माओवादी कार्यकर्ता तान्ने ओलीको ‘लोकतान्त्रिक योद्धा’ अस्त्र
एमाले प्रवेश गराउने होडबाजी

काठमाडौँ : सत्तारुढ दलले माओवादीका कार्यकर्ता तान्न द्वन्द्व-पीडितलाई खोजी खोजी सम्मान गर्ने अभियान शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावकेन्द्रित रणनीति बनाउँदै कार्यकर्ता बढाउने धूनमा ‘सम्मान अभियान’ चलाएका हुन् ।
सशस्त्र द्वन्द्वका तत्कालीन कमाण्डर गृहमन्त्री रामबहादुर थापा ‘बादल’को योजनामा गृह मन्त्रालयले पूर्व लडाकु र घाइतेलाई खोजी खोजी ‘लोकतान्त्रिक योद्धा’ सम्मान दिन थालेको हो । जसको मूल मक्सद तिनलाई एमालेमा प्रवेश गराउनु हो । ओलीले केही दिनअघि मात्रै ठूलो संख्यामा व्यापारीहरुलाई पार्टी प्रवेश गराएका थिए ।
मन्त्रिपरिषदबाटै निर्णय गराउँदै त्यस निम्ति सरकारी संरचना प्रयोग गरी तथ्यांक संकलनको काम शुरु गरेको छ । १० वर्ष सशस्त्र द्वन्द्व लडेका पूर्व लडाकू र घाइतेलाई खोजी खोजी सम्मान दिएर सत्तारुढ दलप्रति आकर्षित गर्न खोजिएको छ ।
यसका लागि २०७७ चैत ५ गते मन्त्रिपरिषद बैठकबाट ‘लोकतान्त्रिक योद्धा’ सम्मान दिने निर्णय गरिएको छ । त्यसको तीन दिनपछि गृह मन्त्रालयले ‘जिल्ला लोकतन्त्रका योद्धा अभिलेखीकरण समिति– २०७७’ गठन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । जिल्लामा सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका पूर्वलडाकुलाई प्रमुख जिल्ला अधिकारीले खोजेर तथ्यांक संकलन गरी गृह मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाउनुपर्नेछ ।
यसका लागि बैशाखदेखि अभियान नै सञ्चालन गरिने गृह मन्त्रालयका सह-सचिव जनक दाहालले जानकारी दिए । ‘सशस्त्र द्वन्द्वमा आ-आफ्नो ज्यान हत्केलामा राखेर योगदान दिएका, घाइते भएका र कतिपय सहिद भएका योद्धाहरुलाई सरकारले शिक्षा र स्वास्थ्यमा छुट तथा रोजगारी दिनेगरी सम्मान गर्दैछ’ उनले इकागजसँग भने, ‘तथ्यांक संकलन गरेर बैशाखदेखि उहाँहरुलाई सम्मान दिनुका साथै जिविकोपार्जनका लागि सरकारले सहयोग गर्ने कुरा छ ।’
सुरुमा यो तयारी काठमाडौँ उपत्यकामा तीव्र पारिएको छ । काठमाडौँ उपत्यकामा रहेका पूर्व लडाकु र घाइतेलाई सम्मानका साथै आवश्यक सहयोग दिएर सशस्त्र द्वन्द्वका बेला गरेको योगदानलाई सरकारले विशेष सम्मानसहित सार्थक तुल्याउने सरकारको योजना छ ।
‘कास्टिङका रुपमा काठमाडौँ उपत्यकामा गरिरहेका छौँ’ उनले थप अगाडि भने, ‘बैशाखदेखि अभियान घोषणा गरेर जिल्ला जिल्लामा उहाँहरुलाई आवश्यक परेको सबै सहयोग सरकारले गर्छ ।’
वर्षौ युद्ध लडे पनि आर्थिक समस्याका कारण माओवादी पूर्व लडाकु चरम समस्यामा छन् । धेरैजसो पूर्व लडाकु जिविकापार्जनको खोजीमा छन् । कतिपय वैदैशिक रोजगारीमा गएका छन् ।
सशस्त्र द्वन्द्वमा संलग्न भएपनि तिनले कुनै अवसर नपाएपछि ‘असन्तुष्ट’ भएका लडाकू कार्यकर्तालाई केही भरपोषणको रकम दिएर प्रधानमन्त्री आफ्नो पार्टीमा तान्न लागिरहेको विश्लेषण गरिएको छ ।
जसका लागि ओलीले गृहमन्त्री थापालाई ‘कमाण्डर’ तोकेर काम अगाडि बढाएका छन् । जिल्ला प्रशासनमार्फत् स्थानीय तहलाई समेत परिपत्र गरी ‘लोकतान्त्रिक योद्धा’ खोज्ने अभियान चलाइएको छ ।
मन्त्रिपरिषद, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय हुँदै परिपत्र आएपछि स्थानीय तह समेत वडा वडामा सशस्त्र द्वन्द्वका ‘लोकतान्त्रिक योद्धा’को खोजीमा लागेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आफ्ना सबै वडामा लोकतान्त्रिक योद्धा खोजीका लागि परिपत्र नै गरेको छ ।

उत्पादन र रोजगारी वृद्धि हुने गरी बजेट ल्याउन एमालेको सुझाव

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

प्रतिक्रिया