मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

वर्षौंदेखि बेलहिया-भैरहवा सडक अलपत्र, पर्यटकलाई सास्ती

सांकेतिक तस्बिर

भैरहवा- नेपाल-भारत सीमा नाका बेलहियाबाट दैनिक पर्यटक आउजाउ गरिरहेका हुन्छन् । भारतीय पर्यटकहरु नेपाल घुम्न आउने तथा कामको सिलसिलामा भारत गएका नेपालीहरु फर्किने मुख्य नाकाका रूपमा बेलहिया नाका रहेको छ । 

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहिया नाका अहिले अलपत्र परेको छ । करिब आठ वर्षदेखि निर्माण भइरहेको बेलहिया-भैरहवा सडकखण्डको बेलहियामा अहिलेसम्म सडक बनिसकेको छैन । मुख्य सडकमै ठूला-ठूला खाल्डा बनेका छन् ।

करिब एक किलोमिटर सडक नबन्दा पर्यटकले सास्ती त पाएकै छन् बेलहिया नाका हुँदै भित्रिने मालबाहक ट्रकहरु पनि दुर्घटनाको जोखिममा रहेका छन् । 

बेलहिया-बुटवल व्यापारिक मार्ग आयोजनाअन्तर्गत बेलहियादेखि बुटवलसम्म सडक निर्माण भएको छ । अधिकांश क्षेत्रको सडक निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनले पाएको तीन वटा स्थानीय तह क्षेत्रअन्तर्गतको निर्माण सम्पन्न गरेको छैन । बिरुवाले सिद्धार्थनगर नगरपालिकाको बेलहिया, ओमसतिया गाउँपालिकाको पडसरी र बुटवल उपमहानगरको बुटवल क्षेत्रको सडक निर्माणको ठेक्का पाएको थियो ।
 
हिलो र धुलोका कारण पर्यटक मात्र नभई यहाँ व्यवसाय गर्ने व्यवसायीहरु पनि प्रभावित बनेको स्थानीयवासी विष्णु शर्माले बताए । 'दिनभरि यात्रु र मालवाहक गाडीहरूको भिडभाड हुन्छ,' उनले भने, 'जाम, धुलो र हिलोका कारण व्यवसायमै असर पारेको छ ।'

बिरुवा कन्स्ट्रक्सनले यी सडक बनाउन आनाकानी गर्दै आएको छ । सिद्धार्थनगर नगरपालिकाले बेलहिया क्षेत्रमा अलपत्र रहेको सडक निर्माण गर्न पटक-पटक ताकेता गर्दा पनि बिरुवाले यसमा कुनै अग्रसरता नदेखाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

'बेलहिया बजार क्षेत्रमा सबैले सास्ती खेप्नुपरेको देखिएपछि ठेकेदार कम्पनी, आयोजना कार्यालयलगायत सम्बन्धित निकायमा काम सम्पन्नका लागि पटक-पटक आग्रह गर्दै आएका छौँ,' प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भने, 'बिरुवाले स्थानीय तहको आग्रह अटेर गर्दै आएको छ ।' ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा नगरपालिकाले सौन्दर्य अभिवृद्धि, भौतिक पूर्वाधारलगायतका योजना सञ्चालन गर्नमा समेत समस्या परेको उहाँको भनाइ छ ।

पौड्याल जस्तै गुनासो सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँको पनि छ । हराभरा, सुन्दर सिद्धार्थनगरको परिकल्पनामा ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सन बाधा बनेको नगर प्रमुखको गुनासो छ । आयोजना नगरपालिका मातहत नहुँदा ठेकेदार कम्पनी उपर कुनै किसिमको कारवाही प्रक्रियासमेत अघि बढाउन नसकेको उनको भनाइ छ । 

यस विषयमा प्रतिक्रिया लिन ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनका प्रतिनिधिलाई पटक-पटक सम्पर्क गर्दा सफल हुन सकेन ।