खोटाङको अग्लाे हरियाे डाँडा बन्याे पर्यटकीय गन्तव्य
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीको मैस्याङटार आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । अग्लो डाँडामा रहेको, हरिया चौर र वरपर जंगलले घेरिएको मैस्याङटार पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास हुँदै गएको हो ।
मैस्याङटारमा नयाँ वर्ष, दशैंतिहार, साकेला उभौली र मंसिर लागेपछि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पर्यटकीयस्थल मैस्याङटारमा स्थानीय पिकनिक जाने गरेका थिए । तर पछिल्लो समय घुमफिर र भ्रमण गर्ने स्थानीयको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए ।
मैस्याङटारको पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति पार्क, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायतका संरचना बनिसकेको छ । यस्तै, सुम्निमा-पारुहाङ पार्क निर्माणको काम भइरहेको छ । डाँडाका ठाउँठाउँमा बसेर रमिता हेर्न र आराम गर्न फलामका फलैंचा बनाइएको छ ।
मैस्याङटारको डाँडामा शिव-पार्वती, गणेश मूर्ति, गुराँस पार्क निर्माण गर्ने योजना बनाइएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । यस्तै, मैस्याङटारको हरिया चौर र पाखोमा चिया बगान बनाउने, चौरी पालन गर्नेदेखि होमस्टेको योजना अघि सारिएको छ ।
घुमफिरसँगै वरपरका दृश्यावलोकनका लागि स्थानीय मैस्याङटार पुग्ने गरेका छन् । उत्तरका हिमाल सगरमाथादेखि दक्षिणमा तराईका फाँट दृश्यावलोकन गर्न सकिने मैस्याङटारमा मलायो पोखरी, रमणीय चौर, हरिया थुम घुमफिर गर्न सकिन्छ । आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परेपनि दिप्रुङ चुइचुम्माबासीको रोजाइमा मैस्याङटार पर्ने गरेको छ । सफा मौसम भएका बेला तराईका भीमनगरसमेत देखिने वडाध्यक्ष राईले बताए ।
मैस्याङटार पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तीस र सल्लाको जंगल पार गर्दै करिब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ । कुनै चाड वा अवसरका बेला मैस्याङटार पुग्ने स्थानीयले सडकमा पार्किङ गरेको सवारीसाधनले सहरको झल्को दिने गरेको स्थानीय गणेशकुमार कार्कीले बताए ।
परापूर्वकालमा ‘महिलाले हलो जोत्नु हुँदैन’ भन्ने समयमा मैस्याङ नाम गरेकी तामाङ महिलाले खुकुरी भिरेर हलो जोतेर खेती गरेकाले सो डाँडाको नाम नै मैस्याङटार रहन पुगेको इतिहास छ । मैस्याङ दिहुँबाट आएर सो स्थानमा बसेर खेतीपाती गरेर बसेको कार्कीले बताए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया