शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

सिरहामा सुनचाँदी व्यवसायीको गोली हानेर हत्या

दुई जना पक्राउ

जनकपुरधाम : सिरहामा गोली हानेर एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । गएराति साढे १२ बजे लहान नगरपालिका २३ ठाडी जाने बाटो गढिया चौकमा  रहेको सुनचाँदी पसलमा लुटपाट गर्न आएको समूहले गोली हानेर सिसबोनिका ४५ वर्षीय प्रदीप मिजारको हत्या गरेका हुन् ।

सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार लुटपाट गर्ने समूहले खुकुरी प्रहार गर्दा ३५ वर्षीया अनिता कुमारी दुलाल घाइते भएकी छन् । उनको लहानस्थित सप्तऋषी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घर पछाडिबाट ढोका फोरेर भित्र पसेको लुटपाट समूहले मिजारको टाउको, अनुहार र हातमा खुकुरी प्रहारी गरी छातीमा गोली चलाएको थियो । गम्भिर घाइते भएका मिजारको उपचारको क्रममा विहान ४ बजे अस्पतालमा मृत्यु भएको थियो ।

घटनामा सलंग्न रहेको आशंमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का २६ वर्षीय रामकृष्ण चौधरी र गढियाका २९ वर्षीय सुर्य सहनी रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।