सरकारमा नेतृत्व गर्ने दल फेरिएपछि अलपत्र परे १० शीत भण्डार

मकवानपुर- कृषि उपजलाई सही तरिकाले भण्डारण गर्ने र उपजको सही मूल्य प्रदान गर्न महत्त्वाकांक्षी सपनाका साथ सुरू गरिएको शीत भण्डार निर्माण कार्य अलपत्र परेको छ ।
प्रदेश सरकारको नेतृत्व गर्ने दल फेरिए सँगै अघिल्लो सरकारले कार्यान्वयनमा ल्याएको योजना बेवास्ताको सिकार हुँदा निर्माण कार्य अलपत्र परेको हो । प्रदेशले २०७५ सालमा शीत भण्डार निर्माणका लागि डीपीआर तयार पारेर ठेक्का आह्वान गरेको थियो । ठेक्का आह्वान गरेको करिब ६ महिनापछि प्रदेश सरकारले शीत भण्डार निर्माणको शिलान्यास गरेको थियो । निर्माणका लागि २ वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७८ मा नै हस्तान्तरण हुनुपर्ने थियो । तर, योजना अझै पूर्ण भएका छैनन् ।
बागमती प्रदेश सरकारले सुरू गरेको प्रदेशमा १० वटा शीत भण्डार निर्माण गर्न लागेकोमा सबै अलपत्र परेका हुन् । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरू गरेको थियो । प्रदेशले १३ वटै जिल्लामा कृषि उत्पादनलाई बेमौसममा बिक्रीवितरण गर्न भण्डारणका लागि शीत भण्डार निर्माण सुरू गरेको थियो । निर्माण कार्य प्रारम्भ भएको ४ वर्षमा ९ वटा पूर्ण रूपमा अलपत्र र एउटा निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन बाँकी छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलका अनुसार सरकारले ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लागतमा प्रदेशका १० वटा शीत भण्डार निर्माण सुरू गरेको थियो ।
सबै शीत भण्डार निर्माण बापत भन्दै मन्त्रालयले ६५ करोड ४८ लाख ६० हजार रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको छ । चितवनको खैरहनी-६, धादिङको बेनीघाट रोराङ्ग-७, रसुवाको कालिका-२, सिन्धुलीको सुनकोसी-५, सिन्धुपाल्चोकको लिसंखुपाखर-७ र इन्द्रावती, दोलखाको जिरी-५, रामेछापको मन्थली, नुवाकोटको विदुर-५ र बेलकोटगढी-१० मा शीत भण्डार निर्माणाधीन अवस्थामा छ ।
मन्त्रालयले नुवाकोटको विदुर-५ र बेलकोटगढी-१० मा ५ हजार मेट्रिक टन क्षमताका शीत भण्डार निर्माणका लागि ५० प्रतिशत र साझेदार संस्था र निजी कम्पनीको ५० प्रतिशत लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
विदुरमा कूल १९ करोड ८५ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढीमा २० करोड ३९ लाख ६८ हजार रुपैयाँ लागतमा शीत भण्डार निर्माण ठेक्का सम्झौता भएको थियो । हालसम्म दुवै अधुरा छन् । दुवै शीत भण्डारको ६० प्रतिशत मात्र भौतिक प्रगति रहेको मन्त्रालयले जनाएको छ । हालसम्म बेलकोटगढीमा मन्त्रालयले १० करोड ८१ लाख ८६ हजार रुपैयाँ र विदुरमा १० करोड १७ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।
मन्त्रालयका अनुसार खैरहनी-६ मा साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा २०७५ साल चैत १३ मा शीत भण्डार निर्माण सम्झौता गरेर काम सुरू गरेकोमा हालसम्म करिब ९५ प्रतिशत सम्पन्न भएको छ । १५ सय मेट्रिक टन क्षमताको यस शीत भण्डार निर्माणका लागि १२ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म ११ करोड ५२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
बेनीघाट रोराङमा १५ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थासँग साझेदारी भएको छ । मन्त्रालयले १२ करोड ८३ लाख ७० हजार रुपैयाँ लागतमा सम्झौता गरेकोमा हालसम्म १० करोड ९८ लाख ६४ हजार रुपैयाँ भुक्तानी दिएको छ । हालसम्म ९५ प्रतिशत काम सकिएको दाबी गरिएको छ ।
सिन्धुपाल्चोककै इन्द्रावतीमा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गर्न ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । हालसम्म ७० प्रतिशत मात्र भौतिक संरचना निर्माण भएको र करिब ४ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यता रामेछापको मन्थली-५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि कूल ५ करोड ३० लाख ९५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म यस शीत भण्डारको ७० प्रतिशत भौतिक प्रगति भएको र ४ करोड ८२ लाख ३८ हजार रुपैयाँ भुक्तानी मन्त्रालयले गरेको छ ।
सिन्धुलीको सुनकोसी-५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५ सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ ।
शीत भण्डारको प्राविधिक काम अझै बाँकी छ । मन्त्रालयले कूल ५ करोड ३० लाख ८० हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएकोमा ४ करोड ७९ लाख ९७ हजार रुपैयाँ भुक्तानी दिएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर-७ मा गोल्मुथान कृषि सहकारीसँगको साझेदारीमा शीत भण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो । ५ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि कूल ५ करोड ३५ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरू भएको थियो । हालसम्म ४५ प्रतिशत काम सकिएको र २ करोड ८ लाख ८७ हजार रुपैयाँ भुक्तानी भएको मन्त्रालयले जनाएको छ ।
दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्थासँगको साझेदारीमा ५ करोड ३७ लाख रुपैया लागतमा ५ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण सुरू भए पनि हालसम्म ५० प्रतिशत मात्र काम सकिएको छ । २ करोड १९ लाख रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।
रसुवाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणको काम अझै जारी छ । ३ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण सम्झौता भएको शीत भण्डारको भौतिक संरचना निर्माणको काम सकिए पनि मेसिन जडान बाँकी नै छ । मन्त्रालयले हालसम्म ३ करोड १८ लाख ६७ हजार रुपैयाँ भुक्तानी भएको जनाएको छ ।
सरकारमा नेतृत्व गर्ने दल फेरिएका कारण पनि योजनाहरू अलपत्र रहेको बुझिएको छ । अघिल्लो सरकारले कार्यान्वयनमा ल्याएका योजना वर्तमान सरकारको बेवास्ताको शिकार हुँदा एकातिर राज्यको धनराशि खेर गएको छ भने अर्कोतिर किसानहरूमा जागेको आशा मरेको धादिङ जिल्लाका पत्रकार सितारामा अधिकारीले बताए । 'सरकारको नेतृत्व जसले गरे पनि पूर्ववत् योजनाहरूको कार्यान्वयन र सम्पादन हुनुपर्थ्यो,' उनले भने ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया