अभियान थालेको १४ वर्षपछि प्रदेश १ ‘साक्षर’ घोषणा

विराटनगर - नेपाल सरकारले राष्ट्रिय साक्षरता अभियान थालेको १४ वर्षमा प्रदेश १ ‘साक्षर प्रदेश’ घोषणा भएको छ । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र अन्तरगतका १६ मध्ये सप्तरी र सिराहा जिल्ला मधेस प्रदेशतिर गएपछि प्रदेश १ का १४ जिल्लाको साक्षरता प्रतिशतका आधारमा बिहीबार बिहान आयोजिन समारोहमार्फत ‘साक्षर प्रदेश’ घोषणा गरिएको हो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरेको हो । बिहीबार बिहान प्रदेश मुकाम विराटनगरमा घोषणासभा गरिएको छ । सरकारले २०६५ सालमा पहिलो पटक राष्ट्रिय साक्षरता अभियानमार्फत १५ देखि ६० बर्ष उमेरका निरक्षरलाई साक्षर बनाउने भन्दै अनौपचारिक, वैकल्पिक तथा विशेष शिक्षा कार्यक्रम लागू गरेको थियो ।
जस अन्तरगत मुलुकभर प्रौढ कक्षाहरू संचालन भएका थिए । अभियान सुरु भएको १४ वर्षमा प्रदेश १ का १४ जिल्ला साक्षर घोषणा भइसकेका छन् ।
त्यस्तै २०६९ मा दोस्रो चरणको अभियान चलाउँदा हाल प्रदेश १ का सवै जिल्लाको औसत साक्षरता दर ९६ दशमलव ७४ पुगेपछि प्रदेशलाई नै साक्षर घोषणा गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको प्रथम आवधिक योजनामा उल्लेखित सोच ‘शिक्षित नागरिक’ कार्यन्वयन गर्न प्रदेश १ लाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने उदेश्य राखिएको थियो ।
सोही उदेश्य अनुसार ९६ दशमलव ७४ प्रतिशत जनसंख्या साक्षर भएको भन्दै साक्षर प्रदेश घोषणा गरिएको जनाइएको छ । घोषणासभा अघि विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालय अगाडिबाट प्रभातफेरी गरिएको हो ।
जैन भवनमा आयोजित भव्य कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश १ लाई ‘साक्षर प्रदेश’ घोषणा गरेका हुन् ।
कुन जिल्ला कति साक्षर ?
१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति अनुसार गाउँ/नगर साक्षर हुँदै २०७१ असारदेखि साक्षर जिल्ला घोषणाको काम अघि बढाइएको थियो । सोही नीति अनुसार ९५ प्रतिशत बढी नागरिकलाई साक्षर भएको पहिलो पटक २०७२ साउन ९ मा पाँचथरलाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।
सबैभन्दा अन्तिममा २०७९ असार २६ गते सोलुखुम्बु साक्षर जिल्ला घोषणा भएको सामाजिक विकास मन्त्रालयका प्रशासन तथा शैक्षिक योजना महाशाखाका प्रमुख कृष्णप्रसाद पोखरेलले बताए । तथ्यांकअनुसार प्रदेश १ को पहिलो साक्षर जिल्ला पाँचथरमा साक्षरता प्रतिशत ९७ रहेको छ ।
ओखलढुंगा सबैभन्दा बढी ९९.०५ प्रतिशत नागरिक साक्षर भएको जिल्ला हो ।
झापामा ९८.३३, धनुकटामा ९७ दशमलव २५, इलाममा ९७.६२, खोटाङमा ९६.५६, सुनसरीमा ९५.५, तेह्रथुममा ९५.९८ प्रतिशत साक्षरता रहेको जनाइएको छ ।
त्यसैगरी भोजपुरमा ९६.४, उदयपुरमा ९५.३२, मोरङमा ९६.५, संखुवासभामा ९५.६३, ताप्लेजुङमा ९६.४५ र सोलुखुम्बुमा ९६.७४ प्रतिशत जनसंख्या साक्षर रहेका छन् ।
नेपालमा ६० प्रतिशत साक्षरता विद्यालय शिक्षाबाट हुने जनाइएको छ । प्रदेश १ मा ९६ दशमलव ७४ प्रतिशत जनसंख्या साक्षर भए पनि बाँकी रहेको ३ दशमलव २६ प्रतिशत जनसंख्या भने निरक्षर रहेका छन् ।
जसका पूर्ण साक्षर प्रदेश घोषणामा चुनौति कायमै रहेको हो । सन् २०३० सम्ममा मुलुक नै साक्षर घोषणा गर्ने राष्ट्रिय लक्ष्य रहेको छ । सात प्रदेश मध्ये सवैभन्दा पहिले बाग्मती र दोस्रोमा गण्डकी प्रदेश भने साक्षर प्रदेश घोषणा भएका थिए ।
७७ जिल्लामध्ये मधेस प्रदेशका ८ जिल्ला हालसम्म कुनै पनि जिल्ला साक्षर घोषणा हुन सकेका छैनन् । जसका कारण राष्ट्रिय लक्ष्यप्राप्तिका लागि सबैभन्दा ठूलो चुनौती रहेको सरकारको भनाइ छ ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया