिन संरक्षक बसेकाहरू पनि बैंकिङ प्रणाली लागू भएयता लगातारको हिडाई र खर्चले निकै कष्ट खेप्नुपरेको स्थानीय पासाङ शेर्पा बताउँछन् । राज्यले ज्येष्ठ नागरिकहरूले पनि बैंक खाताबाट नै पैसा निकाल्नुपर्ने योजना बनाए पनि सडक सञ्जाल नपुगेका दुर्गम भेगका ज्येष्ठ नागरिकलाई यसले सास्ती दिएको उनको गुनासो छ ।
सिन्धुपाल्चोकको सबैभन्दा उत्तरी भेगमा पर्ने जुगल हिमाल फेदीको गाउँमा पुग्न मात्रै जिल्लाको गाडी पुग्ने बिन्दु बोल्देबाट कम्तीमा १ दिनको अक्करे भीरको उकालो छिचोल्नुपर्छ । गाउँमा स्वास्थ्य चौकी नभएकै कारण सामान्य विरामीले पनि रोग पालेर बस्नुपर्छ । कि त हेलिकोप्टर चार्टर गरेर राजधानी पुग्नुपर्छ उपचारका लागि । घरबाट टाढा रहेका आफ्ना आफन्तको खबर लिन पनि आफै पुग्नुपर्छ, कारण सञ्चार सेवा यहाँ अझै पुग्न सकेको छैन ।
सडक सञ्जाल नभएकै कारण विरामीलाई उपचार गराउन तेम्बाथानवासीले होलिकोप्टर प्रयोग गर्न बाध्य छन् । वडा नम्बर ३ ले तेम्बाथानलाई सडक सञ्जालमा जोड्नका लागि सुरुवात बजेट हालेपछि हेलिकोप्टरको महंगो भाडा तिर्न नपर्ने स्थानीय जितेन तामाङको आशा छ । ‘अहिलेसम्म यहाँका बासिन्दाले हेलिकोप्टर प्रयोग गर्दै आइरहेका छन्’ उनले भने, ‘हेलिकोप्टरबाट काठमाडौँ लगेको पैसा तिरेको ऋण धेरैले अझै तिर्न सकेका छैनन् ।’ वैदेशिक रोजगारीका क्रममा युवाहरू मलेसिया, कतारलगायतका देशमा छन् । गाउँ युवाविहिन छ । गाउँमा युवा नभएका कारण स्ट्रेचरमा बोकेर लैजाने अवस्था पनि छैन । सडक सुविधा नभएकै कारण थोरै पैसाले हुने उपचारको लागि पनि लाखौं खर्च गर्नुपर्ने बाध्यता छ ।
हिमाली गाउँ तेम्बाथानका बासिन्दाको प्रमुख आयस्रोत चौरीपालन हो । आलु, कोदो र जौ खेती पनि हुने गर्छ । स्थानीय कामी शेर्पा भन्छन्- ‘बत्ती नभएकाले टेलिभिजन हेर्न पाइँदैन, रेडियो यो गाउँमा बज्दैन ।’ उनकाअनुसार तलतिरका बजारबाट कोही आएमा मात्रै बाहिरको खबर थाहा पाइने गरेको छ । गाउँवासीलाई आवश्यक पर्ने नुन, तेल पैदल हिँडेर उकालो छिचोल्दै ल्याइपुर्याउने गरेका छन् ।
तेम्बाथानमा एउटा आधारभूत विद्यालय छ । बालबालिकाहरू आधारभूत तह उत्तीर्ण गरेपछि पढाई छाड्न बाध्य हुन्छन् । गाउँमा रहेको तेम्बाथान आधारभूत विद्यालयमा कक्षा ५ सम्म अध्ययन हुन्छ । शिक्षकहरू बाहिरका भएकाले आलोपालो गर्दै भएकाले पुरै दिन अध्यापन हुँदैन । गाउँमा विद्यालय नभएकै कारण तीनबाट बढी पढ्न नसकिएको स्थानीय मिक्मार शेर्पा बताउँछन् । अर्को विद्यालयमा पुग्न गाउँबाट पाँच घण्टा टाढा जानुपर्ने भएकाले आफूले बीचमै पढाई छाड्नुपरेको उनी बताउँछन् । त्यसमाथि थप भीरको बाटो भएकाले यस्तो समस्या आएको हो ।
जेष्ठ नागरिक र अशक्तहरूले सामाजिक सुरक्षा भत्ता लिन सास्ती भोग्नु परेको वडाअध्यक्ष लक्ष्मण दोङ बताउँछन् । ‘निकै समस्या छ, समाधानका लागि पहल गरिरहेको छु,’ उनले भने, ‘बैंकसँग छलफल चलाउने र कार्यपालिका बैठकमा यो विषयमा कुरा उठाएको छु ।’ उनले यो विषयमात्रै नभई पूर्वाधार विकास, स्वास्थ्य, शिक्षाको सुधारको आवश्यक रहेको बताए । सामाजिक सुरक्षा भत्तामा लापरबाही भएको थाहा पाएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले बैंकिङ प्रणाली लागू गरेको थियो ।

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

प्रतिक्रिया