थारू समुदायले आज अटवारी पर्व मनाउँदै, सुदूरपश्चिम र कर्णालीमा सार्वजनिक बिदा

कैलाली - दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी) पर्व मनाउँदै छन् । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व विशेषरुपमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा डगौरा–चौधरी समुदायमा मनाइने गरिन्छ ।
यो समुदायले आइतबारको दिनलाई ‘अटवारी’ नामले चिन्ने हुँदा आज यो पर्व प्रारम्भ भई सोमबार (भोलि) सम्म मनाइन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट यो पर्व शुरु हुन्छ ।
भाद्र शुक्लपक्षको पहिलो आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी पुरुषद्वारा नै यस पर्वमा साँझ पख गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने गदैछन् ।
व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अन्दिको चामलबाट बनेको वरिया, रोटीलगायतका पकवान र फलफूल अग्नि देवतालाई चढाएपछि मात्रै दिदीबहिनीलाई केही भाग छुट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको कैलालीका थारु अगुवा प्रभात चौधरीले बताए । व्रतालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्छन् । जसलाई कहार्नी भन्ने गरिएको उनले बताए ।
व्रत बसेको साँझपख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चारजना मिली आगो बाली पवित्र रोटी र परिकार पकाउने गरिएको धनगढी गाउँका भलमन्सा तथा थारु अगुवा सरोज चौधरीले बताए । रोटी र परिकार बनाउने ठाउँमा व्रतालुबाहेक अन्यले त्यस स्थानमा जान र छुनसमेत नपाउने उनले जानकारी दिए । पकाएको रोटीसँगै अन्य पकवानलाई व्रतालु सबैको भागसँगै अर्को भाग छुट्याउने गरिन्छ जसलाई अग्रासन भन्ने गरिन्छ ।
व्रतालुले आ–आफ्नो भागबाट अर्को भाँडामा खाने कुरालाई अलग्याएर राख्ने गर्छन् । अलग्याएर राखेको खानेकुरा आइतबारको भोलिपल्ट दिदीबहिनीलाई दिने चलन यस समुदायमा रहेको छ । दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीले दाजुभाइसँग भलाकुसारी गर्ने गर्छन् । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् ।
अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायतका पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्ने गर्छन् । यो पर्व थारु समुदायको दशैँपछिको ठूलो चाडपर्वका रुपमा रहेको छ । पौराणिक राजा दंगीशरणलाई शत्रुबाट बचाउन पाँच पाण्डवमध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि यो पर्व मनाउँदै आएको थारु अगुवाहरूको भनाइ छ । अटवारी पर्वको अवसमार सुदूरपश्चिम र कर्णाली प्रदेश सरकारले प्रदेशभर लागुहुनेगरी सार्वजनिक बिदा समेत दिएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया