जलेश्वरमा पहिरोमा लडेर एक जनाको मृत्यु

खोटाङ - खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु भएको छ । ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राती पहिरो गएपछि बनेको भिरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको शनिबार मृत्यु भएको हो ।
भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए । उनी तल्लो गाउँमा झरेर घर निस्कने क्रममा पहिरोबाट खसेका हुन् ।
करिब चार सय मिटर चौडाइमा फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरो गएको ठाउँमा डरलाग्दो भिरालो भिर निस्किएको छ । आवत–जावत गर्ने मानव तथा गाईवस्तुलाई भिरबाट जोगाउन स्थानीयले पहिरोको शिरमा बाँसको घेराबार हालेका छन् । तर घेराबार नाघेर हिँड्ने क्रममा राई भीरबाट लड्न पुगेको प्रहरीले जनाएको छ । पहिरोले भौतिक क्षति भएको हप्ता दिनपछि नै मानवीय क्षति भएको अध्यक्ष राईले बताए ।
जलेश्वरीमा गएको पहिरोले एक करोड ५० लाखको क्षति भएको अनुमान गरिएको छ । पहिरोले साल, सल्ला र बाँस भएको वन, बारी, खरबारी, सडक लगायत बगाउँदा डेढ करोड बराबरको क्षति भएको अनुमान गरिएको ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई बताउँछन् ।
पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतका ११ घर उच्च जोखिममा परेको छ । स्थानीय जनकल्याण आधारभूत विद्यालय समेत जोखिममा परेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया