पशुपति सङ्ग्रहालयको शुभारम्भ

काठमाडौँ - पशुपति क्षेत्रका महत्वपूर्ण चीजबीजको सङ्ग्रह गरी पशुपतिनाथ मन्दिरअघिको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ गरिएको छ ।
सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नुहुँदै नेपालको इतिहास, संस्कृति र सम्पदालाई विश्वमा चिनाउन यसले सहयोग गर्ने बताए । नेपालमा पर्यटन प्रवद्र्धनका लागि संस्कृति र सम्पदाको संरक्षण गरिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।
“मूर्त, अमूर्त सम्पदा संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको छ, सम्पदाका माध्यमबाट पर्यटनको विकासलाई सहयोग गर्छ, यसले अर्थतन्त्रलाई टेवा दिन्छ, पशुपतिनाथ मन्दिर आउने धर्मावलम्बी र पर्यटकका लागि सङ्ग्रहालय आकर्षक केन्द्र बन्नेछ”, उनले भने ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले नेपाल इन्भेष्टमेन्ट बैंकको पाँच करोड सहयोगमा सङ्ग्रहालय निर्माण भएको जानकारी दिए ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त महास्नान घरलाई बैंकले प्रबलीकरण गरी सङ्ग्रहालय निर्माण गरेको हो । “भूकम्पले भत्किएका पशुपति क्षेत्रका ९६ मध्ये ६३ वटाको पुनःनिर्माण सम्पन्न भएको छ, पशुपति क्षेत्रमा आठ सय १८ सम्पदा छन्, यसको संरक्षणका लागि कोषले काम गरिरहेको छ”, उनले भने ।
सङ्ग्रहालयमा दुई सय ६५ सामग्री राखिएको जानकारी पनि सदस्य सचिव थापाले दिए । विसं २०८० मा भ्रमण वर्षका रुपमा पशुपति दर्शन कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी पनि उनले दिए ।
मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले सङ्ग्रहालय निरन्तर सञ्चालनका लागि सरोकार भएका निकायका बीच सहकार्य हुनुपर्नेमा जोड दिए । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले सङ्ग्रहालय निर्माणसँगै विगत पाँच वर्ष अघिदेखि पशुपति क्षेत्रको सरसफाइमा पनि बैंकले सहयोग गरिरहेको जानकारी दिए ।
कार्यक्रममा सङ्ग्रहालयको निर्माणमा लाग्नुभएका वास्तुविद् पद्मसुन्दर महर्जन, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतले पशुपति क्षेत्रको महत्व बढाउन सङ्ग्रहालय सफल हुने विश्वास व्यक्त गरे । रासस

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया