काठमाडौँका सडकका फोहोर उठ्यो

काठमाडौँ - काठमाडौँ उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
कामपा वातावरण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरिन् । यसअघिको फोहर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ । यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहरको पनि अन्तिम व्यवस्थापन कार्य हुने भनाइ विभागको छ ।
केही दिनअघि कामपाका प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न निर्देशन दिएका थिए । प्रमुख साहको निर्देशनअनुरुप निजी कम्पनीले व्यवस्थापनको काम नियमित गरेपछि उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहर व्यवस्थापन भएको हो ।
कहिले पानीका कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयले विविध माग राखि अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा अघिल्लो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।
पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यही नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन उत्पादन हुन्छ । अहिले कामपासहित उपत्यकाको १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।
रासस

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया