आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कर्णाली प्रदेशसभा बैठक आह्‍वान

सुर्खेत: कर्णाली सरकारले आउँदो बैशाख तीन गते कर्णाली प्रदेशसभाको सातौ अधिवेशन आह्वानको लागि सिफारिस गर्ने निर्णय भएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख तीन गते संसद् बैठक आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । पछिल्लो राजनीतिक घटनाक्रमले कर्णाली सरकार अल्पमतमा छ । एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि तीन गते बस्ने बैठकलाई विशेष महत्वका  साथ हेरिएको छ ।

‘कर्णाली सरकार अल्पमतमा परे पनि मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न’ मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले भने, ‘अन्य दलहरुसँग छलफल भइरहेकाले मुख्यमन्त्रीले संसदमै विश्वासको मत लिनुहुन्छ ।’

एमालेका सांसद सुशील थापाले भने नयाँ वर्षमा नयाँ सरकार गठन हुने प्रक्रिया सुुरु हुने संकेत देखिएको बताए । उनले आज सामाजिक सञ्जाल फेसकुबमा स्टाटस लेख्दै थापाले भनेका छन्, ‘नयाँ वर्षमा नयाँ सरकार बन्ने बैशाख ३ गते साँझबाट नयाँ सरकारको प्रक्रिया सुुरु हुन्छ ।’

यता एमालेका सांसदहरुले भने सरकार गठनका विषयमा खुलेका छैनन् । मुख्यमन्त्रीको राजीनामापछि मात्र सरकार गठनका विषयमा कुराहरु उठ्ने एमाले सांसद राजु नेपालीले बताइन् । 

त्यसैगरी चैत २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले  मुख्यमन्त्री समक्ष राजीनामा दिएका कर्णालीका तीन जना मन्त्रीलाई विदाइ गर्ने निर्णय गरेको छ । बैठकले कर्णालीका विभिन्न जिल्लाहरूमा खाद्यान्न ढुवानीकोे लागि भएको हवाई ढुवानी बापत तीन लाख रुपैयाँ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भुक्तानी गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । 

यस्तै बैठकले लोपोन्मुख सिमान्तकृत समुदायका लागि जिविकोपार्जन र आयआर्जनका कार्यक्रम संचालन कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।