बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

कतै तपाईंलाई डेंगु त भएको छैन ?

देशव्यापी रूपमा डेंगुको प्रकोप फैलदो क्रममा छ । डेंगु ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने र फैलिने गर्छ । डेंगु सार्ने यो लामखुट्टेले प्रायः दिउँसो टोक्छ । वर्षा वा गर्मी मौसममा यस्तो लामखुट्टे बढी फैलिन्छ । 

डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या घट्न थाल्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । डेंगु तीनदेखि १४ दिनको अन्तरमा देखिन्छ । यो बीचमा लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्छ । अरु बेला आउने ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ । यस्तो बेला शरीरको तापक्रम १०२ देखि १०३ डिग्रीसम्मको हुन्छ । डेंगुको ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ । यो ज्वरोले मानिसलाई सिकिस्तै बनाउँछ । 

डेंगुको खास उपचार छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यस्तै, डेंगुका लक्षणहरू देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सल्लाह र सम्पर्कमा रहनुपर्छ । उनीहरूको निगरानीमा बस्नुपर्छ । डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । 

डेंगुमा कस्ता लक्षण देखिन्छन् ?
- ज्वरो आउने
- टाउको दुख्ने
- खान मन नलाग्ने
- खानाको स्वाद बदलिने 
- ढाड, जोर्नी दुख्ने
- आँखाको गेडी दुख्ने
- आलस्य हुने
- पेट दुख्ने
- वाकवाकी लाग्ने
- कमजोर महसुस हुने÷ चक्कर लाग्ने
- चिसो अनुभव हुने
- शरीरमा रातो बिमिरा आउने
- नाक वा गिजाबाट रगत बग्ने
- बेहोस हुने आदि 

कसरी बच्न सकिन्छ ?
- लामखुट्टेको टोकाइबाट बच्ने
- घर वरपर पानी जम्न नदिने 
- पानी राख्ने भाँडा खुला नछाड्ने
- बाहुला भएको वा शरीर ढाकिने कपडा लगाउने
- सुत्दा सधैँ झुलको प्रयोग गर्ने 
- झ्याल–ढोकामा जाली लगाउने 
- आफू बस्ने वरपर लामखुट्टे मार्ने औषधी छर्किने 
- लामखुट्टे भगाउने मल्हम दल्ने

उपचार के छ ?
डेंगुको खास उपचार नभएकाले  खानपान र दैनिकीमा सुधार ल्याएर मात्रै यसबाट बाहिर निस्किन सकिन्छ । जस्तैः
- मनपरी औषधी खानु हुँदैन
- चिकित्सकको सल्लाह र निगरानीमा औषधि खानुपर्छ
- प्रशस्त झोल खानेकुरा खानुपर्छ ।
- सादा खाना खानुपर्छ 
- धेरै नुन भएका खानेकुरा खानुहुँदैन । 
- ताजा र मौसमी फलफूल खानुपर्छ
- भिटामिन ‘सी’युक्त फल खानुपर्छ 
- प्रसस्त पानी पिउनुपर्छ