शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

पहिराेमा आएकाे ढुंगाले लागेर तीज मनाएर फर्केका किशाेरकाे मृत्यु

सिन्धुपाल्चाेक । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बुसुन्डोल खोलामा आएको पहिरोसँगै आएकाे ढुंगाले लागेर एक किशाेरकाे मृत्यु भएकाे छ । मामाघरबाट तीज मनाएर फर्केका अमित थामीको घटनास्थलमा नै मृत्यु भएको हाे।

उनी हिजो तीज मनाउन मामाघर मुलाबारी गएका थिए। आज दिउँसो आमा र बहिनीसहित आफ्नो घर पिस्कर माझटोल फर्कने क्रममा पहिराेमा आएकाे ढुंगाले उनलाई लागेकाे  थियाे ।

स्थानीय मंगलामाइ माबिमा कक्षा ११ मा अध्ययनरत अमित आमा स्वस्थानी र बहिनी अमृतासँगै मामाघरबाट फर्केका हुन् । उनी आमा र बहिनीभन्दा अघिअघि हिडिरहेका बेला एक्कासी ठाडो खोलाको पहिरोले छोपेको थियो। त्यो खोलामा पुल नहुँदा यसअघि केही स्थानीयलाई खोलाले बगाएर ज्यान लिएको स्थानीयहरु बताउँछन् ।

मुलाबारीबाट पिस्करमा अध्ययन गर्न आउने विद्यार्थी र स्थानीयलाई खेतीपाती गर्न आवतजावत गर्न सो खोला र खसिरहेको पहिरोले जोखिम बनाइरहेको छ । अहिले घटना स्थलमा पिस्कर चौकीका प्रहरी पुगेका छन् । अमितको आमा र बहिनी सकुशल रहेका छन् ।