शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

फाइल फोटो

काठमाडौंँ–उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ ।  नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहिका स्थायीबासी आठ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियत प्रदान गरेको हो । 

अस्पतालले बालकलाई पूर्ण रुपमा निको बनाएर घर पठाएको जानकारी गराएको छ । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको उक्त बालकको पेटको अगाडिको भागको मांसपेशीमा एक्कासी पिप जम्मा भएको कारण हिँड्नसक्ने अवस्थामा नभएको  र उपचार गरेर ठीक भएपछि घर फर्किनुअघि ठमठमी हिँड्नसक्ने भएको जानकारी अस्पतालले दिएको छ ।  

बुबा शिव शरण महतोका अनुसार जनकपुरको अस्पतालमा देखाउँदा त्यहाँका चिकित्सकले उपचार गर्न नसक्ने बताएपछि बालकलाई काठमाडौं ल्याइएको हो । 
आर्थिक अवस्था कमजोर रहेका कारण राम्रो अस्पताल लैजानसक्ने अवस्था आफ्नो नरहेको, तर आफू नर्भिकमा आएर कुरा गर्दा उपचारमा सहुलियतसँगै राम्रो उपचार सुविधा पाएको उनले बताए ।  ‘नर्भिकले उपचार खर्चमा समेत निकै छुट दिएर मजस्तो गरिबलाई गुण लगाएको छ ।’ महतोले भने, ‘उपचारमा संलग्न डा. अभय यादवले समेत हामीलाई छुट दिनुभयो । उहाँहरूकै सहयोगले आज मेरो छोरा ठीक भएको छ ।’ 

नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीको निर्देशनमा बालकको उपचार व्यवस्था मिलाइएको थियो । डा. अभय यादव नेतृत्वको टिमले महतोको उपचार गरेको बताइएको छ ।  यादव नेतृत्वको टिममा सहभागी चिकित्सक डा. सुशील कायस्थले गम्भीर अवस्थाका बालकले उपचारपछि नयाँ जीवन पाएको बताएका छन् ।

इन्फेक्सनका कारण बालकको अवस्था निकै गम्भीर बनेको स्मरण गर्दै उनले भने, ‘बेलैमा उपचार नभएको भए अवस्था निकै गम्भीर बन्न सक्थ्यो । उपचारपछि अहिले उनको अवस्था निकै राम्रो भएको छ । तर ती बालकले एन्टिबायोटिक चाहिँ निकै लामो समयसम्म खानुपर्ने हुन्छ ।’ 

चौधरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले वर्षेनी गरीब र निमुखा नागरिकहरुको उद्धार गरी निःशुल्क उपचार सेवा दिंदै आएको बताइन् । 
आगामी दिनमा पनि अस्पतालले खर्चकै अभावमा उपचार गर्न नसक्नेहरुलाई सहयोग गर्ने उनको प्रतिबद्धता रहेको छ ।