हेटौंडावासीलाई आजबाट पिउने पानी निःशुल्क

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाभित्र रहेका नगरवासीलाई आजबाट पिउने पानी निःशुल्क उपलब्ध हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाले १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने भएको हो ।
हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डबीच गत २२ साउनमा भएको सम्झौता अनुसार आज १ भदौबाट पानी निःशुल्क प्रदान गरिने भएको हो । खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट र हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाका बिचमा सम्झौता भएको थियो । नगरवासीलाई १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने हेटौंडा नगर देशकै पहिलो उपमहानगरपालिका हो । साउन १६ गते बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरभित्र रही हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका नगरवासीलाई १० हजार लिटरसम्म निःशुल्क रुपमा खानेपानी उपलब्ध गराउने निर्णय गरेको थियो ।
सम्झौता अनुसार बोर्डमार्फत वितरण भएको पानीको धारा जोडेका नगरवासी, सामुदायिक विद्यालय र क्याम्पसले खानेपानीको न्यूनतम महशुल तिर्न नपर्ने भएको छ ।
सम्झौता अनुसार नगरक्षेत्रमा रहेर नियमित खानेपानी प्रयोग गरिरहेका नगरवासीले प्रति १० हजार लिटर बराबर ८५ रुपियाँ, सामुदायिक विद्यालयलाई प्रति धारा अनमिटर ७ सय लिटर, सामुदायिक क्याम्पसलाई प्रतिधारा अनमिटर १५ सय र सहरी स्वास्थ्य केन्द्रलाई अनमिटर प्रति धारा ७ सय रुपैयाँका दरले उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई महसुल रकम उपलब्ध गराउने छ ।
सहमति अनुसार खाने पानीको बिलिङ भएको महिनाको १० गतेभित्र महसुल रकम बुझाउनु पर्नेछ । उपमहानगरको २३ हजार ५ सय धारामा यो लागू हुनेछ । यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताएको छ । खानेपानीको न्युनतम महशुल निःशुल्क उपलब्ध गराए बापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक करिब २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउनेछ ।
हेटौंडा खानेपानी व्यावस्थापन बार्डले बागमती प्रदेशको राजधानी हेटौंडामा दैनिक १ करोड ८२ लाख लिटर खानेपानी वितरण हुने गर्दै आएको छ । आज बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड सदस्य इन्द्र नेपालले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक अवस्था र आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरे ।
बोर्डले चालु आर्थिक वर्षका लगि १८ करोड ८२ लाख २० हजार रुपैयाँ बजेट पेश गरेको छ । चालु आर्थिक वर्षमा आम्दानी गर्ने लक्ष्य अनुसार पुँजीगत खर्च ५१ प्रतिशत, कार्यालय सञ्चालन खर्च २८ दशमलब ६६ प्रतिशत, सेवा सञ्चालन खर्च २० दशमलब ३४ प्रतिशत खर्च गर्ने लक्ष राखिएको छ ।
खानेपानी बोर्डको सबै भन्दा धेरै आम्दानी खानेपानी महसुलबाट हुनेछ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रकम मध्यमा सबै भन्दा बढी ७० दशमलब ४१ प्रतिशत आन्तरिक आय रकम रहेको छ ।
बोर्डबाट वितरण हुने दैनिक १ करोड ८२ लाख खानेपानी उत्पादन तथा वितरणको क्रममा १२ प्रतिशत चुहावट हुने गरेको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । बोर्डमा आबद्ध २२ हजार २ सय १४ धारा रहेको र खानेपानीबाट मासिक ९० लाख ४० हजार महसुल संकलन हुने गरेको बताए । बोर्डले हेटौंडामा दैनिक ७ देखि ८ घण्टा खानेपानी वितरण गर्दै आएको छ ।
बोर्डले आर्थिक वर्ष २०७८/७९ आय तर्फ पानी महुसुल,जरिवाना, नयाँ धारा जडान, पानी परीक्षण शुल्क, बैंक व्याज, हेटौंडा उपमहानगरको साझेदारीबाट प्राप्त भएको र अन्य निकाय संघ संस्थाबाट आएको र गत वर्षको राजस्व मौज्दात समेत गरेर १ अर्ब ६ करोड ४४ लाख २५ हजार ७१२ रुपैया संकलन भएको छ ।
यसैगरी बोर्डले व्यव तर्फ कार्यालय संचालन खर्च ४ करोड ७० लाख ४९ हजार ४२ रुपैयाँ,सेवा संचालन खर्च तर्फ २ करोड ९२ लाख ६४ हजार ८२५ रुपैयाँ खर्च भएको जनाएको छ । बोर्ड आगामी वर्ष भीमफेदी स्थित कुलेखानी भैसे खोलाको पानी शुद्धिकरण गरेर वितरण गर्ने योजना रहेको जनाएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले आफूले अबको ५ वर्षे कार्यकाल भित्र हेटौंडाको सबै वडाहरुको टोल गाउँहरुलाई बोर्डमा सहभागी गराएर शुद्ध खानेपानी वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
आजै अर्थात १ भदौबाटै उपमहानगरले बोर्डमा आबद्ध ग्राहकहरुलाई मासिक १० हजार लिटर खानेपfनी निःशुल्क वितरण सुरु गरेको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया