शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

सेयर बजार परिसूचक ६ अंक घट्यो, कारोबार रकममा उल्लेख्य कमी

काठमाडौंँ-  सोमवारदेखि गिरावट सुरु गरेको सेयर बजार बुधबारको कारोबारमा पनि निरन्तरता पाएको छ। मंगलबार ४३ अंकको फराकिलो गिरावटलाई पछ्याएको नेप्से परिसूचकले बुधबार थप ५.९१ अंकले गिरावट आएको छ। तीव्र उतारचढाव देखिएको बजारमा कारोबार बन्द हुँदा कारोबार मापक नेप्से परिसूचक २०५६.८९ मा ओर्लिएको छ। 

यस्तै कारोबार रकममा पनि बुधवार कमी आएको छ। आज १ अर्ब  ९३ करोड ५५ लाख २० हजार १४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। ४६ लाख ४० हजार ८ सय ४४ कित्ता सेयर  ३६ हजार १ सय ३४ पटका खरिद बिक्री भएको छ। मंगलवारको कारोबारमा २ अर्ब ८१ करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।
     
यस्तै, ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ६८ अङ्कले घटेर तीन सय ९५ दशमलब ७५ मा सीमित भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ ।

बैंकिङ पाँच दशमलब ३१, व्यापार ३१ दशमलब ८७, होटल तथा पर्यटन ११ दशमलब ६३, विकास बैंक सात दशमलब ६१, जलविद्युत् १२ दशमलब ३५, वित्त १६ दशमलब १५, निर्जीवन बीमा ७५ दशमलब ८२, अन्य चार दशमलब ६६, लघुवित्त १५ दशमलब ५१, जीवन बीमा नौ दशमलब ७३ र सामूहिक लगानी कोष शून्य दशमलब एक अङ्कले ओरालो लागेको छ ।     
     
त्यस्तै उत्पादन २७ दशमलब एक र लगानी शून्य दशमलब ४७ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ३६ अर्ब ७८ करोड २४ लाख २८ हजार ४ सय ५३ बराबर रहको छ ।     
     
कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कोषको रु १० करोड ६८ लाख ७९ हजार चार सय ६७ बराबरको कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट रु ६ करोड ८८ लाख ४८ हजार एक सय दुई, हिमालयन डिस्टिलरी रु ६ करोड ७१ लाख ३७ हजार एक सय ६५, नबिल बैंक रु ६ करोड ४६ लाख ८९ हजार चार सय २० र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ६८ लाख ६१ हजार दुई सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।     
     
नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर नौ दशमलब ९७, युनिलिभर नेपाल चार दशमलब ३०, सिटिजन म्युचुअल फण्ड चार, विन नेपाल लघुवित्त तीन दशमलब ५२ र उपकार लघुवित्तका लगानीकर्ताले दुई दशमलब ८२ अङ्कले कमाएका छन् ।     
     
त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स नौ दशमलब ९९, हिमालयन पावर पार्टनर तीन दशमलब ७२, गुड बिल फाइनान्स तीन दशमलब ४५, सिद्धार्थ इक्विटी फण्ड तीन दशमलब ३१ र लक्ष्मी लघुवित्तका लगानीकर्ताले तीन दशमलब २६ प्रतिशतले गुमाएका छन् ।