बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

पत्रकारद्वय राणा र थापा सम्मानित

काठमाडौँ : खेलकुद पत्रकारहरूको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्‍च (एनएसजेएफ) ले वरिष्ठ पत्रकार अजय राणा र खेलकुद पत्रकार सञ्‍जय थापालाई सम्मान गरेको छ । नक्सालस्थित होटल क्राउन प्लाजामा आफ्नो १६औं साधारणसभाको अवसरमा मञ्‍चले अग्रज पत्रकारमा अजय राणा र अनुजमा नागरिक दैनिकमा खेलकुद पत्रकारिता गर्ने  सञ्‍जय थापालाई सम्मान गरेको हो । राणा एनएसजेएफ खेल पत्रकारिता र थापा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

मञ्‍चले हरेक वर्ष स्थापना दिवसका अवसरमा अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्‍ने नाराका आयोजना गर्ने सम्मानअन्तर्गत राणा र थापालाई सम्मानित गरेको हो । दुवैलाई युवा तथा खेलकुदमन्त्री दावा तामाङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दोसल्ला र ताम्रपत्र ओडाएर सम्मान गरेका हुन् । 

वरिष्ठ पत्रकार राणा २५ हजार नगदबाट सम्मानित हुँदा युवा पत्रकार थापालाई सम्मानबापत ल्यापटप प्रदान गरिएको थियो । युवा पत्रकार सम्मानको पुरस्कार खेलकुद पत्रकारको अन्तर्राष्ट्रिय छाता संगठन एआइपिएस एसियाले रकम उपलब्ध गराएको हो । मंगलबार नै मञ्‍चले नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीलाई स्वागत तथा बधाईसमेत दिएको छ ।

मञ्‍चले महासंघका एसोसिएट सचिवमा निर्वाचित मञ्‍चका पूर्वप्रवक्ता पवन आचार्य तथा एसोसिएट केन्द्रीय सदस्यमा निर्वाचितद्वय विकास कार्की र कृति भट्टराईलाई सम्मान समेत गरेको छ । मञ्‍चका अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र) र महासचिव प्रज्वल ओलीले महासंघका नवनिर्वाचित नेतृत्वलाई स्वागत तथा एसोसिएटलाई सम्मान गरे । मञ्‍चले आफ्नो साधारणसभाबाट विधानका विभिन्‍न बुधाहरू संशोधन गर्दा प्रादेशिक संरचनामा जानका लागि कार्यदलसमेत गठन गरेको छ ।