शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

एफएनसिसिआई प्रदेश १ को भवन निर्माण गर्न जग्गादातासँग सम्झौता

विराटनगर- नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसिसिआई) प्रदेश १ को सुविधा सम्पन्न कार्यालय भवन निर्माणका लागि नि:शुल्क जग्गा उपलब्ध गराउने दाता र महासंघका पदाधिकारीबीच सम्झौता सम्पन्न भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका-२ सक्मामा जग्गा दाता लक्ष्मण बस्नेतले महासंघलाई एक कठ्ठा जग्गा बिक्री गर्दा नि:शुल्क रूपमा थप एक कठ्ठा दिएका हुन् । उक्त जग्गामा महासंघको सुविधा सम्पन्न भवन निर्माण गर्न बस्नेत र महासंघका पदाधिकारीहरूबीच आइतबार सम्झौतामा हस्ताक्षर भएको हो ।

जग्गादाता बस्नेतले महासंघको आग्रहमा करिब ५० लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा नि:शुल्क उपलब्ध गराएको बताए । उक्त जग्गामा तीन महिनाभित्रै महासंघको भवन निर्माणको काम सुरू हुने जनाइएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठ समेतको उपस्थितिमा जग्गादाता बस्नेत र महासंघबीच सम्झौता सम्पन्न भएको हो ।

महासंघका केन्द्रीय सदस्य एवं प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले बस्नेतको आग्रहमा बस्नेतले एक कठ्ठा जग्गा किन्दा थप एक कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । उक्त जग्गामा करीव १६ हजार स्क्वायर फिटको चार तले सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना रहेको उपाध्यक्ष राउतले जानकारी दिए ।

महासंघको भवन निर्माणका लागि प्रदेश १ सरकारले चालू आर्थिक वर्षको बजेटबाट १ करोड रुपैयाँ छुट्याएको छ । अहिले भवन निर्माणका लागि नक्सा निर्माणको काम अघि बढेको र करिब १६ करोड रुपैयाँको लागतमा भवन निर्माणको तयारी भइरहेको जनाइएको छ । पहिलो चरणमा दुई तले कार्यालय र सभाहल निर्माण गरिने उपाध्यक्ष राउतले बताए ।

साथै भवन निर्माणमा थप सहयोगका लागि बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकासँग समेत आग्रह गरिएको जनाइएको छ ।