अनुमतिबिना काठ कटानदेखि धमाधम वन फाँडेर घरटहरा : कहाँ कति अतिक्रमण ?

जाजरकोट : डिभिजन वन कार्यालयको अनुमति नलिई धमाधम रुखहरु काट्ने क्रम अत्यधिक बढेको छ । सामुदायिक वन समूहको सिफारिसमा डिभिजन वन कार्यालयले टाँचा लगाएर नापजाँच गरेर मात्र रुख कटान गर्न पाइने व्यवस्था भए पनि त्यो अहिलेसम्म कार्यान्वन हुनसकेको छैन ।
सामुदायिक वन समूहले आफैँ रुख कटान गर्ने अनुमति दिएर जथाभावी रुख कटान हुँदै आएको छ । डिभिजन वन कार्यालयमा अहिलेसम्म रुख कटानका लागि अनुमति माग्न कोही पनि नआएको डिभिजन वनको भनाइ छ । काठ कटान गरेर बाहिर लिएर बिक्री गर्ने ठूला ठेकेदारबाहेक घर निर्माण गर्ने स्थानीयवासीलाई सामुदायिक वनहरूले आफूखुसी पूर्जी वितरण गरी रुख काट्ने अनुमति दिँदै आएका छन् । सामुदायिक वन समूहले अधिकार क्षेत्र बाहिर गएर रुख कटान गर्ने अनुमति दिनु आफैँमा वन फडानीको शुरुआत भएको वन कर्मचारीहरु बताउँछन् । केही सामुदायिक वनले फोनकै आधारमा समेत रुख काट्ने अनुमति दिएको पाइएको छ ।
वन जङ्गल जोगाउनेभन्दा पनि तस्कारसँग मिलेर मोटो रकम असुल्ने गरेको नलगाड नगरपालिका-८ का खिमबहादुर खत्रीले बताए । अहिले अधिकांश ठाउँमा सामुदायिक वनमा आगो लगाउनेसमेत सामुदायिक वन समूहका मान्छे भएको उनले आरोप लगाए । सामुदायिक वन समूहका पदाधिकारीहरु जङ्गल फडानी गर्न भित्रभित्रै उक्साएर रकम असुल्ने गरेको समेत उनले बताए । डिभिजन वन कार्यालयमा सीमित कर्मचारी हुँदा सबै ठाउँमा निगरानी हुन नसक्नुले सामुदायिक वन फडानी हुन थप मद्दत पुगेको छ । वनजङ्गल जोगाए के हुन्छ र नजोगाए के हुन्छ भन्ने सामान्य ज्ञान सामुदायिक वन समूहका पदाधिकारीलाई थाहा नभएको समेत विभिन्न अन्तरक्रियामा विचार प्रकट हुने गरेको छ । यता डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठ प्रचारप्रसार व्यापक गरिएको र सचेतनाका काम जारी रहेको बताउँछन् । उनी भनाइ विपरीत कार्यालयको ४०० मिटर नजिकको जङ्गलभित्र दर्जनौँ घरटहरा निर्माण जारी छ ।
जाजरकोटमा सामुदायिक वनको सङ्ख्या
राष्ट्रिय वन ५८ र सामुदायिक वन ३६ प्रतिशत रहेको जाजरकोटमा बिनापुर्जी रुख काट्ने क्रम जारी छ । जाजरकोटमा ३०७ वटा सामुदायिक वन समूह छन् । सामुदायिक वनबाहेक बाँकी सबै राष्ट्रिय वन हुन् । गाउँगाउँका सामुदायिक वनकासमूहसँग मिलेर आधुनिक मेशिन प्रयोगबाट रुख काटेर बिक्री गर्ने क्रम बढेको छ । सामुदायिक वन समूहको भेला तथा बैठकबाट अनुमति लिई सो निर्णय डिभिजन वन कार्यालयमा पेश गरी डिभिजन वन र समूहको निर्णयबाट संयुक्त टाँचा लगाएर उपयुक्त मानिएको रुख काट्न पाउने नियम भएपछि यहाँ रुख काट्ने कार्य चलिरहेको छ ।
कहाँ कति अतिक्रमण ?
विसं २०७० भन्दा अघि ५१८ घरधुरीले वन अतिक्रमण गरी घर टहरा बनाएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । तत्कालीन अवस्थामा १८ घरधुरीले ६७२ दशमलव दुई रोपनी वन अतिक्रमण गरेका थिए । यसैगरी विसं २०७० देखि २०७२ माघसम्म थप नौ घरधुरीले १४७ दशमलव ३५ रोपनी वन क्षेत्र अतिक्रमण गरी घर टहरा बनाएको तथ्याङ्कमा उल्लेख छ । हालसम्म जिल्लामा दुई हजार ९४३ घरधुरीले एक हजार ४३० हेक्टर वन अतिक्रमण गरेको वनको तथ्याङ्कमा उल्लेख छ ।
दलकै आडमा सार्वजनिक बाटो मिचिँदै
राजनीतिक दलहरुको आड लिँदै जिल्ला सदरमुकामलगायत विभिन्न क्षेत्रको सार्वजनिक बाटोसमेत मिचिन थालेको छ । दलको आड र स्थानीय प्रशासन, नगरपालिका र गाउँपालिकाको उदासीनताका कारण सार्वजनिक बाटो मिच्ने प्रवृत्ति ‘अतिक्रमण संस्कृतिकै’ रूपमा विकसित भएको छ ।
केही निकायले बाटो मिच्नेलाई कारवाही गर्न शुरु गरे पनि स्थानीय राजनीतिक दलले संरक्षण दिँदा अभियान सफल हुनसकेको छैन । नापी, नक्सा भएको बाटो मिचेर घर निर्माण गर्ने तथा सामुदायिक वन क्षेत्रभित्र अवैधरूपमा घरटहरा निर्माण गर्नेलाई कारवाही गर्न स्थानीय निकाय, प्रशासन र वन कार्यालयले उचित पहल नगर्दा समस्या भएको स्थानीयवासीको भनाइ छ । रासस

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया