न घर, न नागरिकता : सडक भरोसामा वृद्ध दम्पति !
वृद्धभत्ता दिलाउने मेयरको वचन

हेटौंडाः उमेरले ७० वर्ष लागे, श्याम बहादुर । काम गरेर खान सक्ने अवस्था छैन । दुई छाक टार्न उनलाई धेरै मुस्किल छ । श्यामबहादुर थापासँगै कान्छी श्रीमती र एकजना सानैबाट पालेको छोरासँगै बस्छन् । उनीहरु एक सार्वजनिक भवनमा बस्छन् । माथि जस्तापाताले थेगेको छ । अरु सबैतिर खुल्ला । विगत पाँच वर्षदेखि श्यामबहादुर सोही भवनमा श्रीमती र छोरासँगै बस्दै आएका छन् ।
कमला आँखा देख्दिनन् । तर पनि उनले श्यामबहादुरको संसार धानेकी छिन् । भन्छिन्, ‘आँखा देख्न सके अझै काम गर्न सक्छु । आँखा देख्न सक्दा हेटौंडाको शाह मेडिकलमा भाडा माझ्ने गर्थे । पाँच वर्ष भयो यसरी नै जिवन चलिरहेको छ’ उनले भनिन ।
विगतमा तीन ठाउँमा काम गर्ने कमला अहिले आँखा देख्न नसक्ने हुँदा थकित छिन् । वरपरको आवाज सुनेर पहिचान गर्नुपर्ने बाध्यता उनमा छ । दिसापिसाब गर्न, हिडडुल गर्न सहारा चाहिन्छ ।
हेटौंडामा मागेरै श्यामबहादुर परिवारको पेट पालिएको छ । ‘बिहान उठ्यो, माग्न हिँड्यो । माग्दा कसैले पैसा दिए चामल किनेर ल्याएर खान पाइन्छ । नत्र भने भोकै’, ७० वर्षीय श्यामबहादुर पीडा पोख्छन् ।
उनीहरुले पालेको छोराको हविगत पनि कमलाको भन्दा फरक छैन् । उनको मानसिक सन्तुलन सन्तुलित छैन । तर पनि साथ छाडेको छैन । उनीहरुका लागि त्यही छोरा संसार हो । सहारा हो । आड भरोसा हो ।
आफ्नो छोरा भने परिवारसहित कमानेमा बस्छन् । उनको छुट्टै परिवार छ । बालबच्चा छन । छोराले महिनामा एकपटक भेट्न आउने गरेको श्यामबहादुर बताउँछन् । ‘आउँदा गुन्द्रुक, चामल, तरकारी लिएर आउने गर्छ’ उनले भने ।
श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता साथमा छैन । श्रीमान श्यामबहादुरले हेटौंडा ५ बाट नागरिकता लिएका थिए । अहिले हरायो । काठमाडौंको गोकर्णमा जन्मेका श्यामबहादुर १४ वर्षको उमेरदेखि नै हेटौंडामा आएर काम गरे । रिक्सा चलाए । भारी बोके । अहिले मागेर खानुपर्छ । भन्छन्, ‘खानलाई पाए हुन्थ्यो ।’
यसअघि उनीहरुलाई हेटौंडा उपमहानगरले ६ धुर जग्गा दिएपनि दुवैले नलिने निर्णय गरेका थिए । मागेर खानुपर्दा उपमहानगरले दिएको जग्गामा घर बनाउन नसकिने उनको कथन थियो । उनीहरुको अवस्थाको बारेमा हेटौंडा – ११ का जनप्रतिनिधिलाई जानकारी दिए पनि उनीहरुबाट कुनै सहयोग हुन सकेन ।
हेटौंडा उपमहानगरपालिकाले उनीहरुलाई चामल, नुन तेल सहयोग गरेको छ । कमलाको आँखाको उपचार गर्ने प्रतिबद्धता उपमहानगरका मेयर हरिबहादुर महतले जनाएका छन् । साथै उनीहरुको नागरिकता बनाउन पहल गर्ने र सामाजिक सुरक्षा भत्तामा समावेश गर्ने वचन पनि महतले दिएका छन् । तर नागरिकता र भत्ता पाउने कहिले ? टुंगो छैन ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया